दूधपापेखरी पदमार्गमा राखियाे संकेत चिन्ह र मुख्य ठाउँहरुको नाम तथा उचाई अंकीत बाेर्ड

मिलन शर्मा दनाई

बेसीशहर, भदौ ५ गते । दूधपोखरी गाउँपालिकाको जोर्ने बजारदेखि धार्मिक तथा पर्यटकीय दूधपापेखरी कुण्डसम्मकाे पदयात्रामा त्यहाँ घुम्न जाने पर्यटक तथा तीर्थयात्रीहरुको सहजताका लागि नक्सा तथा संकेत चिन्ह, मुख्य ठाउँहरुको नाम र उचाई अंकीत बाेर्ड राखिएकाे छ ।

बिगत केही बर्षदेखि दूधपोखरी केन्द्रीत पर्यटन प्रवद्र्धन र दूधपोखरी संरक्षण तथा समग्र दुधपोखरी र किस्तपोखरीको प्रचारप्रसार र पर्यटन बिकासको निमित्त विभिन्न कार्यक्रमहरू गर्दै आइरहेको बिचौरको भुम्लीचोक युवा क्लवले यो काम गरेको हो ।


क्लवले जोर्ने बजार देखि किस्तपोखरी / दुधपोखरी सम्मको पदमार्गमा नक्सा अंकित बोर्ड, पदचिन्ह, महत्वपूर्ण ठाउँहरुको नाम अंकित बोर्ड म्याप, संकेत चिन्ह, बिभिन्न ठाउँहरुको नाम र त्यस ठाउँको उचाई समेत खुल्ने गरी ठाउँ ठाउँमा बोर्डहरु राखेको छ ।

दूधपोखरी मानव वस्तीबाट निकै टाढा छ । बौद्ध हिमाल र हिमालचुली हिमालको काखमा ४३९३ मिटरको उचाइमा पर्ने दूधपोखरी जाने पदमार्ग स्पष्ट छैन  । धार्मिक एवं पर्यटकीय महत्वको क्षेत्र र बर्षेनी सयौं तीर्थयात्रीहरु दूखपोखरी नुहाउन जाने भए पनि कुनै पनि सरकारी निकायले दूधपोखरी जाने पदमार्गका लागि लगानी नगर्दा त्यहाँ जाने बाटो स्पष्ट नभएकाले क्लवको सक्रियतामा दूधपोखरी जाने बाटोमा बोर्ड राखेर उक्त रुटको नक्सांकन गर्ने र संकेत तथा चिन्हहरु राखिएको क्लवका पूर्व अध्यक्ष राजकुमार गुरुङले जानकारी दिए ।


पूर्व अध्यक्ष गुरुङले भने– “यसबारे सरकारले सोच्नुपर्ने हो, अहिले त स्थानीय सरकार पनि छ, तर कतैबाट पनि यसमा पहल भएन । आफ्नो ठाउँको लागि काम गर्ने जिम्मेवारी हाम्रो पनि हो भन्ने ठानेर चन्दा सहयोग संकलन गरी यो काम गरेका हौं ।”

यो कामका लागि क्लवले १ लाख ५० हजार भन्दा बढी खर्च गरेको छ । क्लवका कतिपय सदस्यले ब्यक्तिगत रुपमा पनि खर्च गरेका छन् । गुरुङले भने– “नक्सासहितको बोर्ड, संकेत चिन्हहरु बनाउँदा मात्र ८३ हजार र त्यसको ढुवानीका लागि ६० हजार रुपैयाँ खर्च लागेको छ ।”

पूर्व अध्यक्ष गुरुङले यस कार्यमा सहयोग गर्ने क्लवका पदाधिकारी तथा सदस्यहरु, शुभचिन्तक लगायत सहयोगी चन्दादाताहरुको कारण काममा सफलता प्राप्त भएकोमा सन्तोष ब्यक्त गर्दै धन्यवाद समेत दिए । उनले भने– “कम्तीमा पनि अब दूधपोखरी जाँदा पदयात्रीहरुले बाटो बिराउने छैनन् । सबैको सहयोगका लागि आभारी छौं ।”

सरकारले गर्नुपर्ने काम एउटा क्लवले गरेको भन्दै क्लवको यस कार्यको सर्वत्र प्रशंसा गरिएको छ ।पदयात्रा स्पष्ट नहुँदा दूधपोखरी नुहाउन जाने धेरै भक्तजनहरुले यस अघि बाटो विराएर धेरै दुःख पाउने गरेका थिए । कतिपय बाटो विराएर हराएका पनि छन् ।

जनैपूर्णिमामा सयौं तीर्थयात्री दूधपोखरी जान्छन् । जनैपूर्णिमामा दूधपोखरीमा ठूलो धार्मिक मेला लाग्छ । अन्य समयमा फाटफूट रुपमा पदयात्रीहरु दूधपोखरी पुग्ने गर्छन् । दूधपोखरीमा बर्षातका बेला जान सकिए पनि हिउँदमा हिउँ परेर जान सकिदैन । धेरै उचाइमा रहेकाले कम उचाइको तल्लो भेगबाट जानेहरुलाई लेक लाग्ने सम्भावना पनि हुन्छ ।

दूधपोखरी पुग्न लमजुङेहरुका लागि ३ दिन र काठमाडौं पोखरा वा चितवनबाट आउँदा चार दिन लाग्छ । काठमाडौं तथा पोखराबाट गाडीमा लमजुङको पाउँदी राइनासकोट, प्यारजुङ, गौंडा हुँदै जोर्नेमा बास बस्नुपर्छ । 

दूधपोखरी गाउँपालिकाको जोर्नेबाट पैदल यात्रा गर्नुपर्छ । जोर्नेबाट शुरु हुने पदयात्रा इलमपोखरी लिपेडाँडा हुँदै म्रफ्रेदुुमा पहिलो दिन बास बस्नु पर्छ । दोस्रो दिन चिमालडाँडासम्म पुगेर बास बसेपछि तेस्रो दिन त्यहाँबाट ३ घण्टा हिँडेपछि दूधपोखरी पुगेर फर्केर पुनः चिमालडाँडामा बास बस्न सकिन्छ । चिमालडाँडाबाट ३० मिनेटको दुरीमा अर्को सुन्दर कुण्ड किस्तापोखरी पुगिन्छ । दृष्यावलोकनका लागि किस्तापोखरी पनि अद्वितीय स्थान हो ।

चिमालडाँडामा बस्नका लागि धर्मशाला पनि छ । वरीपरी भेडीगोठहरु पनि पाइन्छन्, त्यहाँ बास बस्न पनि पाइन्छ । फर्कदा भने ओरालो बाटो हुनाले दुई दिनमै फर्कन सकिन्छ । 

लमजुङबाहेक गोरखा, तनहूँ, चितवनदेखिका तीर्थयात्री दूधपोखरी नुहाउन जान्छन् । महादेवको बासस्थान रहेको किंवदन्ती रहेको दूधपोखरीमा जनैपूर्णिमाका अबसरमा नुहाए सम्पूर्ण पापबाट मुक्त भइ मोक्ष प्राप्त हुने धार्मिक विश्वास रहँदै आएको छ ।

दूधपोखरी वरपर धार्मिक तथा पर्यटकीय महत्वका थुप्रै कुण्डहरु छन् । यस क्षेत्रमा पर्ने ईलमपोखरी, किस्तापोखरी, युलुङपोखरी, ङ्याल्मोपोखरी लगायतका कुण्डहरुको संरक्षण सम्बद्र्धन र प्रचार प्रसार गर्न सके सिंगो लमजुङको पर्यटन प्रबद्र्धनमा टेवा पुग्नुका साथै स्थानीयको आय आर्जनमा समेत टेवा पुग्ने क्लवका पूर्व अध्यक्ष गुरुङले बताए ।



प्रतिक्रिया