जेनजी आन्दोलन र अहिलेको सरकार अमेरिकाकाे देन हाे, जेनजीलाइ देशको माया छैनः उपमहासचिव गुरूङ

खबरकुञ्ज

बेसीशहर, कात्तिक २९ । नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले  जेनजी आन्दोलन र वर्तमान सरकार अमेरिकाकै देन भएकाे आराेप लगाएका छन् ।

शनिबार बेसीशहरमा प्रेस चौतारी लमजुङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै निवर्तमान सञ्चारमन्त्री समेत रहेका गुरुङले अहिलेका मन्त्रीहरु सबै अमेरीकी दूताबासले गठन गरेकाे युथ काउन्सील र बारबरा फाउण्डेसनका मान्छे रहेका दाबी गर्दै जेनजीहरू किन मन्त्री बनेनन् ? भनि प्रश्न गरे । उनले भने– “सुदन गुरूङ किन मन्त्री नभएकाे ? रक्षा बमलाइ किन मन्त्री नबनाएकाे ? युवाहरूलाइ नबनाएर किन बुढा बुढालाइ बनाएकाे ?”  उनले अहिलेकाे सरकारमा भ्रष्ट र कमिसनखोर र कुनै न कुनै कुरामा खण्डित भएका मात्रै रहेको पनि दावी गरे ।

गुरूङले भने अहिलेकाे सरकार न त संविधान अनुसार बनेकाे छ, न नेपाली जनताले बनाएकाे हाे, याे त अरूले बनाइदिएकाे सकार हाे, यहाँ नाटक मञ्चन भइरहेकाे छ । सुशिला कार्की जेन्जी हाे ? रामेश्वर खनाल जेन्जी हाे ? कुलमान घिसिङ जेन्जी हाे ? कसकाे डिजाइनमा बन्याे ? याे कुरा बिचार गर्नुस् ।

अहिलेकाे अवस्थामा निर्वाचन सम्भव नभएकाे भन्दै उनले संसद पुनर्स्थापना गरी सर्वपक्षीय सरकार बनाउने र आवश्यक परे संबिधान संशोधन र शान्ति सुरक्षाको ब्यवस्था मिलाएर मात्र चुनावमा जानुपर्ने बताए ।

जेलबाट भागेका अपराधी पक्राउ नपरुन्जेल र  प्रहरीका लुटिएका हतियार फिर्ता नआएसम्म निष्पक्ष निर्वाचन सम्भव नभएको भन्दै संसद पुनर्स्थापना गरी शान्ति सुरक्षाको ब्यवस्था मिलाएर मात्रै निर्वाचनमा जान सकिने बताए । अहिलेको सरकारले निर्वाचन गराउन नसक्ने ठोकुवा गर्दै उनले गराइ हाले पनि तत्कालीन राजा ज्ञानेन्द्रले गराएको जस्तो वैध निर्वाचन नहुने र चुनाव निष्पक्ष र धाँधलीरहित हुन सकेमा बहुमत एमाले कांग्रेसकै आउने दावी उनकाे थियाे ।

उपमहासचिव गुरुङले केपी शर्मा ओलीको नेतृत्वमा रहेको लोकतन्त्रवादी, देशभक्त तथा जनमुखी सरकार भएकाले विदेशीको ईशारामा नचलेकै कारण र कुनै तरिकाले पनि सरकार ढाल्न नसकिने अवस्था आएपछि जेनजीलाई उचालेर सरकार ढालिएको दावी गरे । उनले जेनजीले भनेर एमालेले नेतृत्व नफेर्ने बताए ।

उनले सो अवसरमा भने– “जेनजीहरुलाई न त देशको माया छ, न बाबु आमाको न त दिदीबहिनीहरुकै माया छ । उनीहरुलाई त आफ्नो समूह र साथीभाइको माया छ । फेसबुकले उनीहरुलाई दुर्ब्यसनी बनाइदिएको छ । गाँजा खाएकाे जस्ताे बनाएकाे छैन हामीलाइ ? सामाजिक सञ्जाल र एआइको प्रयोगले डिपफेक, साइबर बुलिङ, र अपराध बढेकाले नियमन गर्न खोजेका थियौं ।”

उपमहासचिव गुरुङले आफूले कुनै गल्ती नगरे पनि जेनजी आन्दोलनमा आफ्नो घर जलाइएको र लगाउने लुगा समेत केही बाँकी नरहेको भन्दै दुःख बिसाए । “मेरो घरका सबै सामान जले, कोट पनि सबै जले वा लुटिए, त्यसैले आज पनि ज्याकेट लगाएर आएको छु ।”

प्रतिक्रिया