बेसीशहर, माघ १३ । लमजुङ अस्पतालले ओपिडि सेवा विस्तार गर्ने भएको छ । अस्पतालले यही माघ १४ गतेदेखि २० गतेसम्म विस्तारित सेवाको परीक्षण गरी सेवा विस्तार गर्न लागेको हो ।
अस्पतालले एक सूचना जारी गर्दै विस्तारित ओपिडि सेवा बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म सञ्चालन गर्ने तयारी गरिएको जनाएको छ । यस अन्तर्गत शनिबार र सार्वजनिक विदाका दिनमा समेत ओपिडि सेवा बिहान १० बजेदेखि दिउसो १ बजेसम्मका लागि सञ्चालन गरिने अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. विशाल तिवारीले जानकारी दिए ।
डा. तिवारीका अनुसार अस्पतालको विस्तारिक ओपिडि सेवामा समेत मेडिकल अफिसरहरुले बिहानदेखि बेलुका सम्म विरामीको जाँच गर्नेछन् । यसका लागि अस्पतालले कुनै थप शुल्क समेत नलिने उनले बताए ।
अस्पतालका अध्यक्ष हरिजंग तामाङले शनिबार र विदाको दिनसमेत सेवा दिन लागिएकाले विरामीहरुले थप राहत पाउने विश्वास लिइएको र विस्तारित सेवा अन्तर्गत स्वास्थ्य विमा गरेकाहरुले विमा मार्फत नै सेवा पाउन सक्ने जानकारी दिए ।
अस्पतालको विस्तारित सेवाबाट कर्मचारी, विद्यार्थी, ब्यापार ब्यवसायी र दैनिक मजदुरी गरी जीवन निर्वाह गर्ने मजदुरहरु समेत लाभान्वित हुने विश्वास गरिएको छ ।
यसबाहेक दैनिक १० घण्टाको ओपिडि सेवाको समय हुने चिकित्सक र सेवाग्राहीहरुबीचको परामर्श सेवामा यथेष्ट समय मिल्ने, बिहानै खाली पेटमा रगत परीक्षण गर्नुपर्ने सवै सेवाग्राहीहरुलाई सहज हुने, शनिबार र सार्वजनिक विदाको दिन पनि सेवा सञ्चाल हँुदा सेवाग्राहीलार्य राहत हुने, बिहान बेलुका अन्य तोकिएका नियमित स्वास्थ्य सेवाहरु समेत लिन सकिने र कुनै कारणबस बिरामीलाई रिफर गर्नु पर्ने अवस्था भए पनि समयमै रिफर गर्न सकिने डा तिवारीले जानकारी दिए ।
डा. तिवारीले माघ १४ देखि २० गतेसम्म विस्तारित सेवाको परीक्षण गरी माघ २१ गतेदेखि यो सेवा विधिवत रुपमा विस्तार हुनेछ । परीक्षणको समयमा थप तयारी गरी माघ २१ गते विस्तारित ओपिडि सेवाको घोषणा गर्ने तयारी गरिएको उनले जानकारी दिए ।
