बेसीशहर, पुस २१ । लमजुङ बेसीशहरमा जारी ३१ औं संस्करणकाे त्रिवेणी कप फुटबलकाे उपाधि लालीगुराँस युवा क्लव भुजुङले जितेकाे छ ।
शनिबार बेसीशहरकाे त्रिवेणी रंगशालामा भएकाे फाइनल प्रतियाेगितामा बेसीशहर युथ साेसाइटीलाइ १–० काे गाेल अन्तरले पराजित गर्दै भुजुङले १९ बर्षपछि त्रिवेणी कप उचालेकाे हाे । भुजुङले यस अघि २०६१ सालमा त्रिवेणी कप जितेकाे थियाे ।
फाइनल खेलमा भुजुङका लागि ६० औं मिनेट असाध्यै महत्वपूर्ण बन्याे । जति प्रयास गरे पनि बेसीशहर बिरूद्ध गाेल गर्न नसकेकाे भुजुङका लागि उसकै खेलाडीले गाेल गर्न दुःख गर्नै परेन । बेसीशहर युथ साेसाइटीका खेलाडीकाे आत्मघाती गाेल नै भुजुङकाे जीतकाे कारक बन्याे ।
खेलकाे ५९ औं मिनेटमा भुजुङले बेसीशहरकाे डिबक्स बाहिर थ्राे पाएकाे थियाे । भुजुङका जर्सी नं २ का खेलाडी सिमान्त थापाले थ्राे गरेका थिए । लङ थ्राे गर्न सिपालु सिमान्तकाे थ्राेलाइ बेसीशहरका जर्सी नंं २३ काे आन्द्रेस मियाले हेड गरेर बललाइ फर्काउन खाेजेकाे थिए । तर दुर्भाग्य उनकाे हेडबल आफ्नै पाेष्टभित्र छिर्याे र भुजुङकाे पक्षमा गाेल भयाे । भुजुङकाे साैभाग्य, र बेसीशहरकाे दुर्भाग्य, यही गाेल नै उपाधिका लागि काफी भयाे ।
खेलमा भुजुङका खेलाडीले शुरूवातदेखि नै बेसीशहरलाइ दबाबमा राखेका थिए । खेलाडीहरूबीच उत्कृष्ट संयाेजन हुँदा हुँदै पनि भुजुङले पहिलाे हापमा गाेल गर्न सकेकाे थिएन । दाेस्राे हापमा पनि भुजुङले गाेल गर्ने अबसर थुप्रै पाएकाे थियाे, तर बेसीशहरका रक्षापंक्तिका खेलाडीले सफल हुन दिएनन् ।
फाइनल खेलमा भुजुङकाेझैं बेसीशहरका खेलाडी आक्रामक हुन सकेनन् । प्राय खेल अबधिभर बेसीशहरका खेलाडी रक्षात्मक नै देखिए । बेसीशहरका लागि जर्सी नंं ११ का आशिष चाैधरीले उत्कृष्ट खेले । उनले प्रतियाेगिताभर ३ गाेल गरे । तर फइनलमा गाेल गर्न सकेनन् ।
गण्डकी प्रदेशकै दाेस्राे ठूलाे त्रिवेणी कप प्रतियाेगिताकाे बिजेता भुजुङले नगद ८ लाख सहित त्रिवेणी कप, स्वर्णपदक र प्रमाणपत्र पाएकाे छ । उपबिजेतामा चित्त बुझाएकाे बेसीशहर युथ साेसाइटीले नगद ४ लाख रजत पदक र प्रमाणपत्र पायाे ।
सेमीफाइनल पुगेका लाङदी देवी युवा क्लव नाल्मा र अभिषेक चर्च रजहरले नगद १/१ लाख पुरस्कार पाए ।
खेलमा सर्वाधिक गाेलकर्ता सुन्दरबजार फुटबल क्लवका जर्सी नं ७ का एराेन थापा घाेषित भए । उनले प्रतियाेगिता भर ४ गाेल गरेका थिए । सर्वाेत्कृष्ट खेलाडीमा बेसीशहर युथ साेसाइटीका जर्सी नंं ६ का लक्षु थापा मगर घाेषित भए ।
प्रतियाेगिताका विजयी खेलाडीहरूलाइ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, गण्डकी प्रदेश सभाका सदस्य भेषबहादुर पाैडेल, बेसीशहरका मेयर गुमानसिंह अर्याल र त्रिवेणी युवा क्लवका अध्यक्ष राजकुमार घिमिरेले संयुक्त रूपमा कप, पदक र प्रमाणपत्र दिएका थिए ।
मिलन शर्मा दनाई