बेसीशहर, माघ १ गते । बृहत गन्धर्व सांस्कृतिक अभियान लिएर पूर्वाञ्चल गन्धर्व संस्कृति उत्थान सामाज लमजुङ आइपुगेको छ ।
गन्धर्व संस्कृतिको संरक्षण गर्दै गन्धर्व समुदाय प्रतिको अन्य समुदायको दृष्टिकोणमा परिवर्तन ल्याउने अभियान अन्तर्गत समाजले मेची महाकाली यात्रा थालेको हो । यसै अभियान अन्तर्गत उक्त टोलीले लमजुङको मर्स्याङदी गाउँपालिकामा सोमबार एक कार्यक्रम गरेको छ ।
प्रख्यात सारंगीबादकहरू लालबहादुर गन्धर्व, श्यामकुमार गन्धर्व, अशोक गन्धर्व, सुरज गन्धर्व र रविन गन्धर्वको टोलीले सोमबार मस्र्याङदी गाउँपालिकाको कार्यालयमा आयोजित एक समारोहबीच नेपाली मौलिक बाजा सारंगी र मादलका साथ गन्धर्व संस्कृति प्रस्तुत गरे । मेचीदेखि महाकालीसम्मको यात्रामा निस्किएको टोलीले तनहूँको भानु नगरपालिका, गोरखाको पालुङटार नगरपालिका हुँदै मर्स्याङदी गाउँपालिकामा कार्यक्रम गरेको हो ।
अभियानका सदस्यहरुलाई मर्स्याङदी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले स्वागत गरेका थिए ।
गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा अभियानको विभिन्न देशभक्तिपूर्ण गीतका साथै गन्धर्व संस्कृति झल्कने अन्य गीतहरु गाएर मनोरञ्जन दिलाएका थिए ।
सो अवसरमा मर्स्याङदी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले अभियानलाई सफल बनाउन आवश्यक साथ र सहयोग गर्ने प्रतिबद्दता व्यक्त गरेका थिए । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष जुनामायाँ थापा, कार्यपालिका सदस्यहरु र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
सो अवसरमा गन्धर्व सांस्कृतिक अभियानका सदस्यहरुले गन्धर्व जातिको जीविकोपार्जनमा सहयोग पुर्याउन, मौलिक बाजाहरुको संरक्षण र लोपोन्मुख गन्धर्व समुदायलाई हेरिने नजर परिवर्तन गराउनु अभियानको उद्देश्य रहेको चर्चा गरेका थिए ।