बेसीशहर, मंसिर ३ गते । लमजुङको सुन्दरबजार नगरपालिका ५ मा पर्ने सुन्दर पर्यटकीय गाउँ गहतेमा नयाँ आकर्षण थपिएको छ । गहतेको मुलकोटमा रहेको जीर्ण कालिका मन्दिरको पुनःनिर्माण भई आकर्षक मन्दिर तयार भएपछि पर्यटन प्रबद्र्धनका लागि मन्दिर कोसेढुंगा सावित हुने अनुमान गरिएको छ ।
१६ औं सताब्दीमा लमजुङमा शाहबंशको स्थापनासंगै दक्षिणतर्फ सुरक्षाका लागि मूलकोटमा कोटसंगै गढी बनाइएको थियो । सोहीस्थानमा कालिका भगवतीको स्थापना गरिएको मानिन्छ । सदियौंदेखि अस्तित्वमा रहेको कालिका मन्दिर जीर्ण भएपछि स्थानीयको सक्रियतामा चन्दा संकलन गरी मन्दिरको पुननिर्माण गरिएको हो । मन्दिरको पुननिर्माणका लागि ७२ लाख रुपैयाँ खर्च भएको मन्दिर पुनर्निमाण समितिले जनाएको छ । जसमध्ये संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयबाट ८ लाख, सुन्दरबजार नगरपालिकाबाट ८ लाख, सुन्दरबजार वडा नंं ५ वडा कार्यालयबाट ३ लाख रुपैयाँ सहयोग भएकोमा बाँकी रकम स्थानीयले चन्दा संकलन गरी मन्दिर पुननिर्माण गराएका निर्माण समितिका सचिव हस्त गुरुङले जानकारी दिए ।
सचिव गुरुङका अनुसार मन्दिर पुनःनिर्माणका लागि देश विदेशमा रहेका सयौं सहयोगी दाताहरुले दान सहयोग गरेका छन् । बेलायतबाट मात्रै मन्दिरका लागि १३ रुपैयाँ भन्दा बढी सहयोग प्राप्त भएको छ । संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया हङकङ लगायत युरोपका विभिन्न देश र मलेसिया, दुवई, कतार, साउदी अरब लगायतका देशमा रोजगारीमा रहेका स्थानीयहरुले पनि मन्दिरका लागि मन फुकाएर सहयोग गरेका र सबै गरी ९० लाख भन्दा बढी सहयोग संकलन भएको सचिव गुरुङले जानकारी दिए ।
२०७६ जेठ ११ गतेबाट पुननिर्माणको कार्य शुरु गरिएको मन्दिरको नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं प्रबक्ता समेत रहेका पृथ्वीसुब्बा गुरुङले शनिबार उद्घाटन गरेका छन् ।
उद्घाटन मन्तब्य राख्दै मन्त्री गुरुङले नवनिर्मित कालिका मन्दिरले गहतेको पर्यटन प्रबद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास ब्यक्त गर्दै संस्कृति र प्रकृतिबाट नै नेपालमा उन्नति हुने धारणा ब्यक्त गरे । उनले गहतेमा आउने पर्यटकहरुलाई स्थानीय संस्कृतिले लोभ्याउनु पर्नेमा जोड दिए ।
फरक प्रसंगमा बोल्दै मन्त्री गुरुङले बर्तमान सरकार जनताको चाहना अनुसार अघि बढिरहेको र दुई ठूला दल कांग्रेस एमालेको गठबन्धनको सरकार भएकाले यही सरकारले मात्र मुलुकलाई विकास र समृद्धि दिन सक्ने ठोकुवा गरे ।
गहते कालिका मन्दिर विकास समितिका अध्यक्ष पूर्णबहादुर गुरुङको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा संविधान सभा सदस्य जमीन्द्रमान घले, सुन्दरबजार ५ का वडा अध्यक्ष श्रीकाजी गुरुङलगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा बुद्धिमान दुरा धम्पु, कृष्ण गुरुङ, सीता दुरा, मञ्जु विक लगायतका कलाकारहरु पनि पुगेका थिए ।