नेकपा एमाले लमजुङकाे नवाैं जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा

बेसीशहर, चैत १४ । नेकपा एमाले लमजुङको यही चैत १६ र १७ गते बेसीशहरमा हुने नवौँ जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको सो पार्टीले जनाएको छ । 

अधिवेशनको तयारीका सन्दर्भमा सो पार्टीको प्रचारप्रसार उपसमितिले बुधवार बेसीशहरमा गरेको पत्रकार सम्मेलनमा अधिवेशनको तयारीका बारेमा जानकारी गराइएको हो ।

कार्यक्रममा बोल्दै नेकपा एमाले केन्द्रीय समितिका सदस्य एवं नेकपा एमालेको भगिनी संस्था अनेमसंघका केन्द्रीय अध्यक्ष टुका हमालले कुनै पनि पार्टीको संगठन सुदृढिकरणका लागि अधिवेशन अति आवश्यक रहेको चर्चा गर्दै पार्टीको आन्तरिक संगठन सुदृढीकरण गर्दै पार्टीलाई नयाँ स्वरुप र उर्जाका साथ अगाडि बढाउन जिल्ला नेतृत्वलाई आह्वान गरिन् । उनले पार्टी विधानमा महिला, दलित, आदिवासी जनजाति, अपाङ्ग लगायत सबैको प्रतिनिधित्व सुनिश्चित गरिएकोले खुलेर नेतृत्वमा आउन आग्रह गरिन । 

पत्रकार सम्मेलनमा बोल्दै जिल्ला कमिटीका अध्यक्ष कृष्णप्रसाद अधिकारीले आन्तरिक संगठन सुदृढीकरण गर्दै पार्टीको जिल्ला, पालिका र वडाका अधिवेशनहरु गर्दै पार्टीलाई नयाँ स्वरुप र उर्जाका साथ अगाडि बढाउने अभियान चलिरहेको र प्रतिनिधि छनौट तथा पार्टी संगठनका अन्य आन्तरिक कामहरुको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । 

पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार नेकपाा एमाले लमजुङको जिल्ला अधिवेशनमा  ५ सय ३७ प्रतिनिधिले भाग लिने छन् । आयोजक कमिटी अन्तर्गत जिल्ला कमिटीका १ सय ७, सल्लाहकार परिषद्बाट १०, लेखा कमिटीबाट ६ र जनसंगठनबाट ४५ जना प्रतिनिधि छनौट भएका छन् ।

जिल्ला अधिवेशनका लागि भूगोलअन्र्तगत बेसीशहर नगरपालिकाबाट ७७, सुन्दरबजार नगरपालिकाबाट ५३, मस्र्याङ्दी गाउँपालिकाबाट ४८, राइनास नगरपालिकाबाट ४७ रहेका छन् । त्यसैगरी, मध्यनेपाल नगरपालिकाबाट ४५, क्ब्होलासोंथर गाउँपालिकाबाट ३८, दोर्दी गाउँपालिकाबाट ४० र दुधपोखरी गाउँपालिकाबाट २१ जना प्रतिनिधि छनौट भएका नेकपा एमाले लमजुङले जनाएको छ ।

अधिवेशन प्रचारप्रसार उपसमितिकोे संयोजक कृष्ण के.सीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले केन्द्रीय समितिका सदस्य एवं लमजुङ इञ्चार्ज रामशरण बस्नेत, केन्द्रीय सदस्य एवं लमजुङका सबै पालिकाका इञ्चार्ज जमिन्द्रमान घले, गण्डकी प्रदेश कमिटीका सचिव धनञ्जय दवाडी, गण्डकी प्रदेश कमिटीका सदस्य प्रेमबहादुर घले, पुर्व सदस्य गुमानसिंह अर्याल, जिल्ला कमिटीका उपाध्यक्ष एवं प्रदेश सभा सदस्य यशोदा रिमाल, सचिव  शुभाष पौडेल लगायतको उपस्थिति रहेको थियो ।      


प्रतिक्रिया