भीरबाट गोरु लडोस् र मासु खाउँला भन्ने चाहँदैमा गोरु लडिहाल्छ र ?

मिलन शर्मा दनाई


जोसंग बोल्नै नपरोस्, जसका बारेमा लेख्नै नपरोस् भन्ने सोच्छु, उसैसंग बाराम्बार जुहारी खेल्न परिरहेको छ । प्रसंग फेरि लमजुङको पत्रकारिता, समाजसेवा, कला सांस्कृति र पछिल्लो समय राजनीतिकाे समेत खेलाडी हूँ भन्ने नवराज पहाडीको हो । उनका बारे नलेखौं भन्ने लाग्छ, सुखै दिन्नन्, लेख्न बाध्य हुन्छु । केही समय अघि प्रकाशित मेरो लेख र समाचारले चित्त बुझ्यो होला उनको भन्ने लागेको थियो । होइन रहेछ । सवालको जवाफ नदिए उल्टै आरोप लाग्छ, मैले लेखेकाे सत्य रहेछ नत्र लेख्थे नि भन्छन्,  के गर्नु बाध्यता छ ।

यही फागुनको २१ गते फेरि अन्तरंग न्यूज डटकममा अप्रत्यक्ष रुपमा मलाई र म सम्बद्ध संस्थाका बारेमा उनले लेखेका रहेछन् । हाम्रा बारेमा उनकाे मिडियामा समाचार नलेखियाेस् भनेर हामीले षडयन्त्र गरेकाे हस्यास्पद टिप्पणी रहेछ त्यहाँ । हामीले कसैका हात बाँधेका छैनाैं । कानुनले बर्जित गरेकाे काम भयाे भनि नियमन निकायकाे ध्यानाकर्षण गराएकाे चाहिँ हाे । यसबारे उतिबेलै उनकाे समाचारबारे कानुनी उपचार हुने जानकारी गराएकै हाे । 

पछिल्लो समय उनलाई प्रेस काउन्सीलले सोधेको स्पष्टीकरणलाई मैले समाचार बनाएको थिएँ । त्यसकाे बदला मलाई पुनः शब्दबाणले आक्रमण गर्न पछि परेनन् । हिजो म लगायत केही ब्यक्तिलाई एसएलसी पास पनि नगरेको, नैतिकहीन भन्न पछि नपर्ने र यिनीहरुसंग नैतिकताको तुलोमा जोखिन तयार भनेर खुलेआम हाँक दिएकामा मैले उनको हाँक स्वीकार गरेकै हो । तीन तीनवटी महिलासंग बिहे गरेर अनाैठाे नैतिकता प्रदर्शन गर्ने उनलाइ मैले कहाँ गएर कुन तुलोमा तौलिने हो भनेर प्रश्न पनि गरेकै हो । उनी तौलिन अझै तयार भएका छैनन् । उनको नैतिकताको धोती त तीन दशक अघि नै खुस्किएको हाे ।

मेरो स्वामित्वको अनलाईन पत्रिका खबरकुञ्ज अनलाईन पत्रिकामा प्रेस काउन्सील नेपालले नवराज पहाडी र उनीसम्बद्ध अन्तरंगन्यूज डटकमलाइ ७ दिने स्पष्टीकरण सोधेको बिषयमा फागुन २१ गते समाचार प्रकाशित भएको थियो । त्यसमा उनले पत्रकार र पत्रकारिताको मर्म विपरित लेखेको विषयमा प्रेस काउन्सीलमा उजुरी दर्ता भएको र सो विषयमा काउन्सीलले उनलाई स्पष्टीकरण सोधेको विषय मात्र समाचारमा उल्लेख थियो । तर त्यसको "काउन्टर" जवाफमा पहाडीले पुनः कालिका सहकारीको बिषय उठान गरी मलाई नै कालिका सहकारीको मुख्य पीडक भनेर तोके । कालिका सहकारीको बिषय अदालतमा प्रवेश गरेकाले अदालती बिषयबारे नबोलौं नेलेखौं भनेर मैले त्यति बोल्ने र लेख्ने गरेको छैन । अदालतको फैसला आएपछि लेखौंला बोलौंला । किनकी पेशागत मर्यादाले अदालती विषयमा बोल्न लेख्न मिल्दैन । तर अदालत भन्दा दश कदम अघि सरेर ती पहाडी भन्ने ब्यक्ति भने आफै न्यायाधीश बनिरहँदा मलाइ भने उदेक लागेकाे छ । हुन त उनी अदालत र न्यायाधीशको समेत हुर्मत लिने ब्यक्ति हुन् । केही समय अघि एक महिलालाई अदालतले उनकाे लवाइ र हाउभाउका कारण बढी धराैटी ताेक्याे भनेर समाचार लेखिदिए । पछि अर्की एक महिलाले दिएकाे बयानकाे बिपरित बयान टिपियाे पनि भने । अदालत र न्यायाधीशकै मानहानी गर्नेले अरूलाइ टेर्ने कुरा भएन । तै काेही बाेल्दैनन् । मलाइ भने बाेल्न मन लाग्छ यस्ताेमा ।

के खबरकुञ्ज अनलाईनमा छापिएको नवराज पहाडीलाई स्पष्टीकरण सोधिएको प्रेस काउन्सीलको पत्र झुटो हो त ? नवराज पहाडीले भनेजस्तै उनलाई प्रेस काउन्सीलबाट कुनै स्पष्टीकरण नआएको हो त ? खबरकुञ्जले पाएको पत्रमा स्पष्ट रुपमा नवराज पहाडीलाई सम्बोधन गरिएको छ ? अनि मैले पत्र पाएकाे छैन भनेर ढाँटेर हुन्छ र ? त्यसैकाे छायाँकपि उजुरी गर्नेलाइ पनि पठाएकाे हाे त ।

नवराज पहाडी र अन्तरङ्गलाई मात्र हाेइन, अरूलाइ पनि मेराे ब्यवसायीक र सामाजिक क्रियाकलापको बारेमा समचार लेख्न छुट छ । म सम्बद्ध कालिका बचत तथा ऋण सहकारी संस्थाको बारेमा पनि समाचार लेख्न छुट सबैलाइ छ, तर तथ्यपरक र सन्तुलित । समाचार लेख्दा पत्रकार आचार संहिताको ख्याल गरियाेस् । आरोप लगाउन पाइन्छ, तर तथ्यपरक । सन्तुलित समाचार र बिचारमा मेराे आपत्ती छैन । कसैको बारेमा नकरात्मक समाचार लेखिए पनि सन्तुलित र तथ्यपरक हुनुपर्छ । म आफै पत्रकार भएकाले यसो भन्दैछु । प्रमाणसहितका समाचारमा कसैलाई आरोप लगाउनु अघि सोधिरहन नपर्ला, विना प्रमाण जे पायो त्यही समाचार  त्यो पनि एकपक्षीय र पूर्वाग्रही भएर लेख्ने छुट कसैलाई छैन । आफै प्रहरीजस्तो भएर अभियोग लगाउने, आफै न्यायाधीश जस्तो बनेर फैसला सुनाउने काम बन्द गर । यो मेरो सुझावसंगै चेतावनी पनि हो ।  

फागुन २१ गते अन्तरंगन्यूज डटकममा आएको समाचारमा म लगायतले राजनीतिक पहुँचका आडमा उक्त सहकारीको करोडौं रकम हसुरेरकाे कुरा लेखियाे । अनि ‘होइन’ भन्दै कथित ‘इमान्दारिता’को खोल ओड्दै छाडा बनेर षडयन्त्र गर्याैं  र यसकाे पर्दा चाहि उनलाइ काउन्सीलले साेधेकाे स्पष्टीकरणले च्यातियाे रे, हाँसाे उठ्दाे कुरा । उनले मलाई कालिका सहकारीको मुख्य पीडक हाे पनि भने । ठिकै छ,  प्रमाणित गर । करोडौं त परको कुरो , मैले एक पैसा खाएको रहेछु भने कहा र कोसंग ? कसरी खाएकाे रहेछु  देखाइदनु पर्दैन ?  सक्दैनाै भने सार्वजनिक रुपमा मेरो बेइज्जति गरेकामा माफ माग वा त्यसको मूल्य चुकाउन तयार भए हुन्छ । समाचार तथ्यपरक र सन्तुलित नभएपछि त्यस्ताे पत्रकारिता पर्चाकारिता मात्रै हुन्छ ।  हचुवामा जे पायाे त्यै लेखेर अरूकाे इज्जतमा धावा बाेल्ने छुट कुन कानुनले दियाे ? 

सहकारीमा मात्र होइन, मैले कोही कसैसंग ऋण लिएर नतिरेको छु ? कसैसंग मागेकाे सापटी पैसा पचाएको छु ? कसैसंग लाखाैंकाे काम उधारोमा गराएर बेपत्ता भागेको छु ? कसैको घरपरिवार विगारेको छु ? पसललेले उधाराे तिर भनेर ताकेता गर्दा तेराे नाम पत्रिकामा छाप्दिन्छु भनेर हप्काएकाे छु ?

म मेहनेत गरेर पसिना बगाएर खानुपर्छ, कसैकाे सित्तैमा केही लिनुहुन्न भन्ने मान्यताको मान्छे हो, त्यसैमा अडिग छु । मैले कहिँ कतै कसैकाे एक पैसो खाएको भए कसैले देखाइदिए हुन्छ, नवराज पहाडीसंग यसरी दोहोरी खेल्न सक्ने हैसियत हुन्थ्यो होला र ? 

म राजनीतिमा छैन, जान्दिन पनि । कुनै अमुक राजनीतिक दलको आड भरोसामा बाँचेको पनि छैन । न राजनीतिक दलको फाइदा लिन जानेकाे छु, न मौकामा चौका हान्ने कुटील मान्छे हूँ म । पैसाले न्याय किन्नेहरू अरू हाेलान्, मलाइ त्यस्ताे किनेकाे न्याय चाहिन्न, गल्ती गरेकाे छैन, त्यसैले किन्न पनि पर्दैन । अदालतले न्याय दिन्छ भन्नेमा ढुक्क छु । 

‘खबरकुञ्ज’काे सञ्चालकले अदालतमा १२ लाख रुपैयाँ धरौटी राखी तारेखमा रिहा भएको कहिले नकारेकाे छ र ? अदालतमा मुद्दा पर्दैमा कुनै ब्यक्ति दोषी भइहाल्ने हो र ? सबुद प्रमाण, साक्षी अनि अरु धेरै प्रक्रिया पुरा गरेर मात्र अदालतले फैसला गर्छ । स्वघाेषित वरीष्ठहरूले कसैलाइ आरोप लगाइदिने अनि आफै न्यायाधीश बनेर फैसला लेख्दैमा हुनेवाला केही छैन । अदालतकाे प्रक्रिया हुन्छ, प्रमाणहरु अध्ययन गर्छ, साक्षी बुझ्छ अनि मात्र फैसला गर्छ । अनि अन्तरंगका मालिकलाइ कसैमाथि रिस उठ्नु पर्छ, उसकाे खेदाे खन्छ भन्ने त नजीर बनिसकेकाे छ, अदालतलाइ खेदाे गर्नेले हामी बबुरालाइ किन छाेड्थे ? तर उनकाे लेखनीले काेही दाेषी हुने भए कति साेझा लमजुङेहरू जेल परिसकेका हुन्थे हाेलान् ।

पत्रपत्रिकाले पाउँदै आएको लोककल्याणकारी बिज्ञापन हटाएर समानुपातिक प्रणाली लागू गराउनु पर्छ भन्नेमा म दृढ छु । आफ्नो पेट पाल्न पत्रिका चलाउने, ग्राहक र बिज्ञापन खोज्न नसक्ने, समाज देश र नागरिकका लागि माखो मार्न नपर्ने पत्रकार र पत्रिकालाई राज्यले पैसा दिएर पालिदिनु पर्ने ? राज्यको ढुकुटीमा रजाइँ गरेर कतिदिन पत्रकार भएर बाँच्ने ? कर्मचारी पाल्न नसक्ने अवस्थाको देशले हुँदो न खाँदोसंग च्याउझैं उम्रिएका पत्रिकालाई जनताको रगत पसिनाबाट उठेको रकम अनाहकमा खर्च गरी रहनु पर्ने ? नवराज पहाडी आफूले मात्र नभइ श्रीमतिको नाममा समेत पत्रिका निकालेर राज्यको ढुकुटीको अनाधिकृत दोहन गर्ने ब्यक्ति हुन् । उनका पत्रिकाले यो देशका लागि के त्यस्तो योगदान दिएको छ र राज्यले तिनका पतिपत्नीकै पत्रिका चलाउन खर्च भर्नु पर्ने ? यसरी जथाभावी रकम बाँड्नुको सट्टा देशको विकासमा खर्च गर्नुपर्छ भन्ने मेरो मत हो । राज्यको ढुकुटीबाट पत्रिका पालिने होइन, चलाउने मालिक आफै सक्षम हुनुपर्छ, नभए बन्द गर्नु पर्छ । कुनै पत्रिका बन्द भएर देश डुब्छ र ? पत्रिका चल्ने बिज्ञापनबाट हो, त्यसका लागि बजार खोज्नु सक्नु पर्छ । अब बजारबाट बिज्ञापन खोज्न नसक्नेलाई राज्यले कति दिन पालिदिने त ? एउटै समाचार तीन/चार थरि मिडियामा छापेर राज्यको सम्पतीको अनुचित दोहन गर्नेलाई लाज लाग्नु पर्ने होइन ? अनि त्यसैकाे तुजुक अरूलाइ देखाउनेले धरातल बिर्सन हुन्छ ?  राज्यले त्याे पैसा दिन बन्द गरे त्यसैकाे भरमा गुजारा गर्नेकाे के गति हुन्छ ? म पनि पत्रिका चलाउँछु, लाेकल्याणकारी बिज्ञापन बन्द भए मलाइ केही फरक पर्दैन, मसंग बाँच्नका लागि बिकल्प छन् ।

नवराज पहाडी आफै कालिका सहकारीको शेयर सदस्य हुन् । उनले बारम्बार सञ्चालकहरुले ठगी धन्दा चलाएको, करोडौं रकम हसुरेको भनेर भन्दै र लेख्दै आएका छन् । कारागारमा थुन्नु पर्छ, आजै अदालतले कारागार पठाउँदै छ भनेर दुष्प्रचार गर्दै आएका पनि छन् । तर उनी जस्तो विद्वान, कानुनको ज्ञान भएकाले किन सहकारी ऐनले गरेको ब्यवस्था अनुसार त्यस्ता सञ्चालकहरुलाई हटाउने कोशिस गर्नु उनकाे दायित्व हुँदैन ? उनले लेख्दै भन्दै पनि आएका छन् कि ठगी गर्ने नियतले बाराम्बार कालिका सहकारीमा उनै सञ्चालक दोहोरिए भनेर । काेही सञ्चालकमा बस्न तयार नभएपछि बाध्यताले हामी बस्न परेकाे हाे । कालिका सहकारीकै शेयर सदस्य भएर संस्थामा यस्तो, उस्तो, सञ्चालक यस्ता र उस्ता भनेर भन्ने र लेख्नेले तिनै सञ्चालकलाई बारम्बार पदमा बस्न किन दिए ? सहकारी ऐन २०७४ को दफा ४५ मा सञ्चालकहरुलाई हटाउन सक्ने स्पष्ट ब्यवस्था छ त । दफा ४७ मा सञ्चालक समिति बिघटन गर्न सकिने प्राबधान छ त । मिडियामा सञ्चालकहरुलाई नानाभाँती भन्नेले त्यही ऐन अनुसार हटाउने आँट गर्नु पर्थेन ? 

कुनै पनि ब्यक्तिलाई लागेको आरोप त्यतिबेला मात्र पुष्टि हुन्छ, जतिबेला अदालतले उमाथि लगाइएको अभियोग सिद्ध भएकाे फैसला गर्छ । तर नवराज पहाडीले बारम्बार म लगायत कालिका सहकारीका सञ्चालकहरुलाई के आधारमा “ठग”  “टाउके” भनि बेइज्जत गरिरहेका छन् ? बेइज्जति गर्नुकाे पनि हद् हुन्छ । अति गरेपछि खति हुन्छ भन्ने उखान नै छ ।  पहाडी वा अन्तरङ्गले उजागर गरेका भनिएका अधिकांश कुरा भ्रामक र अतिरञ्जित हुन् । हाम्रो संस्थामा समस्या आएको हो । अन्तरङ्गले लेखे अनुसार कराेडाैं खाएकाे भए अदालतले धराैटी लिएर पक्कै छाेड्ने थिएन हाेला । यदि मैले वा अरू कसैले कराेडाैं खाएकाे प्रमाण पहाडीसंग छ भने अदालतमा लगेर दिए हुँदैन ? पत्र पत्रिकामा छाप्न पनि कसले राेकेकाे छ र ?

पहाडी आफै कालिकाको शेयर सदस्य हुन् । कुनै पनि सहकारी सस्था संस्था समस्यामा परेपछि शेयर फिर्ता मागेका छन् । संस्था सबल रहुन्जेल उनले शेयर फिर्ता मागेका र नपाएको भए फरक कुरो । अहिले समस्या भएपछि फिर्ता मागेका हुन् र संस्थाले यो अवस्थामा शेयर फिर्ता गर्न सक्दैन । शेयर र बचत फरक कुरा हो । फेरि उनलाई कसैले शेयर किन्न बाध्य बनाएको पनि होइन । शेयर फिर्ता नपाएर उनले संस्था र सञ्चालकका विरुद्ध बिषबमन गरेका हुन् । शेयर फिर्ता माग्दै उनले सञ्चालकहरुलाई मुद्दासमेत दायर गरेका छन् । अब सामान्य बुद्धि भएको मानिसले पनि ठम्याउन सक्छ कि गाँठी कुरो को हो ? वा छ भन्ने । कालिका सहकारीका बारेमा जतिसुकै भ्रम छरे पनि सञ्चालकका बारेमा जति बिषबमन गरे पनि कालिका सहकारी अझै बन्द भएको छैन, कारोबार भइरहेको छ । बचतकर्ताको बचत फिर्ता पनि क्रमशः भइरहेको छ । सञ्चालकहरु अझै भागेका छैनन् र भाग्दैनन् भन्नेमा बचतकर्ताहरु पनि ढुक्क छन् । त्यस्तो नहुँदो हो त ४ हजार बढी सदस्यको बचत रहेकामा संस्थाका विरुद्ध मुद्दा दायर गर्ने ७०–८० जना मात्र हुन्थे होला र ? कालिका सहकारीलाई सिध्याउने र सञ्चालकहरुलाई जेल कोचेर रमिता हेर्न खोज्नेहरुले बुझे हुन्छ, संस्थाका लगानी उठेन भने पनि घरखेत बेचेर पनि बचतकर्ताको बचत फिर्ता गर्न सञ्चालकहरु दृढ छन् । भीरबाट गाेरू लडेर मर्ला र मासु खान पाउँला भन्ने साेच्दैमा गाेरू भीरमा गएर पक्कै लडिहाल्दैन ।

अन्तरंग र पहाडीलाइ मेराे चुनाैति छ, अरू के के लेख्न सक्छाै लेख । जवाफ लेख्न तयार छु । भेटनरीदेखि रेयुकाइ हुँदै ठाडाे भाका प्रतिष्ठानसम्म र कांग्रेस, राप्रपा हुँदै रास्वपासम्म पहाडीकाे यात्रा सबै थाह छ । जता काफल पाक्याे त्यतै चरी नाच्याे भनेझैं त्यस्ता काफल खाेज्दै हिँड्ने चराे अलि बुढाे भएपछि उड्न सक्दैन, काफल पनि भेट्दैन अनि रूखबाट खस्नुकाे बिकल्प के त ?

प्रतिक्रिया