कुकुर पाल्न नगरपालिकाकाे अनुमति लिनुपर्ने, अनिबार्य दर्ता नगरे जरिवाना

बेसीशहर । लमजुङकाे सदरमुकामसमेत रहेकाे बेसीशहर नगरपालिकाले नगरक्षेत्रमा कुकुर पाल्न अनिबार्य नगरपालिकाकाे अनुमति लिनुपर्ने सूचना जारी गरेकाे छ ।

नगरपालिकाले असाेज १२ गते एक सार्वजनिक सूचना प्रकाशित गर्दै १५ दिनभित्र नीजि रूपमा पालिएका कुकुरहरूलाइ नगरपालिकामा दर्ता गरी अनुमति लिन सूचना जारी गरेकाे हाे ।

नगर क्षेत्रभित्र बेवारिसे तथा घरपालुवा कुकुरहरू बढ्न गइ बजार क्षेत्रका घर, हाेटल तथा रेष्टुरेण्टहरूमा पसी खानेकुरा खाइ नष्ट गर्ने तथा घरभित्र पसी दिसापिसाब गरी फाेहाेर बनाएकाे र सडक पेटी तथा नालीहरूमा जथाभावी दिसापिसाब गरी फाेहाेर बनाएकाे जनगुनासाे बढेकाे भन्दै नगरपालिकाले सूचना जारी गरेकाे हाे ।


नगरपालिकाकाले जाे कसैले पनि घरमा पालिएका कुकुरहरू जथाभावी नछाेड्न, सडक पेटी तथा नालीहरूमा अब्यवस्थित रूपमा दिसापिशाब गराउन कार्य बन्द गर्न पनि सर्वसाधारणका लागि सूचना गरेकाे छ ।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत किसानराज चिलुवालद्वारा जारी सूचनामा जारी सूचना बमाेजिम नभएमा जरिवाना र अन्य कारबाही गरिने चेतावनी पनि दिइएकाे छ ।



प्रतिक्रिया