बेसीशहरका विभिन्न ५ ठाउँमा प्रहरी बिट थपिने, शेराचाेकमा राखिएकाेमा विराेध

बेसीशहर । लमजुङ सदरमुकाम बेसीशहरका विभिन्न ५ ठाउँमा प्रहरी बिट थपिने भएको छ ।

समाजमा शान्ति, सुरक्षा कायम गर्न र जनतालाई सुरक्षाको प्रत्याभूति दिन बेसीशहर बजारका विभिन्न स्थानमा प्रहरी विट राख्न लागिएको हो ।  

बेसीशहर नगरपालिकाको सहयोगमा बेसीशहर बजार क्षेत्रमा प्रहरी विट राख्न लागिएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जगदिश रेग्मीले बेसीशहर बजारका विभिन्न ५ स्थानमा नगरपालिकाको सहयोगमा प्रहरी विट राख्न लागिएको जानकारी दिए । ५ मध्ये बेसीशहरको शेराबजारमा एउटा विट राखिसकिएको छ । अन्य ४ वटा निर्माण हुँदै छन् । सबै तयार भएपछि औपचारिक कार्यक्रम गरी विटमा प्रहरी खटाइने छ ।

बजार क्षेत्रमा हुनसक्ने आराधिक क्रियाकलाप नियन्त्रण गर्न र जनताले चाहेको बेला तत्काल सेवा दिन सकिने गरी प्रहरी विट राख्न लागिएको सूचना अधिकारी रेग्मीले बताए । 

बजार क्षेत्रमा ठाउँ ठाउँमा प्रहरी विट राख्दा आपराधिक घटनाहरूमा कमी आउने र बजारबासी र यात्रुहरूले समेत शान्ति सुरक्षाको महसुस हुने अपेक्षा स्थानीयले गरेका छन् । सडकमा तीब्रगतिले सवारी साधन चलाउने, जथाभावी पार्किङ गर्ने र झै झगडामा समेत कमी आउने अपेक्षा स्थानीयको छ ।

बेसीशहरको शेराचोकमा सडकमै प्रहरी बिट राखिएकोमा भने स्थानीयले विरोध गरेका छन् । बेसीशहरको सम्भवत सबै भन्दा बढी ब्यस्त हुने यो चोकमा सडकमा प्रहरी विट राख्दा दुर्घटनाको जोखिम अरु बढ्ने स्थानीयले बताए । प्रहरी विटले सडक साँघुरो बनाउनुका साथै सडकको अर्को दिशाबाट आउने सवारी साधान नदेखिने भन्दै उनीहरुले गुनासो गरेका हुन् ।

हाल शेरा चोकको चौतारो भन्दा बाहिर राखिएको प्रहरी विटका कारण नारायणस्थान वा फूलबारी चोक हुँदै शेरातर्फ आउने सवारी साधनले करपुरेश्वर चोक वा विदाइ चौतारा हुँदै बायाँतर्फबाट आउने सवारी साधनलाई पुरै छेकिदिन्छ । त्यस्तै विदाइ चाैतारा वा करपुरेश्वर चाेकबाट अाउने सवारीले पिन माथिल्लो बजारबाट अाइरहेका सवारी नदेखिने हुँदा दुर्घटनाकाे जाेखिम बढ्ने देखिन्छ । 

विदाई चौतारा वा करपुरेश्वर चोकतर्फ जाने सवारी साधनले जतिबेला पनि प्रहरी विटमै ठक्कर दिन सक्ने स्थानीय ब्यवसायी गजेन्द्र श्रेष्ठले बताए । स्थानीयले आफूहरुले यहाँ बिट नराख्न आग्रह गर्दा पनि प्रहरीले नसुनेको बताए ।

प्रहरी कार्यालयका सूचना अधिकारी रेग्मीले भने त्यहाँ प्रहरी बिट राख्ने निणर्य भइनसकेको र अहिले ट्रायलका लागि मात्र राखिएको जानकारी दिए ।

प्रतिक्रिया