बेसीशहर, साउन १२ गते । लमजुङको मध्यनेपाल नगरपालिका वडा नं ७ भाटबेशीमा पहिरोले धन्सार भत्किँदा त्यहाँ सुतिरहेका एकै परिवारका दुई जनाको पुरिएर मृत्यु हुनुका साथै दुई जना घाइते भएका छन् ।
गएराती करिब साढे २ बजे स्थानीय चितीखोलाबाट भाटबेसीतर्फ ल्याइएको कुलो भत्केर पहिरो खस्दा स्थानीय विष्णुदत्त सुवेदीको ढुंगामाटोले बनेको २ तले धन्सार भत्केको थियो । सोही धन्सारमा सुतीरहेका ४ जना पुरिएकामा दुई जनाको उपचारको क्रममा मृत्यु भएको हो ।
मृत्यु हुनेमा लमजुङको मर्स्याङदी गाउँपालिका वडा नंं १ नायुँ स्थायी घर भई भाटबेसी बस्दै आएका ५९ बर्षका टिकबहादुर वि.क. र उनकी छोरी १५ बर्षिया विनिता वि.क. रहेका छन् । धन्सारमै सुतिरहेका टिकबहादुरकी श्रीमति ५० बर्षकी सुककुमारी वि.क. र जेठी छोरी अस्मिता वि.क. पहिरोमा पुरिएर गम्भीर घाइते भएका छन् ।

राती अचानक पहिरोले धन्सार भत्केको खबर पाएपछि इलाका प्रहरी कार्यालय भोर्लेटारका प्रमुख प्रहरी निरीक्षक ध्रुबप्रसाद शर्मा सहितको प्रहरी टोली र स्थानीय घटनास्थल पुगी उद्दार गरेका थिए । प्रहरी र स्थानीयले पहिरोले पुरिएका वि.क. परिवारलाई उद्दार गरी रामबजारस्थित स्वास्थ्य चौकीमा ल्याएका थिए । उनीहरूकाे स्वास्थ्य चाैकीमा प्राथमिक उपचार गराई थप उपचारका लागि राती नै गण्डकी अस्पताल पोखरा पठाइएकोमा अस्पतालमा उपचारको क्रममा बिहान साढे ५.५५ बजे टिकबहादुर विक र विनिता विकलाई अस्पतालका चिकित्सकले मृत घोषणा गरेका थिए ।
धन्सारमा पुरिएकी टिकबहादुरकी श्रीमति सुकमाया विक र जेठी छोरी अस्मिता विकको सोही अस्पतालमा उपचार भइरहेको छ । दुवैको शरीरमा भित्री चोट रहेको र अवस्था मध्यम रहेका जिल्ला प्रहरी कार्यालय लमजुङले जानकारी दिएको छ ।
खबरकुञ्ज