बेसीशहर, फागुन १८ । लमजुङकाे मध्यनेपाल नगरपालिका वडा नं. ७ मा रहेका प्रसिद्ध धार्मिक स्थल ईशानेश्वर महादेव मन्दिरमा सुन्दर प्रवेशद्वार निर्माण गरिएकाे छ ।
नेपालकाे दाेस्राे पशुपतिनाथ भनेर चिनिने ईशानेश्वर महादेव मन्दिरमा प्रवेश गर्न मुख्यद्वारकाे रूपमा मन्दिरकाे उत्तरतर्फ प्रवेशद्वार निर्माण गरिएकाे हाे । देशकै प्रमुख धार्मिक स्थलकाे रूपमा परिचित याे मन्दिरमा शिवरात्रीमा भब्य मेला लाग्छ । काठमाडाैंकाे पशुपतिनाथ पछि सबै भन्दा धेरै भक्तजनकाे भीड लाग्ने याे मन्दिरलाइ सन्तानेश्वर महादेवकाे रूपमा पुजिन्छ ।
केही बर्ष अघि मन्दिर काे पुनर्निर्माण पश्चात मन्दिरकाे प्रवेशद्वार समेत बनाउने साेच अनुसार प्रवेशद्वार बनाइएकाे हाे । मन्दिरकाे प्रबेशद्वार निर्माणका लागि स्थानीय अकला सामुदायिक बन उपभाेक्ता समूह र चन्द्रज्याेति आमा समूहले एकलाख ९० हजार रूपैयाँ उपलब्ध गराएका ईशानेश्वर महादेव मन्दिर क्षेत्र विकास समितिका सचिव शंकरराज घिमिरेले जानकारी दिए ।
प्रवेशद्वार निर्माणकाे जिम्मा स्थानीय मनबहादुर सार्कीले पाएका थिए । ठेक्का सम्झाैता अनुसार प्रवेशद्वारकाे बिममा गजुरसहित गणेश, कुमार र शिव पार्वतीकाे मूर्ति राखिएकाे छ । गेटकाे दुवै तर्फ शिव पार्वतीकाे बहान साँढेसमेत राखिएकाे छ भने दुइवटा घण्टीसमेत राखिने छ ।
यही २०८० सालकाे शिवरात्रीलाइ लक्षित गरी मन्दिरकाे प्रवेशद्वार निर्माण गरिएकाे हाे । यस बर्ष शिवरात्रीमा करापुटार धाममा बिशेष मेला लाग्दैछ । यही फागुन २० देखि २९ सम्म ईशानेश्वर महादेव मन्दिर परिसरमा महाेत्सव हुँदैछ ।