बेसीशहर । नेकपा एमालेका नेताहरुले मरिसकेको राजतन्त्र कुनै हालतमा ब्युतन नसक्ने भएकाले सपना नदेख्न पूर्व राजालाई चेतावनी दिएका छन् ।
प्रतिगमनको विरुद्ध र गणतन्त्रको पक्षमा नेकपा एमाले जिल्ला कमिटी लमजुङले सोमबार बेसीशहरमा आयोजना गरेको जागरण सभामा सहभागी नेताहरुले मुलुकमा गणतन्त्रको विकल्प नभएको भन्दै प्रतिगमनको सपना नदेख्न पूर्व राजा ज्ञानेन्द्रलाई खबरदारी गरे ।


नेकपा एमाले जिल्ला कमिटीको आयोजनामा बेसीशहरको मनाङे चौताराबाट जागरण जुलुस निस्केको थियो । गणतन्त्र जिन्दाबाद, प्रतिगमन मुर्दावाद, हिंसा हत्या र लुटपाट मुर्दावाद तथा जन्मसिद्ध श्रेष्ठता अस्विकार गरौं’ लगायतका नाराका साथ प्लेकार्ड र ब्यानर लिएको जुलुस बेसीशहर बजार परिक्रमा गरी शेराबजारमा पुगी जागरण सभामा परिणत भएको थियो ।

सभामा नेकपा एमालेका केन्द्रीय सदस्य एवं लमजुङ इन्चार्ज जमीन्द्रमान घले, केन्द्रीय अनुशासन आयोगका सदस्य मायानाथ अधिकारी, नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सचिव धनञ्जय दवाडीलगायतका नेताहरुले राजा फर्काउने नाममा गत चैत१५ गते काठमाण्डौमा भएको घटनाको निन्दा गरे ।
नेकपा एमाले लमजुङका अध्यक्ष राजकुमार विष्टको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाका विभिन्न स्थानमाबाट नेता र कार्यकर्ताको बाक्लो सहभागिता रहेको थियो ।

खबरकुञ्ज