ईशानेश्वर धाम करापुटारमा गौरीकुण्डको पुनर्निर्माण

खबरकुञ्ज

बेसीशहर, फागुन १० । हिन्दू परम्परामा पशुपतिनाथको मन्दिरसंगै बाग्मती नदीको जलको ठूलो महत्व रहेजस्तै ईशानेश्वर धाम करापुटारमा गौरीकुण्डको महत्व छ । 

गण्डकी प्रदेशकै मुख्य तीर्थस्थल मानिने लमजुङको ईशानेश्वर महादेव मन्दिर नेपालको दोस्रो पशुपतिनाथ भनेर चिनिन्छ । साक्षात देवादिदेव महादेवको वास रहेको मानिने ईशानेश्वर महादेव मन्दिर परिसरमा रहेको गौरीकुण्डले धेरै बर्षपछि नयाँ स्वरुप पाएको छ ।

सन्तानेश्वर महादेवका रुपमा पनि प्रसिद्ध ईशानेश्वर महादेव मन्दिरमा सन्तान नहुनेहरु महाशिवरात्रीमा श्राद्धापूर्वक पूजा अर्चना गरी, जाग्राम बसी बत्ती बाल्ने गर्छन् । महाशिवरात्रीमा यस मन्दिरमा बसेर र रातभर उठेर पनि ठाडोबत्ती बाल्नेहरुको भीड लाग्छ । यही मन्दिरको नजिकै परापूर्व कालदेखि अस्तित्वमा रही श्राद्धालुहरुको आस्थाको केन्द्र बनेको गौरीकुण्डको जल ईशानेश्वर महादेवलाई चढाउने गरिन्छ । त्यही धार्मिक महत्वलाई आत्मसात गर्दै यही शिवरात्रीमा गौरीकुण्डको जलले रुद्राभिषेक गराउन सक्ने गरी कुण्डको पुननिर्माण गरी भब्य र नयाँ बनाइएको हो ।


पुरानो गौरीकुण्ड जीर्ण भएपछि गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा जिर्णोद्धार गरी नयाँ बनाइएको हो । यसका लागि प्रदेश सरकारले १० लाख रुपैयाँ अनुदान सहयोग गरेको गौरीकुण्ड निर्माण उपभोक्ता समितिका अध्यक्ष एवं ईशानेश्वर महादेव मन्दिर क्षेत्र विकास समितिका पूर्व अध्यक्ष रामचन्द्र घिमिरे शास्त्रीले जानकारी दिए ।

ईशानेश्वर महादेव मन्दिरको उत्तरतर्फ रहेको यो गौरीकुण्डलाई पहिला भन्दा फराकिलो, गहिरो र भब्य बनाइएको छ । इटाको पर्खाल र त्यसमाथि फलामे रेलिंगले घेरिएको गौरीकुण्डको भित्री भागमा कलात्मक ढुंगा छापि भित्रीभागमा स्टिलको रेलिंगले बारिएको छ । कुण्डको मध्यभागमा नागको प्रतिमा स्थापना गरिएको छ ।

नवनिर्मित गौरीकुण्डको गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले यही फागुन ८ गते उद्घाटन गरेका छन् । सो अवसरमा उनले गौरीकुण्डको पूजा अर्चना गरी नागदेवतालाई दूध अर्पण गरेका थिए । सो अवसरमा बोल्दै उनले धार्मिक स्थलहरुको संरक्षण र विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको पनि बताए । 

प्रतिक्रिया