बेसीशहर, असोज २० गते । लमजुङको मर्स्याङदी गाउँपालिकाको खुदीमा आयोजना गरिएको दशैं लक्षित कृषि तथा पशु हाटबजारमा २५ लाख भन्दा बढीको कारोबार भएको छ ।
गाउँपालिकाको कृषि सेवा केन्द्र खुदीको हातामा गत असोज १७ देखि १९ गतेसम्म पहिलो पटक दशै लक्षित कृषि पशु हाटबजार सन्चालन भएको थियो । दशैंसंग सम्बन्धित कृषि तथा पशुमेलाका साथमा स्थानीय अर्गानिक परिकारको रैथाने फुड फेस्टिभल समेत आयोजना भएकाले खसीबोकादेखि स्थानीय अर्गानिक तरकारी, फलफूल खरिद गर्न टाढा टाढाबाट मानिसहरु त्यहाँ पुगेका थिए ।
हाटबजारमा खसीबोकाका साथमा स्थानीयस्तरमा उत्पादित तरकारी तथा फलफूल बिक्रीका लागि ल्याइएको थियो ।
हाटबजार ब्यवस्थापन समितिका सदस्य नवीनराज कुइँकेलले हाटबजारमा ड्रागन फ्रुट, काँक्रो, केरा, निबुवा, कागती, साग, टमाटर, ध्यु सिमी लगायतका फलफूल र तरकारीको राम्रो ब्यापार भएको जानकारी दिए ।
हाटबजारमा कागुनोको चामल, पाहाकाे सुकुटी, रैथाने चियापत्ती, मोहीको रोटी, अमिलो, घरमौरी तथा भीर मौरीको मह, अकबरे खुर्सानीको अचार, मोही राम्रो बिक्री भएको उनलने बताए ।
यसबाहेक हाटबजारमा डोको, थुन्से, राडी, पाखी, बख्खुलगायत हस्तकलाका सामग्रीहरु समेत बिक्रीका लागि ल्याइएका थिए ।
मर्स्याङदी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले उक्त हाटबजारमा २५ लाख भन्दा बढीको कारोबार भएको र भीरमौरीको मह मात्रै १२ लाख भन्दा बढी मूल्यको बिक्री भएको जानकारी दिए ।
मर्स्याङदी गाउँपालिकाको सहयोगमा स्थानीय वस्तुहरुको बजारिकरणका लागि दशैंको अवसरमा गाउँपालिकामै पहिलो पटक कृषि हाटबजार मेला सञ्चालन गरिएको र यसबाट स्थानीय किसान र जिल्लाभरका उपभोक्ताहरु लाभान्वित भएका अध्यक्ष गुरुङले बताए । गुरुङले भने– “यो शुरुवात हो, यसलाई ब्यवथित गर्दै लैजान्छौ ।”
हाटबजारले उत्पादक किसान र उपभोक्ताहरु सबै उत्साहित भएका छन् । यो लगत्तै अब तिहार लक्षित हाटबजार सञ्चालन गरी आवश्यकता अनुसार साप्ताहिक हाटबजार सञ्चालन गर्ने सोच गाउँपालिकाले राखेको छ ।
पालिकाले किसानहरुलाई अर्गानिक उत्पादनमा जोड दिन र उपभोक्ताहरुलाई पनि स्थानीय उत्पादनको प्रयोगलाई प्राथमिकतामा राख्न आग्रह गरेको छ । पालिकाले समेत कृषि उपजहरुको बैज्ञानिक मूल्य निर्धारण गरिदिने प्रतिबद्धता जनाएको छ ।