बेसीशहर । मस्र्याङदी किनारमा मिलेकोे सुन्दर बस्ती । सुन्दर, शान्त र मनमोहक वातावरण । वस्तीका सबै मानिसहरु आफ्नो काममा ब्यस्त छन् । एकाएक वस्तीमा आगलागी हुन्छ । वस्तीमा कोलहाल मच्चिन्छ ।
मानिसहरु घरबाहिर निस्केर कराउँछन् । एउटा दुईटा हुँदै कयौं घर टहरामा आगो लाग्छ । कोही आगो निभाउन लाग्छन्, कोही घरभित्र फसेकाहरुलाई बाहिर निकाल्न खोज्छन् ।

आगलागी भएको खबर सुनेर दमकलसहित सुरक्षाकर्मीहरु आइपुग्छन् र आगलागी नियन्त्रण र उद्दारमा खटिन्छन् । घरभित्र फसेकाहरुको उद्दार गरेर बाहिर निकालिन्छ । घाइतेहरुलाई तत्काल प्राथमिक उपचार शुरु हुन्छ । बढी घाइते भएकालाई एम्बुलेन्समा राखेर अस्पताल पठाइन्छ । आगो निभाउन दमकल पनि आइपुग्छ । सबै मिलेर आगो निभाउन थाल्छन् । कोही नदी किनारमा बाल्टी लगायतका घरेलु सामानबाट आगलागी नियन्त्रणको प्रयास गर्छन, कोही अग्नि प्रतिरोधात्मक सामग्रीको मद्दतले आगलागी निभाउन लागि पर्छन् । केहीबेरको निरन्तर प्रयासले आगलागी नियन्त्रण हुन्छ । केही समय अघि गुल्जार रहेको वस्ती आगलागी नियन्त्रणपछि उराठ हुन्छ । समयमै विपद नियन्त्रण हुनाले अरु घरहरु सुरक्षित हुन्छन् । ठूलो जनधनको क्षति हुनबाट बच्छ ।

लगत्तै मस्र्याङदीको किनारमा कोही महिला चिच्याएको आवाज आउँछ । लौन मेरो बुढालाई खोलाले बगायो, कोही आएर बचाइदिनुस् भनेर एक महिला रोइरहेकी हुन्छिन् । खोला किनारमा जम्मा भएका स्थानीयले खोलाले बगाएको मानिसलाई उद्दार गर्न खोज्छन् । केहीबेरमै उद्दारका लागि सुरक्षाकर्मी आइपुग्छन् र डुंगाको मद्दतले खोलामा पसेर खोलाले बगाएको मान्छेको उद्दार गरेर किनारमा ल्याउँछन् ।
सोमबार लमजुङको बेसीशहर नगरपालिका वडा नं. १ मा रहेको मध्यमस्र्याङदी जलविद्युत परियोजनाका बाँधस्थल नजिकै देखिएको दृष्य हो यो । कुनै चलचित्रमा देखिने जस्तै देखिएको यो दृष्य वास्तविक भने थिएन, कृत्रिम थियो । नेपाली सेनाले गरेको प्रदेशस्तरीय विपद् प्रतिकार्य नमूना अभ्यासको दृष्य थियो यो । हेर्दा वास्तविक जस्तै लाग्ने गरी गरिएको यो विपद् प्रतिकार्य नमूना अभ्यास गण्डकी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, पश्चिम पृतना हेडक्वाटरको सहकार्य, समन्वय तथा चण्डीप्रसाद गण लमजुङको संयोजनमा गरिएको थियो ।

नमूना अभ्यास हेर्दा भने वास्तविक जस्तै देखिएको थियो । कुनै चलचित्रको पर्दामा देखिने जस्तै दृष्य त्यहाँ देखिएको थियो । डुम्रे बेसीशहर चाम सडकसंगै रहेको मध्यमस्र्याङदीको जलाशयको किनारमा गरिएको कृत्रिम अभ्यासको दृष्य देखेर बसमा यात्रा गरेका यात्रुसमेत बस रोकेर हेर्न झरेका थिए । पैदल यात्रुहरुले नहेर्ने त झन कुरै भएन ।
नमूना अभ्यासका लागि नेपाली सेनाको चण्डी प्रसाद गणले केही दिन अघिदेखि मस्र्याङ्दी नदी किनारामा अस्याथी संरचना बनाएको थियो । खरले छाएका घर टहरा नदी किनारमा बनेको देख्दा कसैले रिसोर्ट पो बनायो कि भन्ने भ्रम पर्ने गरी सेनाले तयारी गरेको थियो । सोही स्थानमा आगलागी, भुकम्प, बाढिपहिरो लगायतका विपद्मा गरिने उद्धार र खोज तथा उचारका विषयमा केन्द्रीत रही नमूना अभ्यास गरिएको थियो ।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेत, प्रदेश सभाका सदस्यहरु डा टकराज गुरुङ, भेषबहादुर पौडेल, पश्चिम पृतनाका पृतनापति उपरथी दीपक कुमार बानिया, गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक बुद्धिराज गुरुङ, लमजुङका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी लगायत लगायत सुरक्षा अधिकारी, बेसीशहर, मध्यनेपाल, सुन्दरबजारका नगरप्रमुखहरु क्रमशः गुमानसिंह अर्याल, रमेशकुमार पाण्डे, कृष्ण कोइराला, मस्र्याङदी, दोर्दी र क्व्होंलसोंथार गाउँपालिकाका अध्यक्षहरु क्रमशः अर्जुन गुरुङ, युवराज अधिकारी, सुर्यप्रसाद गुरुङलगायत जनप्रतिनिधि, स्थानीय समाजसेवी, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, स्थानीय बासीन्दाहरुको उल्लेख्य सहभागिता थियो ।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नमूना अभ्यास विपदका बेला हुन सक्ने सम्भावित घटनामा उद्धार, खोज, उपचार र पुनस्र्थापनाका लागि मात्र नभइ विपद जोखिम न्यूनीकरण, रोकथाम र नियन्त्रणका लागि स्थानीय तहलाई सक्षम बनाउन उपयोगी हुने बताए । उनले गण्डकी प्रदेशले विगतमा थुप्रै विपद्को सामना गर्दै आएको भन्दै विपदमा परेका नागरिकको उद्धार, राहत र पुनर्स्थापनाका लागि प्रदेश सरकार सदैव सचेत रहेको बताए ।

पृतनापति दीपककुमार बानियाँले नेपाली सेनाले विपद्को समयमा खेल्दै आएको भूमिका बारे प्रकास पारेका थिए । लमजुङका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले विगतमा पनि थुप्रै विपद्को सामना गरेको लमजुङले विपद् रोकथाम, नियन्त्रणका साथै विपद्पछिको उद्धार, राहतमा सबैसंगको सहकार्य, समन्वयमा काम गर्दै आएको भन्दै नमूना अभ्यासले विपदका बेला ठूलो सहयोग पुग्ने विश्वास ब्यक्त गरे ।