बेसीशहर, माघ १५ गते । लमजुङको सुन्दरबजारमा रहेको लमजुङ कृषि क्याम्पसमा लमजुङ जिल्लाबासीका लागि यस अघि ब्यवस्था भएको २ जना विद्यार्थीको कोटा यथावत रहने भएको छ ।
यस अघि डिनको कार्यालयले साविकको स्थानीय जिल्लाको कोटा हटाएर प्रदेश कोटामा समावेश गर्ने निर्णय गरेकोमा स्थानीय राजनीतिक दलको विरोध पछि यथावत राखिएको हो । डिनको कार्यालयले स्थानीय जिल्ला कोटालाई प्रदेश कोटाको रुपमा राख्ने निर्णय गरेकोमा दलहरुले विरोध जनाएका थिए ।
विरोधपछि अनुगमनमा आएका अनुगमन निर्देशनालयका निर्देशक सरोजराज मिश्र, क्याम्पस प्रशासन, लमजुङका राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि र सरोकारवालासहितको वैठकले लमजुङले स्थानीय जिल्लाको रुपमा पाउँदै आएको २ जना विद्यार्थीको कोटा यथावत राख्ने निर्णय गरेको हो ।
कृषि बिषयमा स्नातक तह सञ्चालन भइरहेको लमजुङ क्याम्पसमा २०७४÷०७५ देखी स्थानीय पालिका सुन्दरबजारलाई १ र लमजुङ जिल्लालाई थप २ जना गरी ३ वटा स्थानीय कोटा स्वीकृत भई सोही अनुसार विद्यार्थी भर्ना गरिँदै आएको थियो । अब उक्त क्याम्पसमा स्थानीय तीन कोटाका साथै थप दुई प्रदेश कोटामा समेत विद्यार्थी भर्ना लिइने भएको हो ।
केही दिनअघि क्याम्पसमा रहेको स्थानीय कोटाअन्तर्गत लमजुङ जिल्लाले पाउने २ जना विद्यार्थीको कोटा खारेज गर्ने निर्णय डिनको कार्यालयले गरेपछि लमजुङका क्रियाशील राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिले क्याम्पस प्रमुख डा. नारायण न्यौपानेलाई भेट गरी ध्यानाकर्षण पत्र पेश गरेका थिए । उक्त पत्रपछि डीनको कार्यालयले क्याम्पसमा अनुगमन निर्देशनालयका निर्देशक प्रा. सरोजराज मिश्रलाई क्याम्पसमा पठाएको थियो ।
लमजुङ क्याम्पसका प्रमख डा न्यौपानेको अध्यक्षतामा राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि र क्याम्पस प्रशासन र डिनको कार्यालयका प्रतिनिधिबीचको वैठकले लमजुङ क्याम्पसलाई कृषि स्नातककोे अतिरिक्त कार्यक्रम अन्तर्गत विद्यार्थी भर्नामा डीन कार्यालयबाट शैक्षिक वर्ष २०८०÷०८१ का लागि प्रदेश कोटा २ जना थप गरिएकोमा डीन कार्यालयलाई विशेष धन्यवाद ज्ञापन गर्दै साविकको स्थानीय कोटा संख्या ३ लाई समेत यथावत् कायम गरी भर्ना प्रकृया अघि बढाउने र समर्थनका लागि डीन कार्यालय समक्ष लेखि पठाउने निर्णय भएको क्याम्पसका सूचना अधिकारी क्याम्पसका सूचना अधिकारी श्रीकान्त अधिकारीले जानकारी दिए ।
बैठकले लमजुङ क्याम्पसमा कृषि स्नातकोत्तर कक्षा, एक वर्षे बि.एड. (कृषि) कार्यक्रम सञ्चालन गर्न आवश्यक ठहर गरी संचालन अनुमतिका लागि डीन कार्यालयमा अनुरोध गर्ने र यसका लागि आवश्यक पूर्वाधार खडा गर्न तत्कालै आवश्यक पर्ने कम्तीमा २ करोड रकम उपलब्ध गराउन राजनैतिक दलका जिल्ला नेतृत्वले पहल गर्ने सहमतिसमेत भएको छ ।
बैठकमा नेपाली कांग्रेस लमजुङका सभापति डा. टकराज गुरुङ, नेकपा एमाले लमजुङका अध्यक्ष कृष्णप्रसाद अधिकारी, नेकपा माओवादी केन्द्रका प्रतिनिधि मुरारी भुजेल, सुन्दरबजार नगरपालिकाका निवर्तमान नगरप्रमुख जनकराज मिश्र, प्राध्यपक संघ लमजुङ क्याम्पस एकाइका सभापति नरेन्द्रबहादुर सिंह, क्याम्पस कर्मचारी संघ, लमजुङ क्याम्पस ईकाइका सभापति रामजी खड्का, शाखा अधिकृत सुरेश रेग्मी, शाखा अधिकृत श्रीकान्त अधिकारी, स्ववियूका प्रतिनिधिहरुको उपस्थिति थियो ।