बेसीशहर । लमजुङमा १५ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताकाे उपाधि राइनास नगरपालिकाले जितेकाे छ ।पर्यटकीय गाउँ घलेगाउँमा पुस २२ देखि २५ सम्म गरिएको जिल्लास्तरीय १५ १५ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा १३ स्वर्ण, ९ रजत र ७ कास्य पदक जितेर राइनास नगरपालिकाले लगातार दाेस्राेपटक रनिङ शिल्ड उचालेकाे हाे ।
प्रतियोगितामा ११ स्वर्ण, ९ रजत र ४ कास्य पदक जितेर बेंसीशहर नगरपालिकाले दाेस्राे स्थान बनाएकाे छ । त्यस्तै ६ वटा स्वर्ण, ११ वटा रजत र ८ वटा कास्य पदक जित्दै सुन्दरवजार नगरपालिकाले तेस्राे स्थान हासिल गरेकाे छ ।
पालिका स्तरमा राष्ट्रपति रनिङ शिल्ड सम्पन्न गरी जिल्ला स्तरीय रनिङ शिल्ड प्रतियाेगिता गरिएकाे हाे ।
प्रतियाेगिता अन्तर्गत छात्राछात्र भलिबल, हाइजम्प, लङजम्प, त्रिपलजम्प, सटपुट, ज्याबलिङ थ्राे, एथलेटिक्स, कराते लगायतका खेलहरूका साथै मार्चपासमा प्रतिस्पर्धा गराइएकाे थियाे ।


प्रतियाेगितामा करातेतर्फ बेसीशहर नगरपालिकाले ५, सुन्दरबजार नगरपालिकाले ४ र राइनास नगरपालिकाले ३ स्वर्ण जिते । मार्च पासमा ३७ अंक ल्याएर राइनास नगरपालिका प्रथम, ३४ अंकका साथ मध्यनेपाल नगरपालिका द्वितीय र ३३ अंकका साथ सुन्दरबजार नगरपालिकाले तृतीय स्थान पाए ।

प्रतियाेगितामा महिला भलिबलमा बेंसीशहर नगरपालिका प्रथम, मर्स्याङ्दी गाउँपालिका द्वितीय र राइनास नगरपालिकाले तृतीय स्थान पाए । पुरुष भलिबलमा मध्यनेपाल नगरपालिका प्रथम, राइनास नगरपालिका द्वितीय र मर्स्याङ्दी गाउँपालिकाले तृतीय स्थान पाएका जिल्ला खेलकुद विकास समित लमजुङका अध्यक्ष याेगबहादुर गुरूङ(कालु)ले जानकारी दिए ।

प्रतियाेगिताका प्रतिनिधि सभा सदस्य एवं गण्डकी प्रदेशका पहिलाे मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले उद्घाटन गरेका थिए । प्रतियाेगितामा विजयी खेलाडीहरूलाइ प्रमुख अतिथि पृथ्वीसुब्बा गुरूङ, संविधानसभाका सदस्य जमीन्द्रमान घले, क्व्होलासोथार गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङ, पूर्व अध्यक्ष एव घलेगाउँ पर्यटन विकास समितका अध्यक्ष प्रेमबहादुर घले, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष योगबहादुर गुरुङ (कालु) लगायतले शिल्ड, पदक तथा प्रमाणपत्र प्रदान गरेका थिए ।
प्रतियोगितामा जिल्लाका ८ वटै स्थानीय निकायका विभिन्न विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाएका थिए ।