बेसीशहर, जेठ २६ गते । ऐतिहासिक महत्वको पुरानोकोट गढीको पुननिर्माण सम्पन्न भएको छ । चौविसे राज्यकालमा तत्कालीन लमजुङ राज्यको महत्वपूर्ण र सामरिक महत्वको पुरानोकोट गढीको नेपाली सेनाले पुननिर्माण गरी बेसीशहर नगरपालिकालाई हस्तान्तरण गरेको हो ।
आइतबार पुरानोकोट गढीमा आयोजित एक भब्य समारोहबीच नेपाली सेना पश्चिम पृतना हेडक्वार्टरका पृतनापछि उपरथि मधुकर सिंह कार्कीले बेसीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्याललाई पुरानोकोट गढी हस्तान्तरण गरेका हुन् । सो अवसरमा पृतनापति कार्की र मेयर अर्यालले पुननिर्मित गढीको संयुक्त रुपमा उद्घाटन समेत गरे ।

सो अवसरमा गढीको मर्मतका लागि सहयोग पु¥याएकामा बेसीशहर वडा नंं ४ को तर्फबाट वडा अध्यक्ष गमबहादुर गुरुङले पृतनापति कार्की, श्री ३ नम्बर बाहिनी अड्डाका बाहिनीपति सहायक रथि अमृतकाजी गुरुङ, चण्डीप्रसाद गणका गणपति प्रमुख सेनानी चित्रकुमार कार्कीलाई सम्मान गरेका थिए ।
त्यस्तै नेपाली सेनाले गढीको पुननिर्माणमा सहयोग गरेकामा वडा अध्यक्ष गुरुङ, अंशु इन्जिनियरिङका प्रोपाइटर नविन धिताल लगायतलाई सम्मान गरेको थियो ।
कार्यक्रममा पृतनापति कार्की, बेसीशहरका मेयर अर्याल, प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरले पुरानोकोट गढीको ऐतिहासिक, पुरातात्विक एवं पर्यटकीय महत्वका बारेमा मन्तब्य ब्यक्त गरेका थिए ।
नेपाली सेनाको चण्डीप्रसाद गणले चालु आर्थिक वर्षको जनहित कार्यक्रम अन्तर्गत बेसीशहर नगरपालिका वडा नंं ४ मा पर्ने ऐतिहासिक एवं पुरातात्विक महत्वको सो गढीको पुननिर्माण गरेको हो । गणले पुरतत्व विभागबाट प्राप्त स्टिमेटको आधारमा नेपाली सेनाले जीर्ण गढीको मर्मत थालेको हो । यसका लागि नेपाली सेनाको पश्चिम पृतना मुख्यालय पोखराबाट प्राप्त आर्थिक स्टिमेटको आधारमा पुरानो र जीर्र्ण गढी मर्मत गरिएको चण्डीप्रसाद गणका गणपति प्रमुख सेनानी चित्रकुमार कार्कीले जानकारी दिए ।
गणपति कार्कीका अनुसार पुरानोकोट गढी मर्मतका लागि नेपाली सेनाको १३ जनाको टोली गत माघ २८ गतेदेखि खटिएको थियो । चालु आ.ब. २०८१÷८२ को स्वीकृत जनहहित कार्मक्रम अन्तर्गत ऐतिहासिक महत्वको पुरानोकोट गढीको मर्मत संभार कार्यको थालनी गरिएको र गढीको सरसफाई गरी नयाँ सामाग्रीको प्रयोग गरेर पहिलाकै आवरणको संरचना तयार गरिएको गणपति कार्कीले बताए ।
ऐतिहासिक, धार्मिक तथा पुरातात्विक महत्वका दरबार, गढी, किल्ला, पदमार्गहरुको संरक्षण तथा सम्वद्र्धन गर्ने उद्देश्य सहित नेपाली सेनाले जिम्मेवारी क्षेत्रमा रहेका गढी किल्लाहरुको मर्मत संभार गर्ने कार्यक्रम तय गरे अनुसार गणको जनशक्तिबाट पुरानोकोट गढीको मर्मत कार्य थालिएको र यसलाई आगामी दिनमा पनि निरन्तरता दिईने उनले जानकारी दिए ।

नेपाली सेनाले ऐतिहासिक दरबार, गढी, किल्लाहरुको दस्तावेज संकलन, अभिलेखिकरण, संरक्षण र संवद्र्धनको लागि मासिक रुपमा विशेष कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ ।
पुरानोकोट गढी तत्कालीन लमजुङका राजा यशोब्रह्म शाहले १६ ओं सताब्दीमा बनाएको विश्वास गरिन्छ। सामरिक महत्वको यो गढी तत्कालीन लमजुङ राज्य गाउँशहरको पश्चिमतर्फको प्रमुख सुरक्षा स्थल मानिन्छ । हाल यो गढी र भग्नावशेषकै रुपमा रहेको पुरानोकोट दरबारको बीचमा बेसीशहर नगरपालिकाले पर्यटकीय महत्वको स्तुपा निर्माण गरे पछि यो ठाउँ पर्यटकीय स्थलको रुपमा विकास भइरहेको छ ।




खबरकुञ्ज