बेसीशहर, भदौ ३१ । लमजुङको सुन्दर बजार नगरपालिका वडा नम्बर ५ गहते निवासी ६५ बर्षकी बालकुमारी गुरुङलाई गाउँघरमा उत्पादन भएको मोही पनि विक्री होला भन्ने कहिल्यै लागेकाे थिएन । घरमा पारेको मोही आफूले खाएर बाँकी रहेको बाख्रालाई खुवाउने वा बारीमा फाल्ने गरेकी थिइन् । सुन्दरबजारमा दुईसाता अघिदेखि शुरु भएको साप्ताहिक कृषि हाटबजारमा मोही पनि विक्री हुन्छ भन्ने सुनेपछि शनिबार उनी घरमा पारेको मोही लिएर विक्री गर्न आइपुगिन् । नभन्दै उनले ल्याएको मोही हाटबजारमा छोप भयो । गाउँघरमा त्यसै खेरजाने मोही प्रति लिटर ५० का दरले बिक्री हुँदा उनी दंग परिन् । जम्मा ७ लिटर मोही बोकेर गाउँबाट झरेकी उनीले केहीबेरमै विक्री गरी गाउँ फर्किन् । अब अर्को शनिबारको हाटबजारमा अझै बढी मोही विक्रीका लागि ल्याउने उनको योजना छ ।

सुन्दरबजारको वडा नंं ५ खहरे निवासी चिजामाया मजाकोटीलाई पनि सालको पात विक्री हुन्छ भन्ने पनि थाह थिएन । गाउँघरका जंगलमा प्रशस्त पाइने सालको पातको बजारमा राम्रो माग रहेको र विक्री हुने थाह पाएपछि उनले पनि त्यही हाटबजारमा सालको पात विक्री गर्न ल्याइन् । नभन्दै हाटबजारमा उनले ल्याएको सालको पात किन्नेहरुको हानथाप नै चल्यो । एकछिनमै प्रतिमुठा १ सयको दरले एक थुन्से सालको पात विक्री भएपछि उनी फुरुंग हुँदै घर फर्किन् ।

भानु नगरपालिका वडा नंं ११ तनहुँका अमरदिन मियाले शनिबारको हाटबजारमा पानी अमला बिक्री गर्न ल्याए । साथमा सिस्न्नुको धुलो र जंगली कन्दमुल भ्याकुर समेत उनले बिक्रीका लागि ल्याएका थिए । यी चिज लिएर घरबाट सुन्दरबजार झर्दा उनलाई यस्ता चिज के विक्री होला र ? भन्ने लागेको पनि थियो । तर हाटबजारमा गएर बस्न नभ्याउँदै उनले ल्याएका चिजबीज धमाधम विक्री भए । पानी अमला पनि ग्राहकहरुले खुशी हुँदै किनेको देखेर उनी अचम्ममा परे ।
सुन्दर बजारकै वडा नंं ५ गहते निवासी ७० बर्षका धनबहादुर गुरुङ शनिबार घरबारीमा फलेका स्थानीय जातका काँक्रो र तान्द्रे कर्कलो बोकेर हाटबजारमा आएका थिए । यी पनि हाटबजारमा निकै रुचाइए, एकछिनमै विक्री भए ।

सुन्दरबजारको साप्ताहिक कृषि हाटबजारबाट लाभान्वित भएका यी त केही प्रतिनिधि किसान मात्र हुन् । हाटबजारबाट अरु धेरै किसानले लाभ लिएका छन् । आफूले उपभोग गरी बाँकी रहेका कृषि उत्पादन गाईभैंसीलाई कुँडो पकाएर खुवाउने गरेका किसानले बजार पाएपछि उनीहरुलाई ब्यवसायीक बन्न प्रेरण समेत मिलेको छ ।
हाटबजारमा स्थानीयस्तरमा उत्पादन भएका गुन्द्रुक ,काक्रो, लसुन, घिरौला, गोलभेडा, छ्यापी, हाँसको अण्डा, फर्सी, साग, घिउसिमी, न्यूरो, लोकल कुखुराका भाले, विभिन्न जातका काँचो तथा पाकेको केरा,करेला, भिँडी, खुर्सानी, लोका, कर्कलो, कागती, निवुवा, दही, तामा, मकै, हर्रोबर्रो, तिल, बेलाउती, टिमुर, काँडे धनिया, अम्रिसोको कुचो जस्ता वस्तुहरुको राम्रो किनबेच भइरहेको छ । एक पटक हाटबजारमा कृषि उपज विक्रीका लागि अएका किसानहरु स्थानीय उत्पादनको राम्रो माग देखेपछि नियमित रुपमा बिक्रीका लागि आउन थालेका छन् ।

हाटबजारका अध्यक्ष विष्णुकुमार श्रेष्ठ भन्छन्– “हाटबजारले किसानहरुमा हौसला बढेको छ । उत्पादन गर्न सके राम्रै मूल्यमा स्थानीयस्तरमै विक्री हुँदो रहेछ भन्ने सन्देश गएको छ । उपभोक्ताहरु पनि ताजा फलफूल र तरकारी सुलभ मूल्यमा पाउँदा खुशी छन् । हाटबाजर शनिबार मात्र होइन, अरु दिन पनि चलाउनु पर्छ भन्ने माग बढ्न थालेको छ ।”
सुन्दरबजारमा १० बर्षपछि गत साउन १५ देखि साप्ताहिक रुपमा हाटबजार लाग्न थालेको हो । हाटबजार शुरु भएको दिन करीब ७२ हजारकाे काराेबार भएकाे थियाे । दाेस्राे दिन साउन २२ गते ८५ हजार र तेस्रो दिन भदाै २९ गते शनिबार करिब १ लाख २ हजार रुपैयाँको खरिद विक्री भएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
अहिले यो हाटबजार स्थानीय किसान र उपभोक्ताका लागि बरदान सावित हुन थालेको छ ।
किसानहरुले घरबारीमा उत्पादन गरेका कृषि उपजमात्र होइन, जंगलका कन्दमूल पनि हाटबजारमा राम्रो बिक्री हुन थालेपछि किसानहरु खुशी छन् । किसान मात्रै होइन, स्थानीयस्तरमा उत्पादन भएका ताजा फलफूल र तरकारीहरु सुपथ मूल्यमा पाउन थालेपछि उपभोक्ताहरु पनि खुशी छन् ।
हाटबजारका नियमित ग्राहक बनेका सुन्दरबजारका सिराराम प्रसाद साह भन्छन् “हाटबजारमा ल्याइने कृषि उपज अर्गानिक र ताजा छन्, हाटबजार लागेदेखि नै म नियमित खरिद गर्न आइरहेको छु । बरू हप्ताको दुइ दिन सञ्चालन हुने ब्यवस्था मिलाउनु पर्छ ।”

गाउँघरका अर्गानिक उत्पादनको विक्री बढेपछि शनिबार बाहेकका दिनमा पनि किसानहरुले आफ्ना उत्पादन बजारमा ल्याउन थालेका छन् । सुन्दरबजार ४ दुराडाँडाका किसान मदन खनिया सोमबार पनि कटहर बिक्री गर्न सुन्दरबजार आइपुगेका थिए । उनले भने– “मैले यस अघि पनि हाटबजारमा गुन्द्रुक, भ्याकुर, फर्सीको मुण्टा, लट्टेको साग, बेसार, मकैको पिठो, केरा आदि विक्री गरें । अहिले घरमै फलेको रुख कटहर बिक्री गर्न ल्याएको हूँ, करीब ४ हजारको विक्री भइसक्यो ।”
१० बर्ष अघि सुन्दरबजारमा हाटबजार साप्ताहिक रुपमा चल्ने गर्थ्याे । तर हाटबजार लाग्ने ठाउँमा नगरपालिकाको कार्यालय बसेपछि हाटबजार बन्द भएकोमा स्थानीय एभरेष्ट साकोसको सक्रियतामा हाटबजार साप्ताहिक रुपमा सञ्चालन गरिएको हाटबजार ब्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले जानकारी दिए । उनका अनुसार सुन्दरबजार नगरपालिका, ७ नम्बर वडा कार्यालय, ग्रामीण सामुदायिक विकास केन्द्र(आरसिडिसी), लमजुङ कृषि क्याम्पस लगायतका सरकारी तथा गैरसरकारी संस्थाहरुको समन्वयमा हाटबजार सञ्चालनमा आएको हो ।
मिलन शर्मा दनाई