त्रिवेणी कपबाट पुलिस बाहिरियाे, लाङदी देवी र रजहर सेमीफाइनलमा

बेसीशहर, पुस १८ । विभागीय टीम नेपाल प्रहरी लमजुङ सदरमुकाम बेसीशहरमा जारी ३१ औं त्रिवेणी कप राष्ट्रब्यापी खुला नकआउट फुटबल प्रतियाेगिताबाट बाहिरिएकाे छ ।

बुधवार बेसीशहरकाे त्रिवेणी रंगशालामा भएकाे दाेस्राे क्वार्टरफाइनल खेलमा लमजुङकाे लाङ्दीदेवी फुटबल क्लवसंग ट्राइबेकरमा पराजित भएपछि नेपाल प्रहरी प्रतियाेगिताबाट बाहिरिएकाे हाे । 


खेलमा नाल्माले प्रहरीलाइ शुरूवातदेखि नै दबाबमा राख्याे । यद्यपी खेलकाे पहिलाे हापमा दुवै पक्ष गाेलरहित बराबरीमा राेकिए । नाल्माले पटक पटक माैका पाउँदा गाेल गर्न सकेन । तर दाेस्राे हापकाे २३ औं मिनेटमा पुलिसका उज्वल राइले प्रहरीका लागि पहिलाे गाेल गरेपछि दर्शकहरूकाे हुटिङ ह्वात्तै बढेकाे थियाे । पुलिसका जर्सी नंं १४ का खेलाडी प्रविन थापाले डिबक्स बाहिरबाट दिएकाे पासलाइ जर्सी नंं १८ का विकासले लाङ्दीदेवीकाे पाेष्टतर्फ चार्ज गरे । उक्त बललाइ जर्सी नंं १६ का उज्वल राइले गाेलमा परिणत गरेपछि समर्थकहरूमा खुशीकाे लहर दाैडियाे ।



तर पुलिसकाे याे खुशी धेरैबेर टिक्न पाएन । पुलिसलाइ लगातार दबाबमा राखेकाे लाङ्दी देवी नाल्माले  गाेल फर्काउने माैका खाेजिरहेकाे थियाे । नभन्दै खेलकाे ३७ औं मिनेटमा नाल्माका लागि जर्सी नंं १७ का दिपेश अाले मगरले टीमका लागि उत्कृष्ट गाेल गरेर खेललाइ बराबरीमा ल्याए । नाल्माले पाएकाे कर्नर किकलाइ सदुपयाेग गरेका उनले पुनः ४१ औं मिनेटमा अर्काे गाेल गरी टीमलाइ २–१ काे अग्रता दिलाए ।

खेल लाङ्दीदेवीले जित्नै लागेका बेला पुलिसले इन्जुरी समयमा अर्काे गाेल गरी खेललाइ पुनः बराबरीमा ल्यायाे । लगत्तै पुलिसले पाएकाे अर्काे कर्नर किकलाइ सदुपयाेग गर्दै जर्सी नं १६ का उज्वल राइले प्रहार गरेकाे बललाइ हेड गरी जर्सी नं. २ का हेमन्त श्रेष्ठले  जाली मात्र चुमाएनन्, हारिसकेकाे खेललाइ पुनः बरबारीमा ल्याए । 

निर्धारित समयमा दुवै पक्ष २–२ गाेलकाे बराबरीमा राेकिएपछि ७ मिनेट अतिरिक्त समय थप गरियाे । साे अवधिमा दुवै पक्षले गाेल गर्न सकेनन्, फलतः खेल ट्राइबेकरमा गयाे । ट्राइबेकरमा शुरूमै पुलिसका उज्वल राइले गरेकाे प्रहार क्रसबारमा ठाेकिएर फर्केपछि पुलिसका लागि दुर्भाग्य सिद्ध भयाे । त्यसकै कारण पुलिस ५–४ ले पराजित हुँदै प्रतियाेगिताबाट बाहिरियाे ।


बुधवारकै खेलमा सुन्दरबजार फुटबल क्लवलाइ ट्राइबेकरमा पराजित गर्दै अभिषेक चर्च रजहर सेमीफाइनलमा प्रवेश गरेकाे छ । खेलकाे निर्धारित समयमा दुवै पक्षबाट कुनै गाेल हुन नसकेपछि खेल ट्राइबेकरमा गएकाे थियाे । ट्राइबेकरमा सुन्दरबजारका खेलाडीहरू चुक्दा अभिषेक चर्च रजहर ४–२ गाेल अन्तरले सेमीफाइनलकाे यात्रा तय गर्न सफल भयाे ।


बिहीबार लालीगुराँस युवा क्लव भुजुङले नेपाली सेनासंग र बेसीशहर युथ साेसाइटीले एलजी एसाेसियसन पाेखरासंग सेमीफाइनल प्रवेशका लागि खेल खेल्नेछन् ।

प्रतियाेगिताकाे बिजेताले नगद ८ लाख, उपबिजेताले ४ लाख र सेमीफाइनल प्रवेश गर्ने टीमले नगद १/१ लाख रूपैयाँ पुरस्कार पाउने त्रिवेणी युवा क्लव बेसीशहरका अध्यक्ष राजकुमार घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया