मनाङ जिल्लामा आजबाट नियमित रुपमा सार्वजनिक बस सेवा सञ्चालन

मिलन शर्मा दनाई

बेसीशहर, बैशाख ७ गते । हिमालपारीको जिल्ला मनाङमा आइतबारदेखि नियमित रुपमा यात्रुबहाक बस सञ्चालन हुन थालेको छ । लामो समयको प्रतीक्षापछि मनाङ  जिल्लामा आजबाट नियमित रुपमा सार्वजनिक बस चल्न थालेको हो ।

जिल्ला प्रशासन कार्यालय मनाङको समन्वय र मनाङका जनप्रतिनिधि र त्यहाँस्थित विभिन्न सामाजिक संघ संस्थाको पहलमा बेसीशहरबाट नियमित रुपमा सार्वजनिक बस सञ्चालन हुन थालेको हो । 

गत बैशाख १ गतेदेखि नै सार्वजनिक बस सञ्चालन गर्ने तयारी भएकोमा प्राविधिक कारणले बस सञ्चालनमा केही दिन ढिलो भए पनि अन्ततः आइतबार चामेमा सार्वजनिक बस पुगेपछि मनाङीहरुले हर्षोल्लासका साथ बसको स्वागत गरेका थिए ।

मनाङबाट प्रतिनिधि सभाका सदस्य टेकबहादुर गुरुङ लगायतका जनप्रतिनिधिहरु सार्वजनिक बस चढेरै मनाङ पुगेका थिए । सार्वजनिक बस सेवाको आइतबार पूर्व मन्त्री एवं प्रतिनिधि सभा गुरुङले औपचारिक रुपमा उद्घाटन समेत गरे । कार्यक्रममा मनाङ क का प्रदेश सभा सदस्य मुनिन्द्रजंग गुरुङ, चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्र गुरुङ, प्रमुख जिल्ला अधिकारी मातृका आचार्य, लमजुङ कालिका यातायात सञ्चालक प्रा.लिका अध्यक्ष पूर्णलाल श्रेष्ठ लगायत मनाङका जनप्रतिनिधि, ब्यापारी, समाजसेवी तथा सर्वसाधारणको उपस्थिति थियो ।

लमजुङ मनाङको सिमाना म्यार्दी खोला र मनाङ सदरमुकाम चामेमा भिन्न कार्यक्रमबीच सार्वजनिक बसको स्वागत गरिएको थियो ।


हालसम्म पाँचसिटे जीपले मनाङमा यातायात सेवा दिँदै आएका थिए । कम यात्रु अट्ने, महंगो र सामान ढुवानीसमेत तिनै जीपबाट हुने हुँदा मनाङमा यात्रुबहाक सार्वजनिक बस सञ्चालन गर्न धेरै अघिदेखि प्रयास भइरहेको थियो । पछिल्लो समय मनाङमा सञ्चालित मनाङ मस्र्याङदी जलविद्युति आयोजनाका कारण सडकको स्तरोन्नति गरिएपछि सार्वजनिक बस सञ्चालनको बाटो खुलेको हो ।


मनाङका प्रमुख जिल्ला अधिकारी आचार्यले हाललाई मनाङ सदरमुकाम चामे र बेसीशहरबाट दैनिक १÷१ वटा बस छुट्ने र यात्रुहरुको चाप र आवश्यकता हेरेर थप बस सञ्चालन गरिने जानकारी दिए । उनका अनुसार उक्त सार्वजनिक बसका लागि बेसीशहरबाट चामेसम्मको ६४ किलोमिटर दुरीका लागि प्रति ब्यक्ति ९ सय रुपैयाँ भाडा निर्धारण गरिएको छ । यस अघि जीपहरुले बेसीशहरदेखि मनाङको चामे सम्मका लागि १ हजार २ सय ५० रुपैयाँ भाडा लिने गरेकामा जीपको यात्राका लागि सोही भाडादर कायम भएको छ ।


प्रतिक्रिया