बेसीशहर, चैत्र ५ गते । लमजुङमा त्रिभुवन विश्वविद्यालयको एकमात्र आंगिक क्याम्पस लमजुङ क्याम्पस, सुन्दरबजारमा आज सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेविसंघको प्यानल विजयी भएको छ ।
४ सय ७३ जना मतदाता रहेको लमजुङ क्याम्पसको स्ववियू निर्वाचनमा सतप्रतिशत मत खसेको थियो । निर्वाचनमा अनेरास्ववियू र अनेरास्ववियू क्रान्तिकारीको संयुक्त प्यानलललाई पराजित गर्दै नेविसंघले जीत निकालेको हो ।
मत परिणाम अनुसार नेविसंघका असिम वस्ती २४५ मतका साथ विजयी भएका छन् । उनका प्रतिस्पर्धी संयुक्त प्यानलका उम्मेदवार बनेकी अनुसा परियारले २२७ मत प्राप्त गरिन् । सचिव पदमा नेविसंघकै विवेक सिंह २४१ मतका साथ विजयी हुँदा उनका प्रतिस्पर्धी कृष्टि सापकोटा ले २३० मत प्राप्त गरिन् । उनी अखिल क्रान्तिकारीबाट प्रतिनिधित्व गर्छिन् ।
कोषाध्यक्षमा नेविसंघका हेम नारायण रसाइली २४४ मत पाएर विजयी हुँदा संयुक्त प्यानलका नवीन कुमार यादवले २२५ मत पाए ।
सदस्यमा नेविसंघका आर्चि पाठक २४१, अफजल अन्सारी २४१, विविका थापा मगर २४०, आयुष्का गौतम २४१, र अवसर अधिकारी २४१ मतसहित निर्वाचित भए ।
समानुपातिकतर्फ पनि नेविसंघले बढी मत पाएको छ । मत परिणाम अनुसार नेविसंघ ले २४५, अनेरास्ववियु ले २२५, र अखिल (क्रान्तिकारी) ले ५ मत पाएको छ ।