बेसीशहर। रोजगारीको सिलसिलामा युएईमा पुगेका लमजुङेहरूकाे संस्था लमजुङ समाज युएईले बेसीशहरमा निर्माणाधीन मानवसेवा आश्रमको भवनका लागि १ लाख ६० हजार रुपैयाँ सहयोग पठाएको छ ।
लमजुङ समाज युएईसहित १८ जना व्यक्तिहरुले संकलन गरेर उक्त रकम आश्रमको सहयोगका लागि पठाएका हुन् । उक्त रकम सोमबार एक कार्यक्रमको आयोजना गरी मानवसेवा आश्रम भवन निर्माण समितिलाई हस्तान्तरण गरिएको छ । संविधान सभा सदस्य जमिन्द्रमान घले, लमजुङ समाज युएईका अध्यक्ष शिवजंग गुरुङ, उपाध्यक्ष नरेश रिमाल साथै लमजुङ समाज युएईका पदाधिकारीका जिल्लास्थित परिवारका तथा सदस्यले भवन निर्माण समितिका अध्यक्ष मोहनबहादुर थापा, आश्रमका संयोजक अनिता अधिकारीलगायतलाई सो रकम हस्तान्तरण गरेका छन् ।
रकम हस्तान्तरण कार्यक्रममा बोल्दै संविधान सभा सदस्य जमिन्द्रमान घलेले मानवीय सेवामा समर्पित मानवसेवा आश्रमको भवन निर्माणमा सवैले सहयोग गर्न आवश्यक रहेको भन्दै यस मानवता प्रबद्र्धन महाअभियानमा सेवाभाव लिएर मानवसेवा आश्रमसंग लमजुङभित्र र बाहिरका धेरै शुभचिन्तकहरु जोडिएको उनले बताए ।
सहयोग रकम हस्तान्तरण गर्दै लमजुङ समाज युएईका अध्यक्ष शिवजंग गुरुङले आफूहरुले मानवसेवा आश्रमको भवन निर्माणका लागि आफ्नो कर्तव्यमात्रै निर्वाह गरेको बताए । उनले आपतविपदमा परेका, असाहय, आर्थिक अवस्थाले नाजुक भएर उपचार लिन नपाएका, भूकम्प, बाढीपहिरोलगायत विपद्बाट पीडित तथा उनका परिवारलाई संस्थाले सहयोग गर्दै आएको जानकारी दिए ।
कार्यक्रममा क्व्होलासोथार गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङ, जिल्ला समन्वय समितिका उपप्रमुख बुनाकुमारी रिमाल, प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष गणेश पाण्डेलगायतले शुभकामना मन्तव्य राख्दै मानवीय सेवा र मानवीय कर्ममा सवै एकजुट हुन आग्रह गरेका थिए ।