जलवायु परिवर्तनकाे प्रभाव राेक्न मर्स्याङदी करिडोरका स्थानीय निकाय सहमत

खबरकुञ्ज

बेसीशहर, मंसिर ५ गते । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा परेको प्रभावलाई न्यूनिकरण गर्दै यसबाट सिर्जित समस्याको समाधानका लागि मर्स्याङदी करिडोरका स्थानीय निकायहरु एकजुट भइ अघि बढ्न सहमत भएका छन् ।

हिमालपारिको जिल्ला मनाङको सदरमुकाम चामेमा मंगलबार मस्र्याङदी करिडोर स्थानीय निकाय समन्वय समितिको वैठक बसेको थियो । वैठकमा जलवायु परिवर्तनको असर विश्वभर परे पनि हिमाली क्षेत्रमा यसको प्रत्यक्ष परेको र यसबाट हिमाली क्षेत्रका बासीन्दा बढी प्रभावित भएको भन्दै यसको न्यूनिकरणका लागि गम्भीर छलफल भएको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्र घलेले जानकारी दिए ।

वैठकले बेसीशहर चामे सडकको स्तरोन्नतिका बिषयमा समेत चासो रोखको थियो । निर्माण सम्पन्न भएका दुई दशक पुग्दा समेत मनाङ सदरमुकाम जोड्ने सडकको स्तरोन्नति हुन नसकेको सन्दर्भमा सडकको स्तरोन्नतिका लागि सम्बन्धित निकायमा घच्घच्याउने निर्णय भएको उनले बताए ।


वैठकमा सहभागी मर्स्याङदी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले मर्स्याङदी करिडोर अन्तर्गतका स्थानीय निकायहरुको साझा विकासका लागि वैठकले महत्वपूर्ण निर्णय गरेको जानकारी दिए । यस शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा पूर्वाधारको विकासका लागि आवश्यक कार्ययोजना तयार गर्न सबै स्थानीय निकाय तयार भएका छन् ।

बढ्दो शहरीकरण र जनघनत्वका कारण चुनौतिको रुपमा रहेको फोहर ब्यवस्थापनको क्षेत्रमा पनि मिलेर अघि बढ्न सबै स्थानीय निकायहरु सहमत भएका गुरुङले जानकारी दिए । 


उनका अनुसार यस क्षेत्रका साझा सम्भावना, अबसर र चुनौतिको पहिचान गरी साझा कार्यक्रम तय गर्न यस क्षेत्रका संघीय सांसद, प्रदेश सांसद, मन्त्रीहरु र सम्भवव भएसम्म प्रधानमन्त्री र राष्ट्रिय योजना आयोगका पदाधिकारीहरु समेतको सहभागितामा यही मंसिर २९ गते काठमाडौंमा बृहत गोष्ठीको आयोजना गर्ने निर्णय वैठकले गरेको छ । यसबाहेक समन्वय समितिको वैधताका लागि दर्ता लगायतका प्रक्रियाका बारेमा पनि वैठकमा छलफल भएको थियो ।


समन्वय समितिमा मस्र्याङदी उपत्यकाभित्र पर्ने मनाङको चामे गाउँपालिका, मनाङ डिस्याङ गाउँपालिका र नासों गाउँपालिका, लमजुङका मर्स्याङदी गाउँपालिका,  बेसीसहर नगरपालिका, सुन्दरबजार नगरपालिका, राईनास नगरपालिकार दोर्दी गाउँपालिका, गोरखाको गोरखा नगरपालिका, पालुङटार नगरपालिका र सहिद लखन गाउँपालिका तथा तनहुँको भानु नगरपालिका, बन्दीपुर गाउँपालिका र आँबुखैरेनी गाउँपालिका समावेश छन् ।

चामे गाउँपालिकाको आतिथ्यता र समन्वय समितिका संयोजक एवं भानु नगरपालिकाका अध्यक्ष आनन्दराज त्रिपाठीको अध्यक्षतामा भएको वैठकले यस अघि भएका वैठकको निर्णयहरुको समेत समीक्षा गरेको थियो । मर्स्याङदी करिडाेरका पालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत वैठकमा सहभागी  थिए । समितिको आगामी वैठक आउँदो माघमा गोरखा नगरपालिकामा हुने बताइएको छ ।

प्रतिक्रिया