बेसीशहर, साउन २० । विश्वविख्यात चक्रीय अन्नपूर्ण पदमार्ग छेवैमा रही पर्यटकीय गन्तब्य बन्दै गरेको मर्स्याङदी ८ मा रहेको हामखोला झरनामा यही भदौ ६ र ७ गते पाँचौं हामखोला झरना महोत्सव हुने भएको छ ।
यो मनमोहक झरना केही बर्षयता लमजुङकै मुख्य पर्यटकीय आकर्षणको रुपमा विकास हुँदै गरेको छ । मर्स्याङदी गाउँपालिकामा रहेका दर्जनौं मनमोहक झरनामध्येको एक यो झरना लमजुङको मस्र्याङदी गाउँपालिकाको केन्द्र भुलभुले बजार नजिकै पर्छ । बेसीशहर चामे सडकमा जोडिएको र सदरमुकामबाट समेत पुग्ने केही मिनेट मात्र लाग्छ । बेसीशहरदेखि खुदीसम्मको पक्की कालोपत्रे सडक बनेपछि बेसीशहरबाट मोटरसाइकलमा करीब १५ मिनेटमै यो झरना पुग्न सकिन्छ ।
यो झरना विश्वविख्यात अन्नपूर्ण पदयात्रा मार्गका आकर्षणमध्येको एक हो । झण्डै ६० मिटर अग्लो भीरबाट छङछङ झर्ने यो झरनामा गएर प्राकृतिसंग रमाउन, नुहाउन, फेसबुक, टिकटक, युट्युव र इन्स्ट्राग्राममा रिलहरु बनाउन युवायुवतीको भीड नै लग्ने गर्छ । विशेषत भर्खरका युवायुवतीहरु आफ्नो प्रेम प्रदर्शन गर्न यो झरनालाई रोज्ने गर्छन् ।
यतिबेला यो झरनामा दैनिक डेढ दुईसय जना पुग्ने गर्छन् । पदमार्गमा जाने विभिन्न देशका पर्यटकदेखि विभिन्न जिल्लाबाट आएका आन्तरिक पर्यटकहरु समेत यो झरनामा रमाउँछन् । यसबाहेक मर्स्याङदी गाउँपालिकाका विभिन्न ठाउँका स्थानीयवासीसमेत यस झरनामा रमाउन पुग्ने गरेका छन् । चाडपर्व र बिदाको दिन झरनामा थामि नसक्नुको भीड लाग्छ ।
गाउँपालिकाको केन्द्र, अन्नपूर्ण पदयात्रा मार्ग, सहज यातायात सेवाको विकाससंगै यो झरनाको प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन विगत ५ बर्षदेखि यो झरनामा महोत्सवको आयोजना गर्न थालिएको छ । यस बर्ष पनि मस्र्याङदी गाउँपालिकाले नै महोत्सव आयोजना गरेको हो । झरनाको प्रचार प्रसार गरी पर्यटन प्रवद्र्धन गर्दै स्थानीयवासीको आयआर्जनमा टेवा पुर्याउने उद्देश्यले महोत्सव आयोजना गरिएको अध्यक्ष अर्जुन गुरुङले बताए ।
यस बर्ष यही आउँदो भदौ ६ र ७ गते दुईदिन सम्म महोत्सव आयोजना हुँदैछ । महोत्सवमा चर्चित लोक दोहोरी गायक चिज गुरुङ, मञ्जु विकलगायतका कलाकारहरुले बेजोड सांगीतिक प्रस्तुति दिने भएका छन् । यसबाहेक स्क्र्याच जर्नी ब्याड, स्थानीय कलाकार, आमा समूह, क्लव, विभिन्न होमस्टे र विद्यालयहरुको समेत सांगीतिक प्रस्तुति रहने बताइएको छ ।
हामखोला झरनालाई पर्यटकीय स्थलको रुपमा विकास गर्न मस्र्याङदी गाउँपालिकाले लाखौंको लगानी गरिसकेको छ । सडकबाट झरनासम्म जाने सिँढी, फलामे पुल, बारलगायतका पूर्वाधार निर्माण भएका छन् । मर्स्याङदी गाउँपालिकाले पर्यटनलाई पालिकाको आर्थिक समृद्धिको आधार बनाएकाले पनि पर्यटकीय स्थलको विकासमा लगानी गरिएको गाउँपालिकाले जनाएको छ ।
खबरकुञ्ज