बेसीशहरमा खानेपानीकाे चरम अभाव, खडेरीले मूल सुकेपछि समस्या

बेसीशहर । लामो खडेरीले लमजुङको सदरमुकाम बेसीशहरमा खानेपानीको चरम अभाव शुरु भएको छ ।

बेसीशहरको मौजुदा जननसंख्याका लागि २० बर्षका लागि लमजुङ सदरमुकाम बेसीशहरको जनसंख्यालाई २० बर्षका लागि खानेपानीको अभाव नहुने गरी भाचेकखोला सहलगानी खानेपानी आयोजना निर्माण गरिएको भए पनि खडेरीका कारण पानीका मूलहरु सुकेपछि बजारमा खानेपानीको समस्या उत्पन्न भएको हो ।

लमजुङ सदरमुकाम बेसीशहरमा अहिले खानेपानीको चरम अभाव देखिएकोे छ । घरमा जडान गरिएको धारामा खानेपानी नअएपछि पुराना पँधेरा र कुवामा पानी भर्न उपभोक्ताहरु बाध्य छन् ।

खानेपानीकै समस्या भएपछि नुहाउन, लुगाधुन र करेसाबारीमा पानी हाल्न पाउने त कुरै भएन । बेसीशहरकी उपभोक्ता पार्वती श्रेष्ठ भन्छिन् खानका लागि त पानी छैन, नुहाउने, लुगाधुने कुरा त परको भयो । बेसीशहरकै बिना महतको गुनासो त्यस्तै छ, उनी भन्छिन्– “धारामा खानेपानी नै आउँदैन, लुगाधुने र सरसफाई गर्न नपाएको त धेरै भयो । म त मिनिरल वाटर किनेर निर्वाह गर्दैछु ।”

बेसीशहरमा बेसीशहर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले खानेपानीको ब्यवस्थापन गर्दै आएको छ । बेसीशहरको वडा नंं ७, ८, ९ र १० मा समितिले खानेपानीको ब्यवस्थापन गर्दै आएको छ । समितिका अध्यक्ष कृष्णकुमार प्रधानका अनुसार अहिले बेसीशहर बजारमा चार हजारको हाराहारीमा खानेपानीका उपभोक्ताहरु छन् । यी उपभोक्ताका लागि भाचोक खोला सहलगानी खानेपानी आयोजनासहित डुँडखोला, लप्लेखोला, महभीरखोला, पुमाखोला, फुर्केभीर, ढाडखोला र ठूलोपँधेरासमेतबाट खानेपानी ल्याइएको छ । सबै श्रोतबाट अहिले ठूलोपँधेरामा रहेका पानी ट्याँकीमा प्रतिसेकेण्ड ४५ लिटर खानेपानी खस्नुपर्ने हो । तर लगातारको खडेरीले पानीको श्रोत सुक्दा ट्यांकीमा यसको आधा मात्र पानी खसेपछि वितरणमा समस्या परेको हो ।


अध्यक्ष प्रधानले भने –“खानेपानीको मुहाननै सुकेपछि उपभोक्तालाई खानेपानीको अभाव हुनु स्वभाविकै हो । हामीले हाम्रा ेतर्फबाट उपभोक्तालाई खानेपानी दिन पर्यप्त कोशिस गरेका छौं । कतै वितरण लाइनमा गडबडी भएमा वा विग्रिएमा यथासम्भव मर्मत गरेका छौं तर खडेरीले मुहानै सुकेपछि हामीले के नै पो गर्न सक्छौं र ?”

अध्यक्ष प्रधानका अनुसार बेसीशहरको वडा नंं ७ मा विद्या विकास मावि भन्दा माथि प्रेम पौडेलको जग्गामा १२५ एमएमको पाइप जग्गाधनीको अवरोधले जोड्न नसकिएकोेले ७ नंं वडाका उपभोक्ताकोमा खानेपानी पर्यप्त जान सकेको छैन । अन्यत्रको हकमा कतै बिहान, कतै बेलुका समयतालिका मिलाएर पानी छोड्ने गरिएको छ । 

उनले भने– “सबैतिर एकैचोटी पानी छोड्दा पुग्दैन, त्यसैले कतै बिहान र कतै बेलुका खानेपानी छोड्ने गरिएको छ ।”

भाचोक खोलाको पानी नआउँदै बेसीशहरमा डुँडखोला, फुर्केभीर, महभीरखोला, लप्लेखोला र ठूलोपँधेराकोसमेतबाट गरी प्रतिसकेण्ड २५ लिटर खानेपानी ट्याँकीमा खस्ने गरेको थियो । यी श्रोतबाट आउने खानेपानी कमभएपछि र बढ्दो जनसंख्यालाई पर्यप्त खानेपानी उपलब्ध गराउन समितिले नेपाल सरकारको ७० र उपभोक्ताको ३० प्रतिशत गरी करीब २९ करोड रुपैयाँको लगानीमा भाचोकखोला सहलगानी खानेपानी आयोजना निर्माण गरेको थियो । यो योजनाबाट थप २५ लिटर प्रतिसेकेण्ड खानेपानी ट्याँकीमा खस्ने गरेको थियो । भाचोक खोलाको पानी आएपछि अब बेसीशहरका उपभोक्तालाई २० बर्षसम्म खानेपानीको अभाव नहुने भनिए पनि हरेक बर्ष चैत बैशाखमा खानेपानीको अभाव हुने गरेको छ । यसबर्ष जेठमा लामो खडेरी परेपछि थप समस्या उत्पन्न भएको छ ।


उपभोक्ता समितिका सचिव भूपति वाग्लेका अनुसार अहिले बेसीशहरको खानेपानी ट्यांकीमा प्रतिसेकेण्ड ३० लिटर पानी मात्र खसिरहेको छ । जसका कारण वितरणमा समस्या परेको उनले बताए । उनका अनुसार प्रतिसेकेण्ड ५ लिटर पानी जमीनभित्रबाट लिफ्टिङ गरी मूल ट्याँकीमा खसाल्ने गरिएकोमा लिफ्टिङको पानीसमेत सुकेपछि थप समस्या भएको हो । “चैतसम्म त खानेपानी सबैतिर पुगेकै थियो, तर यो लामो खडेरीले सबैतिर मूल सुकेपछि समस्या भयो । उपभोक्ता हामीलाई गाली गर्छन्, हाम्रोमा पनि पानी आएको छैन, त्यो देख्दैनन् ।”–उनले भने ।

बेसीशहरमा दैनिक करिब ५५ लाख लिटर पानीको माग छ । बर्षेनी उपभोक्ताहरु बढेका छन्, जनसंख्या पनि बढेको छ । बढ्दो जनसंख्या र सुक्दो पानीको श्रोतलाई दृष्टिगत गरी बेसीशहरमा खानेपानीको दीर्घकालीन समस्या समाधानका लागि सोच्नुपर्ने बेला आएको बेसीशहर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका प्राविधिक सब इन्जिनियर त्रिलोचन पौडेलले बताए ।


प्रतिक्रिया