लमजुङमा यसरी मनाइयाे १५ असार र राष्ट्रिय धान दिवस

१५ असार र राष्ट्रिय धान दिवसको अवसरमा लमजुङमा धान दिवस मनाइएको छ । ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधिः धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ आज मध्यनेपाल नगरपालिकाको चर्दीफाँटमा २० औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको छ ।

कृषि ज्ञान केन्द्र लमजुङ, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, मध्यनेपाल नगरपालिका र नागभैरब बहुद्देश्यीय सहकारी संस्था लि.को संयुक्त आयोजनामा राष्ट्रिय धान दिवस र रोपाइँ महोत्सव गरिएको हो ।


महोत्सवमा मध्यनेपाल नगरपालिकाको चर्दीफाँटमा स्थानीय किसानका साथमा प्रतिनिधि सभाका सदस्य पृथ्वीसुब्बा गुरूङ, लमजुङको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, मध्यनेपाल नगरपालिकाका उपप्रमुख सीता गुरूङ, कृषि ज्ञान केन्द्रका प्रमुख सुदिप खतिवडा, प्रहरी नायब उपरीक्षक प्रकास श्रीमल, कृषि ज्ञान केन्द्रका कृषि अर्थविज्ञ मदन रेग्मी, मध्यनेपाल नगरपालिकाका प्रवक्ता रामचन्द्र भण्डारी लगायत जनप्रतिनिधि, कर्मचारीहरूले खेतमा नाच्दै गाउँदै रमाउँदै धान रोपेका थिए ।



खेतमाथि पञ्चेबाजा घन्किएको थियाे, तल्लो गरामा चारहल गोरू खेतका गह्रा हिल्याउदै साउँदै थिए । बाउसे, रोपारेहरू आपसमा हिलो छेपाछेप गरेर रमाइरहदा मध्यनेपालकाे चर्दीफाँट निकै रमाइलाे भएकाे थियाे ।

शुक्रबार चर्दीफाँटमा बाजागाजाको साथ धुमधामका साथ असारे भाकाका गीतहरू गाउँदै, ब्याडे, बाउसे र रोपारेहरू हिलो छ्यापाछ्याप गर्दै धान दिवस र १५ असार रोपाइँ मात्रै गरेनन्, शुभकामना आदनप्रदान गरी आपसी सद्भाव ब्यक्त गरी दहीच्युरा पनि खाए ।



कार्यक्रममा नेपालमा धान खेतीको महत्व, धान खेतीको अवस्थाबारे चर्चापरिचर्चा पनि गरिए । प्रमुख खाद्यन्न बाली भए पनि धानको खेती नेपाली किसानका लागि घाटाको खेती भएकोसम्म चर्चा कार्यक्रममा गरियो । यद्यपी कार्यक्रममा रैथानेबाली जोगाउने बिषयमा धेरैको ऐक्यबद्धता रह्यो । 

कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य पृथ्वीसुब्बा गुरुङले नेपालको प्रमुख उत्पादन धान भए पनि गाउँघरमा खेतहरु बाँझै रहेकोमा चिन्ता ब्यक्त गरे । उनले गाउँमा खेत बाँझै हुने र बेसीका फाँटहरु शहरीकरणले मासिदै जाने क्रम बढिरहे मुलुकमा खाद्यान्न संकट भइ सबै अन्नहरु विदेशबाट आयात गर्नुपर्ने अवस्था आउन नदिन अहिल्यैबाट सचेत हुनुपर्नेमा जोड दिए । उनले मुलुकको कूल ग्राहस्थ उत्पादनको ५ प्रतिशत धानले लिने भन्दै धानको खेती उपेक्षामा परेकोमा चिन्ता जनाए ।

लमजुङका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले  किसानहरुको हौसला र उत्साह बढाउन राष्ट्रिय धान दिवस मनाउनु राम्रो पक्ष भएको भन्दै किसानका लागि सेवा सुविधा पुर्‍याउन र नीतिगत कुरा गर्न विज्ञहरु एकैछातामुनी रहनु पर्नेमा जोड दिए । उनले सरोकारवाला निकायहरु केही संघ, कोही प्रदेश र पालिका मातहत हुँदा समस्या उत्पन्न भएको भन्दै किसानका लागि हुने कामहरु एकद्वार प्रणालीबाट हुनुपर्ने र यसका लागि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा कृषि ज्ञान केन्द्र लमजुङका प्रमुख सुदिप खतिवडाले राष्ट्रिय धान दिवसको औचित्यबारे प्रकास पार्दै लमजुङमा हाल ९ हजार हेक्टर जमीनमा धानखेती हुँदै आएको र धान खेती, उत्पादन र खेतीहुने क्षेत्रफल घटे पनि उत्पादकत्वमा फरक नपरेको जानकारी दिए । उनले बाँझो जग्गामा खेती गर्न र उत्पादित वस्तुको वजारीकरणका लागि ज्ञान केन्द्रले भूमिका खेल्ने बताए ।

उनले रैथाने जातको उत्पादनमा जोड दिँदै लमजुङको माटोमा गण्डकी प्रदेशमा पाइने सबै खालको धानको उत्पादन हुने जानकारी दिए ।

कार्यक्रममा मध्यनेपाल नगरपालिकाका उपमेयर सीता गुरुङ, प्रवक्ता रामचन्द्र भण्डारी, वडा नं. ३ को वडाध्यक्ष केशव न्यौपाने लगायतले धान दिवस र धानखेतीको महत्व, वर्तमान अवस्थाका बारेमा मन्तब्य राखेका थिए ।

कार्यक्रममा खेतको हिलोमा महिला तथा पुरुषहरुको दौड, माछा समात्ने खेलहरु आयोजना गरिएको थियो । खेलमा विजयी हुनेहरुलाई पुरस्कारको समेत ब्यवस्था गरिएको थियो ।

प्रतिक्रिया