बेसीशहरमा ५ दिने आधुनिक मौरीपालन तालिम सम्पन्न

खबरकुञ्ज

बेसीशहर, जेठ २९ गते । ब्यवसायिक कीट विकास केन्द्र बन्दिपुरको आयोजनामा लमजुङ सदरमुकाम बेसीशहरमा ५ दिने कृषकस्तर आधुनिक मौरीपालन तालिम सोमबार सम्पन्न भएको छ ।

गत जेठ २४ गते देखि शुरु भएको तालिमको कृषि विकास निर्देशनालय पोखराका महानिर्देशक बासुदेव रेग्मीले उद्घाटन गरेकामा सोमबार एक समारोहबीच कृषि ज्ञान केन्द्र लमजुङका प्रमुख सुदिप खतिवडाले समापन गरे ।

तालिममा लमजुङ, गोरखा, तनहूँ जिल्लाका गरी ३३ जना मौरीपालक किसानहरुको सहभागिता थियो ।

तालिममा मौरी पालनकोे परिचयसहित यसको सम्भाब्यता,फाइदा, वर्तमान अवस्था, नेपालमा पाइने मौरीका जात, जीवन चक्र, कार्य विभाजन, परम्परागत मुढे घारबाट आधुनिक घारमा मौरी सार्ने तरिका, मौरीमा लाग्ने रोग कीरा र त्यसको ब्यवस्थापन, मौरी गोला निरीक्षण, घार छुट्याउने, महुरीको हुल निर्यास, गृहत्याग, मौरीको रानुको नश्ल सुधार, मौरीपालनमा बिषादीको असर र जोगाउने तरिका, चरन ब्यवस्थापन लगायतका विषयमा प्रशिक्षकहरु धनबहादुर मगर, गोविन्द मिश्र, रमेशराज पौडेल, करुणा सागर सुवेदी लगायतका प्रशिक्षकहरुले प्रशिक्षण दिएका थिए ।

तालिम उद्घाटनका अवसरमा मन्तब्य राख्दै महानिर्देश रेग्मीले नेपालमा मौरीपालनको राम्रो सम्भावना रहेको भन्दै गुणस्तरीय महको देश विदेशमा राम्रो माग भएकाले किसानले गुणस्तरीय उत्पादन दिन बजारीकरणको काम राज्यले गर्ने बताए ।

तालिम समापनका अवसरमा प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्दै कृषि ज्ञान केन्द्र लमजुङका प्रमुख सुदिप खतिवडाले सिकेको सीपलाई प्रशिक्षार्थीहरुले थोरै मात्र उपयोग गरे पनि तालिम सफल हुने विश्वास ब्यक्त गर्दै कुनै पनि ब्यवसायमा सफल हुन रणनीति चाहिने भएकाले सोही अनुसार अघि बढ्न प्रशिक्षार्थीहरुलाई आग्रह गरे । उनले उत्पादित महको बजारीकरण र प्रमाणीकरणका लागि कार्यालयको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाए ।

ब्यवसायीक कीट विकास केन्द्रका प्रमुख भवनाथ देबकोटाको अध्यक्षतामा भएको समापन कार्यक्रममा प्रशिक्षकको तर्फबाट करुणासागर सुवेदी र प्रशिक्षार्थीको तर्फबाट मिलन शर्मा दनाईले मन्तब्य राखेका थिए ।

प्रतिक्रिया