बेसीसहर, मंसिर १४ गते । लमजुङको मस्र्याङदी गाउँपालिका वडा नंं ९ भलामचौरीमा आगलागीमा परी एक जनाको निधन भएको छ ।
गएराती भलामचौरको लुकुमारी गुरुङको धन्सारमा आगलागी हुँदा गुरुङको घरमा काम गर्न बसेका ४५ बर्षका धर्ती तामाङको निधन भएको हो । चितवन घर भएका तामाङ विगत २ बर्षदेखि लुकुमारीको घरमा घरेलु कामदारको रुपमा बस्दै आएका थिए ।
गएराती करिब करिब ११ गुरुङको धन्सारमा आगो लागेको स्थानीयले बताए । आगलागी भएको थाह पाएपछि गाउँलेहरु मिलेर नियन्त्रणको प्रयास गरेकामा राती २ बजे पछि मात्र आगलागी नियन्त्रणमा आएको थियो ।
आगलागी नियन्त्रणमा आएपछि तामाङको खोजी गरिएकोमा धन्सारमै जलेको अवस्थामा उनको शब भेटिएको गाउँलेहरुले बताएका छन् । तामाङले चुरोट सेवन गर्ने भएकाले उनले फालेको चुरोटको ठूटोबाट आगालागी भएको हुन सक्ने अनुमान गरिएको छ ।
आगलागीबाट धन्सार पूर्ण रुपमा जलेको र क्षतिको विवरण यकीन भइ नसकेको प्रहरीले जनाएको छ ।