ऐतिहासिक र धार्मिक महत्वको देवीस्थान मन्दिर पुनर्निर्माण

मिलन शर्मा दनाई

बेसीशहर । १६ औं सताब्दीतिर बनेका मानिएको लमजुङ बाहुनडाँडामा रहेको ऐतिहासिक र धार्मिक महत्वको देवीस्थान मन्दिर पुनर्निर्माण गरिएको छ ।

राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्मथलो पुस्तुन बाहुनडाँडामा २०७२ को भूकम्पले भत्काएको देवी मन्दिरको पुनर्निर्माण गरिएको हो । स्थानीय र देश विदेशमा रहेका बाहुनडाँडा र वरपरका बासीन्दासंग चन्दा सङ्कलन गरेर स्थानीयले मन्दिर पुनर्निर्माण गरेका हुन् । यस अघि २०४६ सालमा स्थानीय खुसबहादुर गुरुङले मन्दिरकोजीर्णोद्धार गरेकामा २०७२ को भुकम्पमा परी मन्दिर भत्किएपछि पुनर्निमाण गरिएकोहो ।

१६ औं सताब्दीमा लमजुङमा शाह बंशकों जग बसाउने राजगुरु कुश्माकर घिमिरेले उक्त मन्दिर निर्माण गरेको किंवदन्ती छ । उनको यकीन जन्म कहिले भयो भन्ने नखुले पनि उनी १५१० मा जन्मेको विश्वास गरिन्छ । उनी नेपालको वर्तमान राष्ट्रिय झण्डाका परिकल्पनाकार पनि हुन् । 


२०७२ को भुकम्पले भत्काएपछि जीर्ण भएको मन्दिर निर्माणका लागि झण्डै १ बर्ष अघि स्थानीय मनि प्रसाद गुरुङको अध्यक्षतामा देवीस्थान मन्दिर संरक्षण समिति बनाई मन्दिर पुनर्निमाणको कामथालिएको थियो ।

यो मन्दिर लमजुङको मस्र्याङ्दी गाउँपालिका–६,बाहुनडाँडामा रहेको छ । भाकल गरी यो मन्दिरमा पुगेर पूजा अर्चना गर्नाले मनोकामना पुरा हुने विश्वास गरिन्छ । परम्परादेखि नै बाहुनडाँडा र आसपासका बासीन्दाहरुले तन मन लगाएर पूजा गर्दै आएको यो मन्दिरप्रतिको आस्था र विश्वासकै कारण ठूलो धनराशी खर्चेर पुननिर्माण गर्न सकिएको मन्दिर निर्माण समितिका अध्यक्ष मनिप्रसादले बताए । 

अध्यक्ष गुरुङले ऐतिहासिक तथा धार्मिक महत्वको मन्दिरको पुननिर्माणमा करिब ६० लाख रुपैयाँ खर्च भएको जानकारी दिँदै देश विदेशमा रहेका स्थानीयबाट संकलन भएको उक्त रकमबाट मन्दिर बनेको जानकारी दिए । यस अभियानमा ३८५ जना दाताहरु जोडिएका पनि बताए ।


पुनर्निमाण गरिएपछि उक्त मन्दिरको गण्डकीप्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिलामन्त्री डा. टकराज गुरुङल हालै उद्घाटन गरेका छन् । उद्घाटन मन्तब्य राख्दै उनले धार्मिक तथा ऐतिहासिक महत्वको मन्दिर पुननिर्माणमास्थानीयले देखाएको अथक परिश्रमको मुक्तकण्ठले प्रशंसा गरे । उनले मन्दिरको पुनर्निर्माणबाट बाहुनडाँडा क्षेत्रमा धार्मिक पर्यटनको विकास हुने विश्वास गर्दै पर्यटनको विकासमा गण्डकी प्रदेश सरकारले पनि सहयोग गर्ने प्रतिबद्धता जनाए । 

कार्यक्रममा बोल्दै मस्र्याङदी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले मन्दिरका थप संरचना निर्माण र प्रचारका लागि गाउँपालिकाले आवश्यक सहयोग गर्ने आश्वासन दिए । मन्दिर पुनर्निमाण समितिका सचिव विष्णुराज घिमिरेले पुनर्निर्माण भएको मन्दिरलाई पर्यटनसँग जोडेर यस क्षेत्रको अर्थतन्त्रलाई चलायमान बनाउन प्रयास गरिने जानकारी दिए । स्थानीयका अनुसार देवीस्थान मन्दिरको उत्खननका क्रममा विसं १८२५ तिरका अभिलेखहरू भेटिएका छन् । मन्दिर संरक्षण समितिका सल्लाहकार कृष्णचन्द्र घिमिरे उक्त मन्दिरमा विभिन्न स्थानबाट आएका ऋषि तथा योगीले तपस्या गरेको इतिहास रहेको बताउँछन् ।

प्रतिक्रिया