गोरखा, जेठ ३ गते ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गाँजा र लाेकल रक्सीलाइ वैधानिकता दिने विषयमा बहस हुनु पर्ने बताएका छन् ।
बुधवार गृहजिल्ला गाेरखा पुगेका मुख्यमन्त्री पाण्डेले गाँजा औषधि हो वा लागू औषध हो भन्ने विषयमा बहस हुनुपर्ने बताए । उनले यदि गाँजा औषधि पनि हो भने कानुन बनाएर यसलाइ खुकुलाे बनाउने र नियमनकारी निकायहरु निर्माण गरेर यसलाई औषधिको रुपमा प्रयोग गरिनु पर्नेमा जाेड दिए । उनले विकसित कतिपय देशहरूमा गाँजा बैधानिक रहेकाे र उनीहरूले यसबाट अाम्दानी गरिरहेकाे भन्दै नेपालमा पनि यसलाइ कानुनकाे दायरामा ल्याएर अाम्दानी गर्न सकिने बताए ।
काठमाडौं लगायत देशभर यसबारे बहस भइरहेको भन्दै उनले यो बहसलाई बृहत बनाउनुपर्ने बताए । गण्डकी प्रदेशले मात्र कानून बनाएर बैधानिकता नहुने भएकाले संघीय सरकारले नै यससम्बन्धी कानुन खुकुलाे बनाउने पर्ने धारणा राखे । उनले भने– "गाँजालाई खुल्ला गरे जनताको आयआर्जनसँगै सरकारको आम्दानीको स्रोत पनि बढ्छ ।"
साे अवसरमा मुख्यमन्त्री पाण्डेले स्थानीय स्तरमा उत्पादन हुने लोकल रक्सीलाई पनि कानुनी दायरामा ल्याउनुपर्नेमा जाेड दिए । उनले लोकल रक्सीलाई रिफाइन गरेर ब्राण्डिङ गर्न सके गाउँघरमा सानातिना उद्योग पनि सञ्चालन हुने, स्वराेजगारी सिर्जना भइ देशकै अार्थिक अवस्थामा सुधार ल्याउन सकिने धारणा राखे ।
मुख्यमन्त्री बने पछि पहिलो पटक गृह जिल्ला पुगेका पाण्डे नेपाली काँग्रेस गोरखाले आज आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बाेल्दै थिए । साे अवसरमा उनले पदमा रहँदा र नरहँदा पनि पार्टी, कार्यकर्ता र गाेरखाबासीकाे शीर निहुरीने काम नगर्ने प्रतिबद्वता ब्यक्त गरे ।
उनले भने, 'पार्टी भित्रका केही मानिसहरु लोभ र लालचमा फसेर बिग्रीए होलान्, तर म मुख्यमन्त्रीको पदमा रहदा र नरहँदा पनि पार्टी, कार्यकर्ता र गाेरखाबासीकाे शीर निहुरीने गरी कुनै पनि काम गर्दिन ।'