बेसीशहर । गण्डकी प्रदेश मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गाँजा खेती र घरेलु मदिरा लाई वैधानिक बनाएर प्रदेशको समृद्धिमा टेवा पुर्याउने आफ्नो पुरानो भनाईलाई पुनः दोहोर्याएका छन् ।
मुख्यमन्त्री पाण्डेले प्रदेशसभामा यस सम्बन्धी विधेयक ल्याउन लागेको समेत जानकारी दिएका छन् । आइतबार बेसीशरमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै उनले उनले गाँजा खेती र लोकल रक्सीलाई वैधानिक बनाउने सम्बन्धी विधेयकको मस्यौदा तयार हुँदै गरेको बताए ।
गण्डकी प्रदेशले बनाउन लागेको दोस्रो पञ्चवर्षीय योजना तर्जुमा सम्बन्धमा सरोकारवालासँग बेसीशहरमा गरिएको छलफल कार्यक्रममा बोल्दै कांग्रेस केन्द्रीय सदस्य समेत रहेका पाण्डेले यस अघि नै प्रदेश सरकारको नीति तथा कार्यक्रममा गाँजा खेती र घरेलु रक्सीलाई बैधानिकता दिएर बजारीकरण गर्ने कुरालाई समेटिएको भन्दै अहिले त्यही कुरालाई समेटेर विधेयक बन्दै गरेको र छिटै प्रदेश सभामा पेश भइ पारित समेत हुने दावी गरे ।
गाउँघरका पाखा मात्र नभइ खेतीयोग्य फाँटहरु पनि बाँझै रहेको अवस्थामा गाँजालाई बैधानिकता दिन सकिए बाँझै रहेका खेतबारी समेत उपयोग भइ खेती हुन उनले बताए ।
पाण्डेले युरोप तथा अमेरिकामा गाँजा खेती हुन हुने तर नेपालमा हुन किन नहुने भनि प्रश्न गरे । उनले गाँजामा औषधीय गुण हुने र यसको डाँठको बोक्राबाट कपडासमेत बन्ने भएकाले यसलाई प्रबद्र्धन गर्नका लागि कानुन बनाउन लागिएको प्रष्ट पारे । उनले गाँजाको दुरुपयोग हुन नदिनेतर्फ आफ्नो चिन्ता रहेको भन्दै नियमन गर्नका लागि छुट्टै संयन्त्र बनाउन सकिने धारणा राखे ।
उनले स्थानीय स्तरमा उत्पादन हुँदै आएको मदिराको गुणस्तरमा ध्यान दिएर यसलाई वैधानिकता दिन सके करोडौं रुपैयाँ विदेशिनबाट रोकिने र स्थानीयको आय आर्जनमा समेत बृद्धि हुने बताए । ठूला ठूला उद्योगपतिहरुले लोकल रक्सीको ठूलो उद्योग खोल्नका लागि अनुमति माग गरिरहेको भन्दै उनले लोकल रक्सीको उद्योग खोल्ने नभइ घरघरमा रक्सी बनाएर विक्री गरी छोराछोरी पढाउने र जिविकोपार्जन गर्नेहरुलाई लक्षित गरी रक्सी ब्रान्डिङ गर्ने कानुन ल्याउन लागेको स्पष्ट पारे ।
पाण्डेले गण्डकी प्रदेशमा जनजातिहरुको बाहुल्यता रहेको र अधिकांश जनजातिको घरघरमा रक्सी उत्पादन हुने गरेको तर लुकेर रक्सी बनाउने र खुला रुपमा सेवन गर्नुपर्ने अवस्थाको अन्त्य गरिनुपर्ने बताए । कि त संघ सरकारले कुनै पनि रक्सी उत्पादन तथा आयातमा प्रतिबन्ध लगाउनु पर्छ कि लाेकल रक्सीलाइ पनि मान्यता दिनुपर्छ भन्दै उनले स्थानीय मदिराको ब्राण्डिङ गर्दा घरघरमा आम्दानी हुन गइ प्रदेशकै समृद्धिमा सहयोग पुग्ने धारणा राखे ।
मुख्यमन्त्री पाण्डे गण्डकी प्रदेश गण्डकी प्रदेश नीति तथा योजना आयोगले आइतबार बेसीशहरमा आयोजना गरेको दोस्रो पञ्चवर्षीय योजनासम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै थिए । उनले आगामी हिउँदे अधिवेशनबाट बाहुमतले यो विधेयक पास गराउने विश्वास समेत ब्यक्त गरे । सो अवसरमा मुख्यमन्त्री पाण्डेले गाउँघरबाट शहरतर्फ बसाइँसराइको क्रम डरलाग्दो अवस्थामा रहेको भन्दै गाउँबाट जनशक्ति बाहिरिने अवस्थाको अन्त्यका लागि प्रदेश सरकारले गाउँघरमा शिक्षा, स्वास्थ्य र रोजगारको ब्यवस्था मिलाउने गरी पञ्चबर्षिय योजना ल्याउन लागेको जानकारी दिए ।
कार्यक्रममा गण्डकी प्रदेश सभाका सदस्यहरू टकराज गुरूङ, भेषबहादुर पाैडेल, पार्वती तामाङ, यशाेदा रिमाल, टीका बस्याल, गण्डकी प्रदेश नीति तथा याेजना आयाेगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकाेटा गजिल्ला समन्वय समिति लमजुङका प्रमुख पूर्णबहादुर गुरूङ, बेसीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्याल, मध्यनेपाल नगरपालिकाका मेयर रमेश पाण्डे, सुन्दरबजार नगरपालिकाका मेयर कृष्ण काेइराला, राइनास नगरपालिकाका मेयर खडकबहादुर गुरूङ लगायत जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरूकाे सहभागिता थियाे ।