बेसीशहर, फागुन १३ गते । लमजुङ जिल्लाका विभिन्न विद्यालयहरुले अपराधसम्बन्धी चेतनामूलक पाठ्यसामग्री पाठ्यक्रमका रुपमा प्रयोग गर्ने भएका छन् ।
जिल्ला प्रहरी कार्यालय लमजुङसंगको सहकार्यमा जिल्लाका विभिन्न विद्यालयले समाजमा लागू औषध दुव्र्यसन, धूम्रपान, मध्यपान, साइबर अपराध, सामाजिक सञ्जालको सुरक्षित प्रयोग र महिला तथा बालबालिकाविरुद्ध हुने अपराध लगायतका विभिन्न विषय समावेश गरिएको पाठ्यक्रम लागू गर्न लागेका हुन् । यसका लागि ती विद्यालयहरुले जिल्ला प्रहरी कार्यालयसंग सम्झौता समेत गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी मीनबहादुर घलेले समाजमा अपराध रोकथाम वा न्युनिकरणका लागि पाठयक्रम तयार पारिएको जानकारी दिए । सामाजिक अपराध, घरेलु हिंसा र उजुरी दिने कार्यविधि, करणीसम्बन्धी कसुर, ट्राफिक सचेतना, विपद्, जोखिम र न्यूनीकरणका उपाय, आत्महत्याका सङ्केत र बचाउने उपाय, घटनास्थलको सुरक्षा र अपराध तथ्याङ्क पद्धतिका बारेमा पाठ्यक्रममा सामग्री राखिएको र यसले अपराध नियन्त्रण र न्यूनिकरणका लागि सहयोग पुग्ने विश्वास लिइएको घलेले बताए ।
कुनै पनि अप्रिय घटना हुनै नदिन रोकथाम गर्ने उपाय, असल मानिसका कर्तव्य र जिम्मेवारी, प्रहरी कार्यालयमा उजुरी दिने तथा सम्पर्कका माध्यम, आत्मरक्षा र बच्ने उपाय, चोरी तथा लुटपाट नियन्त्रणबाट बच्ने उपायका बारेमा विद्यार्थीले बुझ्ने गरी पाठ्य सामग्री तयार गरिएको डिएसपी घलेले बताए ।
घलेले भने–“यो पाठयक्रम जनचेतनाका लागि हो । दुई बर्ष अघि जिल्ला प्रहरी कार्यालय चितवनले गरेको यस किसिमको कार्यक्रम प्रभावकारी भएपछि प्रहरी प्रधान कार्यालयले पाठ्यक्रमलाई केही परिमार्जन गरी ७७ वटै जिल्लामा लागू गराउन निर्देशन दिए अनुसार लमजुङमा पनि यो अभियान सञ्चालन गरिएको हो ।”
जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक मेघनाथ चापागाईँले चेतनामूलक विद्यालय पाठ्य सामग्री २०८० तयार गरी जिल्लाका आठवटै पालिकासँग सम्झौता गरेर पाठ्यक्रमको रुपमा प्रयोग गर्ने अभियान शुरु गरिएको र हालसम्म बेसीशहर, मध्यनेपाल, राईनास र सुन्दरबजार नगरपालिका, दोर्दी गाउँपालिका र क्व्हाेंलसाेंथार गाउँपालिकामा सम्झौता हुन बाँकी रहेको उनले जानकारी दिए ।

बेसीशहर नगरपालिकामा आइतबार स्थानीय तह–प्रहरी–विद्यालय सम्पर्क कार्यक्रम समझदारी पत्रमा त्रिपक्षीय हस्ताक्षर गरिएको छ । प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीको अध्यक्षता र नगरप्रमुख गुमानसिंह अर्यालको अध्यक्षतामा समझदारी पत्रमा हस्ताक्षर भएको हो । सो अवसरमा प्रमुख जिल्ला अधिकारीको रोहबरमा प्रहरी प्रमुख र बेसीशहरका मेयर गुमानसिंह अर्यालको रोहबरमा शिक्षा शाखा प्रमुख किसानराज चिलुवाल र प्रमुख प्रशासकीय अधिकृत चेतनाथ अर्यालको रोहबरमा विभिन्न १४ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुले समझदारी पुस्तकमा हस्ताक्षर गरे ।

दोर्दी गाउँपालिकामा शुक्रबार स्थानीय तह–प्रहरी–विद्यालय सम्पर्क कार्यक्रम समझदारी पत्रमा त्रिपक्षीय हस्ताक्षर भएको छ । लमजुङका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीको अध्यक्षता एवम् दोर्दी गाउँपालिका अध्यक्ष श्री युवराज अधिकारीको प्रमुख आथित्यतामा भएको कार्यक्रममा दोर्दी गाउँपालिकाका उपाध्यक्ष बिच्छ बहादुर घले, प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्ले, जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक मीन बहादुर घले, शसस्त्र प्रहरी बल प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक खेमनाथ शर्मा, राष्ट्रिय अनुसन्धान बिभाग लमजुङका प्रमुख अनुसन्धान अधिकृत बिष्णु पण्डित, दोर्दी गाउँपालिकाका शिक्षा शाखा प्रमुख भीमप्रसाद लामिछाने, दोर्दी गाउँपालिकाभित्रका ८ वटा मा.वि.का प्रधानाध्यापक लगायतको उपस्थिति थियो
दोर्दी गाउँपालिका अध्यक्षको रोहवरमा शिक्षा शाखा प्रमुख, प्रमुख जिल्ला अधिकारीको रोहवरमा प्रनाउ र प्रमुख प्रशासकीय अधिकृतको रोहवरमा सम्बन्धित विद्यालयको प्रधानाध्यापकले समझदारी पुस्तकमा हस्ताक्षर गरेका थिए ।
यस्तै सम्झौता शुक्रबार मर्स्याङदी गाउँपालिकामा समेत गरिएको छ । प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीको अध्यक्षता एवं मस्र्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङज्यूको प्रमुख आथित्यतामा सम्झौता गरिएको हो ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम पंज्ञानी, जिल्ला प्रहरी कार्यालय प्रमुख डिएसपी मीन बहादुर घले, शसस्त्र प्रहरी बल प्रमुख . खेमनाथ शर्मा, राष्ट्रिय अनुसन्धान बिभाग लमजुङका प्रमुख अनुसन्धान अधिकृत बिष्णु पण्डित, मस्र्याङ्दी गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष एवं सामाजिक बिकास समिति संयोजक तिल बहादुर गुरुङ, शिक्षा शाखा प्रमुख राजिब सुबर्णकार, मस्र्याङ्दी गाउँपालिका अन्तर्गतका ६ वटा आधारभूत विद्यालय र १० वटा माध्यमिक विद्यालयका प्रधानाध्यापकहरुको उपस्थिति थियो ।
सो अवसरमा स्थानीय तह–प्रहरी–विद्यालय सम्पर्क कार्यक्रम पुस्तक–२०८० नामक पुस्तकमा गाउँपालिकाका अध्यक्ष, शिक्षा शाखा प्रमुख, प्रमुख जिल्ला अधिकारी, प्रहरी नायव उपरीक्षक र प्रमुख प्रशासकीय अधिकृतको रोहवरमा सम्बन्धित विद्यालयको प्रधानाध्यापकले समझदारी पुस्तकमा हस्ताक्षर गरे ।
बालबालिकालाई अपराध उन्मुख हुनबाट तथा पीडित हुनबाट जोगाउन सामुदायिक सेवा र सुरक्षाको भावना अभिवृद्धि गर्नुका साथै असल र जिम्मेवार नागरिकका रुपमा विकास गर्नका लागि पाठ्यक्रम बनाएर विद्यालयहरुमा लागू गर्न लागिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाइँले जानकारी दिए ।
मिलन शर्मा दनाई