बेसीशहरमा पांचौं मेयर कप फुटवल प्रतियोगीता शुरु, उद्घाटन खेलमा वडा नंं ४ बिजयी

खबरकुञ्ज

बेसीशहर, मंसिर ११ । बेसीशहरको सहजी खेल मैदानमा मंगलबारदेखि पांचौं मेयर कप वडा स्तरीय फुटवल प्रतियोगीता २०८१ आजबाट शुरु भएको छ ।

बेसीशहर नगरपालिकाको प्रायोजनमा बेसिशहर नगर खेलकुद विकास समितिको आयोजनामा प्रतियोगिता शुरु भएको हो । बेसीशहरका ११ वटै वडाका टीम सहभागी प्रतियोगिताको बेसीशहरका नगरप्रमुख गुमानसिंह अर्यालले आज दिउसो सहजी खेलमैदानमा एक समारोहबीच उद्घाटन गरे । आजको उद्घाटन खेलमा वडा नंं ७ लाई शुन्यका विरुद्ध १ गोल गर्दै वडा नंं ४ विजयी भएको छ ।

प्रतियोगितामा विजेता टीमले नगद १ लाख, शिल्ड, स्वर्ण पदक र प्रमाणपत्र पाउने छ । उपविजेताले नगद ५० हजार, रजत पदक र प्रमाणपत्र पाउने छ । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी, र सर्वाधिक गोलकर्तालाई समेत जनही ५÷५ हजार रुपैयाँ पुरस्कार दिइने छ । त्यसैगरि उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट स्ट्राइकरलाई जनही २÷२ हजार, स्वर्णपदक र प्रमाणपत्र दिइने छ ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई छनोट गरी आगामी पुसमा बेसीशहरमा सञ्चालन हुने गण्डकी प्रदेशकै सर्वाधिक पुरस्कार राशीको त्रिवेणी कप राष्ट्रब्यापी फुटबल प्रतियोगितामा नगरपालिकाको टीमबाट सहभागी गराइने नगर खेलकुद विकास  समितिले जनाएको छ ।

प्रतियोगिता अन्तर्गत बुधवार तीन खेल हुनेछन् । बुधवारको पहिलो बिहान ११ बजे वडा नंं ९ र ११ बीच हुनेछ । बुधवारको दोस्रो खेल वडा नंं २ र ३ बीच मध्यान्ह १२ बजे र तेस्रो खेल वडा नंं १ र ८ बीच दिउसो १ बजे हुनेछ । प्रतियोगिता मंसिर १५ गतेसम्म सञ्चालन हुने छ ।

गत बर्ष आयोजना भएको चौथो मेयर कप फुटबल प्रतियोगिताको उपाधि वडा नं. १ उदिपुरले जितेको थियो । प्रतियोगिताको फाइनल खेलमा वडा नं. १० लाई ३–२ गोल अन्तरले पराजित गर्दै वडा नंं १ उदिपुरले उपाधी जितेको थियो ।


प्रतिक्रिया