पुराना बामपन्थी नेता डा. बालकृष्ण बराल राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्दै

खबरकुञ्ज

बेसीशहर, साउन १२ । लमजुङका पुराना बामपन्थी नेता वरीष्ठ समाजसेवी एवं शिक्षाविद् डा. बालकृष्ण बराल राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्ने भएका छन् । लामो समयदेखि बामपन्थी आन्दोलनमा लागेका बरालले आइतबार राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्न लागेकाे जनाउ दिएका हुन् ।

पछिल्ला राजनीतिक घटनाक्रम, पुराना राजनीतिक दलहरुका क्रियाकलाप र रास्वपा सभापति रवि लामिछाने विरुद्ध राज्यले साँधेको प्रतिशोधले आफू रास्वपामा आवद्ध भई देश र जनताको हितमा काम गर्नुपर्ने निचोड पछि आफूले यस्तो निर्णय गरेको डा बरालले बताए ।

उनले भने–“भ्रष्टाचार नियन्त्रण गरी देशलाई सुशासन र विकासको पथमा लैजान रास्वपाको विकल्प छैन । रास्वपा पार्टी मात्र होइन, यो नयाँ नेपाल बनाउने अभियान हो । देश र जनताका लागि सबै समर्पित भएर लाग्ने हो भने २०८४ मा रास्वपा यो देशको प्रमुख राजनीतिक शक्ति बन्छ ।”

डा. बरालले कांग्रेस एमाले तथा माओवादी जस्ता पुराना राजनीतिक दलबाट यो देशको विकास र निकास सम्भव नदेखिएको भन्दै रास्वपा रोज्ने निर्णयमा पुगेको खबरकुञ्जलाई बताए । आइतबार सुन्दरबजारमा रास्वपा केन्द्रीय विभागका सदस्य तथा रास्वपा लमजुङका संस्थापक सभापति धर्म के.सी., जिल्ला कार्य समितिका सभापति अशोक सापकोटा लगायतका नेताहरुसंगको छलफलमा डा बरालले केही दिनभित्रै रास्वपाको केन्द्रीय कार्यालयमा गई रास्वपामा समाहित हुने जानकारी गराएका हुन् । 

सो छलफलमा डा बरालसंगै सहभागी रहेका पुराना बामपन्थी नेताहरु हरिनिधि तिवारी, महेन्द्र थापा, रामबहादुर रानाभाट, कृष्ण केसी, बासुदेव न्यौपाने र बीरबहादुर अधिकारीले सोही स्थानमा रास्वपाको सदस्यता लिएका थिए । 

रास्वपामा प्रवेश गरिसकेको कुरा आएको छ नि भन्ने प्रश्नमा डा बरालले सो कुरा अर्धसत्य भएको र आफू अन्य केही साथीहरु समेतलाई लिएर छिटै रास्वपा प्रवेश गर्न लागेको जानकारी दिए । 

२०३१ सालदेखि कम्युनिष्ट आन्दोलनबाट प्रभावित भएका डा बराल तत्कालीन नेकपा माले गठन भएपछि अनेरास्ववियू पाँचौको सदस्यता लिई सक्रिय राजनीतिमा होमिएका थिए । केशवलाल श्रेष्ठसंगै लमजुङमा कम्युनिष्ट आन्दोलन र नेकपा मालेको संगठन बनाउन महत्वपूर्ण भूमिका खेलेका बराल नेकपा एमाले विभाजन भएपछि नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्य पनि बनेका थिए । तर एकीकृत समाजवादीबाट पनि देश र जनताको भलो नहुने ठहरका साथ पार्टी परित्याग गरी उनी विगत डेढ बर्षदेखि स्वतन्त्र नागरिकको रुपमा रहेका थिए ।

रास्वपा लमजुङका सभापति अशोक सापकोटाले सुन्दरबजारको लक्ष्मीनारायण मन्दिरको घण्टीलाई साक्षी राखी डा बरालसहितका केही पुराना बामपन्थी नेताहरु रास्वपामा समाहित भई देश र जनताको हितमा काम गर्ने प्रतिबद्धता जनाएको जानकारी दिए ।

रास्वपा गण्डकी प्रदेशका सभापति राजन गाैतमले पनि  डा बरालसहितका नेताहरूकाे बौद्धिक क्षमता, राजनीतिक अनुभव र समाजप्रतिको समर्पणले रास्वपाको गण्डकी अभियानलाई थप ऊर्जा, गम्भीरता र स्थायित्व दिनेमा दृढ विश्वास रहेकाे बताएका छन् ।

प्रतिक्रिया