सडक छिटाे छरिताे र गुणस्तरीय बनाउन माग राख्दै प्रशासनमा ज्ञापनपत्र

बेसीशहर, जेठ २ गते ।

उत्तरी लमजुङका बासीन्दाले डुम्रे–बेसीशहर–चामेसडक अन्तर्गत बेसीशहर खुदी खण्डकाे काम छिटाे छरिताे र गुणस्तरीय बनाउन माग राख्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापपत्र दिएकाे छ । बेसीशहर चामे सडक सराेकार तथा समन्वय समितिले साेमबार लमजुङका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीलाइ ज्ञापनपत्र बुझाएकाे हाे ।

समितिले चालु अार्थिक बर्षकाे असार मसान्तसम्म सडक कालाेपत्रे गरिसक्नु पर्ने सम्झाैता भए पनि सडककाे ठेक्का पाएकाे निर्माण कम्पनीले अहिलेसम्म नाला निर्माण, कटिङ वाल र सववेस राख्ने काम समेत नसकेकाे भन्दै प्रशासनकाे ध्यानाकर्षण गराएकाे छ ।

समितिले खुदीबजारमा  मर्स्याङदी गाउँपालिकाले सडक विस्तारका लागि १५ दिने सूचना प्रकाशित गरी प्राविधिक नापजाँच सम्पन्न गरी रेखांकन गरिसके पनि ठेकेदार कम्पनीले सडक निर्माणकाे काम शुरू नै नगएकाे भन्दै असन्तुष्टि जनाएकाे छ । बजारक्षेत्रकाे सडककाे दुवैतर्फ सडककाे मापदण्ड अनुसार नाला निर्माणका लागि समितिले जाेड दिएकाे छ ।

सराेकार समितिका अध्यक्ष सुर्यप्रसाद कतिला र सचिव नविनराज कुइँकेलद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा विगतमा प्रमुख जिल्ला अधिकारीकाे संयाेजकत्वमा अनुगमन समिति गठन भइ प्रत्येक महिना वैठक बसी सडक निर्माणमा भएकाे प्रगतिकाे प्रतिवेदन माग गर्ने निर्णय भए पनि साे अनुसार काम नभएकाे भन्दै प्रमुख जिल्ला अधिकारीकाे ध्यानाकर्षण गराइएकाे छ ।

ज्ञापनपत्र बुझाउन मर्स्याङदी गाउँपालिकाका पूर्व उपाध्यक्ष हाेमबहादुर वि.क., वडा नंं ३ का पूर्व वडाध्यक्ष प्रेमबहादुर बस्नेत लगायत जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।

प्रतिक्रिया