बेसीशहर । दोर्दी गाउँपालिकाको वडा नं.०६, हरिगाँउ (चेनासा) मा घरैपिच्छे खानेपानीको धारा जडान गरिएको छ ।
गोर्खा वेल्फेयर ट्रष्ट एवं दोर्दी गाउँपालिकाको आर्थिक सहयोग तथा स्थानीयको जनश्रमदानमा हरिगाउँ (चेनासा) खानेपानी तथा सरसफाई आयोजना सम्पन्न भई गाउँका ४२ घरमा १ घर १ धारा जडान गरिएको हो । आयोजनाबाट गाउँको सामुदायिक भवनमासमेत १ धारा जडान गरिएको छ ।
उक्त खानेपानी आयोजना सोमबार एक कार्यक्रमका बिच दोर्दी गाउँपालिका प्रमुख युवराज अधिकारीले उद्घाटन गरेका छन् ।
सोही अवसरमा गोर्खा वेल्फेयर ट्रष्टका आयोजना प्रबन्धक बेल बहादुर गुरुङले गाँउपालिका अध्यक्ष युवराज अधिकारी र खानेपानी उपभोक्ता समितिका अध्यक्ष विराज गुरुङलाई आयोजना हस्तान्तरण गरेका थिए ।
आयोजना अन्र्तगत उक्त गाउँका ४२ घरधुुरी र एक सामुदायिक भवनमा शुद्ध खानेपानी उपलब्ध हुने र आयोजनाबाट गाउँका २३४ जना लाभान्वित हुने छन् ।
४० लाख ५१ हजार ४५३ रुपैयाँ ९६ पैसा लागतमा निर्माण सम्पन्न भएको उक्त आयोजनाका लागि गोर्खा वेल्फेयर ट्रष्ट(न्ध्त्)ले ३० लाख ४० हजार, ५१३ रुपैयाँ ४२ पैसा र दोर्दी गाउँपालिकाले ४ लाख २३ हजार ६७८ रुपैयाँ सहयोग गरेका थिए । आयोजना निर्माणका लागि स्थानीय बासीन्दाले ५ लाख ८७ हजार २६२ रुपैयाँ ५४ पैसा बराबरको जनश्रमदान जुटाएका दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीका स्वकीय सचिव हरि घिमिरेले जानकारी दिए ।
खानेपानीको दुःख झेल्दै आएका हरिगाउँका बासीन्दा खानेपानी आयोजना सम्पन्न भइ घरमै शुद्ध खानेपानीको धारा जडान हुँदा दंग छन् ।