बेसीशहर । देशमा ब्यप्त भ्रष्टाचारका बिरूद्ध लमजुङमा नागरिक समाज अान्दाेलनमा उत्रिएकाे छ । हालै सार्वजनिक भएकाे नक्कली भुटानी शरणार्थी प्रकरणसहित भ्रष्टाचारका अनेकाैं काण्डले देशकै इज्जत गएकाे महशुस भइरहेका बेला भ्रष्टाचारीलाइ कडा कारबाहीकाे माग गर्दै लमजुङका नागरिकहरू सडकमा निस्किएका छन् ।
भ्रष्ट्राचार विरुद्ध नागरिक अभियान लमजुङकाे अायाेजनामा मंगलबार बेसीशहरमा विशाल विरोध प्रदर्शन भएकाे छ । बेसीशहर र अासपासका विभिन्न महिला समूह, नागरिक समाज, युवा क्लव र विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताहरू यस अभियानमा सहभागी भएका थिए । भ्रष्टाचारका विरूद्धकाे अभियानमा जाेडिएका उनीहरूले भ्रष्टाचारीहरूलाइ हदैसम्मकाे सजायकाे माग राख्दै कुनै पनि बहानामा उन्मुक्ति दिन नहुने र अहिलेसम्म बाहिर अाएका हरेक भ्रष्टाचारका काण्डकाे छानवीन गरी दाेषीलाइ कारबाहीकाे माग गरे ।
अभियानमा जाेडिएकाहरूले राजनीतिक दलकाे अाडमा मुलुकमा भ्रष्टाचार माैलाएकाे भन्दै भ्रष्टाचारकाे पछिल्लाे काण्डले देशकाे बेइज्जत भएकाे र हरेक नेपालीलाइ लज्जाबाेध भएकाे बताए । अभियानमा जाेडिएका कतिपय सहभागीले अाफै अावद्ध रहेकाे पार्टीका नेताहरू भ्रष्टाचारकाे अभियुक्त बनेर प्रहरी हिरासतमा पुगेकाे घटनाले अाफूहरूकाे शीर समेत निहुरिएकाे बताए ।
म्ंगलबार बेसीशहरमा अायाेजित भ्रष्टाचार विराेधी कार्यक्रममा भ्रष्ट्राचार विरुद्ध नागरिक अभियान लमजुङको संयोजक डाक्टर बालकृष्ण बरालले नेपाली जनाताले विश्वास गरि भोट दिएर जिताएका नेताहरुले नै भ्रष्ट्राचारमा लिप्त हुनुले सारा नेपालीकाे शीर लाजले निहुरिएकाे बताए । उनले भ्रष्टाचारकै कारण देशले प्रगति गर्न नसकेकाे र गरिब मुलुकमाे सूचीमा परेकाे भन्दै अहिलेसम्मका सबैखाले भ्रष्टाचारकाे फाइल खाेलेर न्यायीक छानवीन गरी दाेषीलाइ हदैसम्मकाे कारबाही गर्नु पर्ने माग राखे । उनले भ्रष्टाचार गर्नेहरुलाई सरकारले खुट्टा नकमाईकन कारवाही गर्नुपर्ने र खुलेकाे भ्रष्ट्राचारको फाइल बन्द नगर्न सरकारसंग अाग्रह गरे ।
नागरिक अगुवा पद्मराज घलेले जनताले जिताएर पठाएका नेताहरु नै भ्रष्ट्राचारमा लिप्त हुनुले देशमा भ्रष्ट्राचारले सीमा नाघेकाे उदाहरणा हाे भने । भ्रष्ट्राचार अन्त्यका लागि नागरिक तहबाटै अान्दाेलनकाे अावश्यकता महशुस गरी बेसीशहरमा यस्ताे कार्यक्रम गरिएकाे र यस्ता कार्यक्रमले दवाव सिर्जना हुने उनले बताए ।
अर्का नागरिक अगुवा बेनबहादुर सुयलले सरकारले भ्रष्ट्राचारीलाई जोगाउनका लागि हतकण्डा अपनाउन सक्ने भन्दै सचेत भएर खबरदारीमा उत्रन अपील गरे । उनले राजनितिको खोल ओढेर पार्टीका नाममा नेता बनेर भ्रष्टाचार गर्नेहरूलाइ कानुनी कठघरामा ल्याउन दवाव दिन लमजुङमा पनि नागरिक अभियान सुरु भएकाे बताए ।
भष्ट्राचार विरुद्ध नागरिक अभियान लमजुङको संयोजक डा.बालकृष्ण बरालको अध्यक्षतामा कार्यक्रम भएकाे थियाे । कार्यक्रम हुनु अघि बेसीशहरकाे मनाङे चाैताराबाट भ्रष्टाचार विराेधी नारा लगाउँदै विशाल र्यालीले बेसीशहर बजार परिक्रमा गरेकाे थियाे ।