एकतिसाैं त्रिवेणी कपकाे तयारी पुरा, बिहीबार दिउसाे उद्घाटन हुने

बेसीशहर । बिहीबारबाट शुरू हुने गण्डकी प्रदेशकै प्रतिष्ठित त्रिवेणी कप राष्ट्रब्यापी फुटबल प्रतियाेगिताकाे तयारी पुरा भएकाे आयाेजक क्लव त्रिवेणी युवा क्लव बेसीशहरले जनाएकाे छ ।

बिगत तीन दशकदेखि लगातार फुटबल प्रतियाेगिता आयाेजना गर्दै आएकाे त्रिवेणी युवा क्लव बेसीशहरले यस बर्ष पुरस्कार राशीमा भारी बृद्धि गरेकाे छ । प्रथम पुरस्कार ८ लाख रहेकाे याे प्रतियाेगिताकाे पुरस्कार राशी गण्डकी प्रदेशकै दाेस्राे ठूलाे हाे । पाेखराकाे सहारा युथ क्लवले आयाेजना गर्ने आहा रारा गाेल्डकपकाे पहिलाे पुरस्कार १० लाख छ । त्रिवेणी युवा क्लवकाे आयाेजनामा बिहीबारबाट शुरू हुने प्रतियाेगितामा प्रथम पुरस्कारकाे राशी ८ लाख पुगेकाे छ ।

प्रतियाेगिताकाे उपविजेताले नगद ४ लाख र सेमीफाइनल पुग्ने दुई टीमले नगद १\१ लाख पुरस्कार पाउने छन् । सर्वोकृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले नगद २०\२० हजार पाउने छन् ।

पुरस्कार राशीमा भएकाे बृद्धिसंगै त्रिवेणी कपकाे यस श्रृंखलामा बिभागीय टीम नेपाली सेनाकाे त्रिभुवन क्लव र नेपाल प्रहरीकाे महेन्द्र  पुलिस क्लबले समेत सहभागिता जनाउँदै छन् । यसबाहेक क्वीन्स गुर्खाज युके, पाेखराकाे एलजी एशाेसियसन, भुइँकेल एफसी लगायतका नयाँ टीमले पनि यस बर्ष नयाँ सहभागिता जनाएका छन् ।

यस बर्ष क्लवले प्याराफिटबाटै खेल हेर्न मिल्ने ब्यवस्था मिलाएकाे छ । गत बर्षका श्रृंखलामा त्रिवेणी रंगशालाकाे दक्षिण माेहाेडामा मात्रै प्याराफिट रहेकाेमा यस बर्ष मैदानकाे दक्षिण पश्चिम र पश्चिम माेहाेडामा समेत प्याराफिटकाे निर्माण गरिएकाे छ । जसबाट दर्शकहरूले आरामका साथ खेलकाे मज्जा लिन सक्नेछन् । बुधवार खेल मैदानमा राेलर लगाएर सम्याउने, मञ्च निर्माण गर्ने, टिम दर्ता गर्ने लगायतका सम्पूर्ण काम सम्पन्न गरिएका उपाध्यक्ष खुशीजंग गुरूङले बताए ।

प्रतियाेगितामा २१ टीमले सहभागिता जनाएका छन् । प्रतियोगितामा समूह ए बाट त्रिभुवन आर्मीका साथै आयोजक त्रिवेणी क्लव, सुन्दरबजार फुटबल क्लव, मस्र्याङदी युवा क्लव, क्वीन गोर्खाज युके, अभिषेक चर्च रजहर, नेपाल भानु युनाइटेड, सामना तुरतुरे, भुइँखेल फुटबल क्लव काठमाडौं र लालीगुराँस युवा क्लव भजुुङ खेल्दैछन् ।

त्यस्तै समूह बी बाट महेन्द्र पुलिस क्लवसंगै बेसीशहर नगरपालिका, दोर्दी गाउँपालिका, बेसीशहर युथ सोसाइटी, एलजी एशोसियसन पोखरा, बाग्मती एफसी सर्लाही, रामपुर रोड्स चितवन, चामे युवा समाज, भरतपुर २४, ठाडाराइ अधिकारी समाज र लाङदी देवी नाल्मा खेल्ने छन् ।

प्रतियाेगिताकाे उद्घाटन बिहीबार दिउसाे १ बजे सहजी रंगशालामा हुनेछ । उद्घाटन खेलमा आयाेजक त्रिवेणी र सुन्दरबजार एफसी भिड्ने छन् । गण्डकी प्रदेश सभाका सदस्य तथा क्लवका पूर्व अध्यक्ष भेषबहादुर पाैडेलले प्रतियाेगिताकाे उद्घाटन गर्ने छन् । हरेक दिनकाे प्रतियाेगितामा जिल्लाकाे एक पालिकाका प्रमुख तथाअध्यक्ष प्रमुख अतिथि, उपप्रमुख तथा उपाध्यक्ष बिशेष अतिथि र वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरू अतिथि रहने ब्यवस्था क्लवले मिलाएकाे अध्यक्ष घिमिरेले बताए ।

प्रतिक्रिया