मर्स्याङ्दी गाउँपालिकाकाे जगत स्थित तातोपानी कुण्डको स्तरोन्नति

खबरकुञ्ज

बेसीशहर, बैशाख १६ गते । लमजुङकाे मर्स्याङ्दी गाउँपालिका वडा नं. ४ जगत स्थित तातोपानी कुण्डको स्तरोन्नति गरिएको छ ।

कूल २२ लाख २४ हजार ३८० रुपैयाँको लागतमा तातोपानी कुण्डको स्तरोन्नति गरिएको हो । उक्त कार्यका लागि चालु आर्थिक बर्षको गाउँपालिकाको बजेटबाट १४ लाख रुपैयाँ बिनियोजन गरिएको थियो । त्यस्तै संघ सरकारको पर्यटन तथा भौतिक पूर्वाधार मन्त्रालयबाट यस कार्यका लागि ६ लाख रुपैयाँ प्राप्त भएको थियो । तातोपानी कुण्डको स्तरोन्नतिको कार्यमा स्थानीय बासीन्दाले २ लाख २४ हजार ३८० रुपैयाँ बराबरको जनश्रमदान गरेका थिए ।

जगत बजारबाट मुन्तिर ५ मिनेटको दुरीमा मस्र्याङदी नदीको किनारमा पर्छ तातोपानी कुण्ड । यो कुण्डमा गएर शरीर डुबाउँदा बाथ, हाडजोर्नी तथा छालासम्बन्धी धेरै रोगहरु निको हुने विश्वास गरिन्छ । विशेषगरी जाडो याममा यो कुण्डमा डुबुल्की लगाउनेहरुको भीड लाग्छ । 


मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले उक्त तातोपानी कुण्डको पानीमा औषधीय गुण रहेको पाइएकाले तातोपानी कुण्डलाई थप ब्यवस्थित बनाई त्यस क्षेत्रको विकास गर्न गाउँपालिकाले पहल गरेको जानकारी दिए । उनले त्यस ठाउँमा तातोपानीको श्रोत पर्यप्त रहेको र त्यहाँको पानी तातो र औषधीय गुणसमेत भएकाले त्यस ठाउँलाई थप ब्यवस्थित बनाइएको बताए । 

विस्तारित तातोपानी कुण्डमा धेरै जनाले एकै पटक डुबुल्की लगाउन सक्छन् । यस अघि दुईवटा पोखरी रहेकोमा अहिले थप ५ वटा पोखरी बनाइएको छ । धेरै मान्छेले एकैचोटी नुहाउन/बस्न मिल्ने गरी तातोपानी कुण्डको विस्तार गरिएको उनले जानकारी दिएं । त्यहाँ नुहाउनेहरुका लागि कपडा फेर्न चेन्जिङ रुम, धाराको समेत ब्यवस्था गरिएको छ । उक्त ठाउँलाई पिकनिक स्पट र पार्क सहितको ब्यवस्थित तातोपानी कुण्ड निर्माण गर्ने योजना गाउँपालिकाको छ ।

प्रतिक्रिया