साउनकाे पहिलाे साेमबार ईशानेश्वर महादेव मन्दिरमा भक्तजनहरूकाे घुइँचाे

करापुटार, साउन ७ गते । दाेस्राे पशुपतिनाथ भनिने लमजुङकाे करापुटारमा रहेकाे ईशानेश्वर महादेव मन्दिरमा साउनकाे पहिलाे साेमबार सयाैं भक्तजनहरूकाे घुइँचाे लागेकाे छ ।

साउन महिना देवादिदेव महादेवकाे प्रिय महिना हाे । दिनमा साेमबारलाइ महादेवकाे प्रिय दिन मानिन्छ । महादेवलाइ मन पर्ने महिनाकाे पहिलाे साेमबार भएकाले याे मन्दिरमा भक्तजनहरूकाे भीड लागेकाे हाे । याे मन्दिर सन्तानेश्वर महादेवका रूपमासमेत परिचित छ ।


गण्डकी प्रदेशकै सर्वाधिक भक्तजनकाे भीड लाग्ने याे मन्दिर लमजुङकाे मध्यनेपाल नगरपालिका वडा नंं ७ करापुटारमा रहेकाे छ । नेपालकै प्रमुख शिव मन्दिरमध्ये एक याे मन्दिर शिवरात्रीका दिन पशुपतिनाथ मन्दिर पछि धेरै भक्तजनकाे भीड लाग्ने मन्दिर हाे । यस मन्दिरमा पुगी स्वच्छ मनले पूजा अर्चना गर्ने, गाइकाे दूध, वेलपत्र अर्पण गर्नाले मनाेकामना पुरा हुने र निःसन्तान जाेडीलाई सन्तान प्राप्ती हुने विश्वास गरिन्छ ।


सन्तान नहुनेहरूले महादेवकाे पूजा अराधना गर्दा सन्तान प्राप्ती हुने विश्वासका कारण याे मन्दिरला सन्तानेश्वर महादेव मन्दिर पनि भनिन्छ । हरेक बर्ष महाशिवरात्रीमा यस मन्दिरमा लाखाैं भक्तजन दर्शन गर्न पुग्छन् ।

शिवरात्रीमा यस मन्दिरमा रातभर उभिएर जाग्राम बसी ठाडाे बत्ती बाल्न देशका विभिन्न भागबाट सयाैं भक्तजनकाे भीड लाग्छ । बिशेषगरी सन्तान नहुने तथा छाेरा वा छाेरी नहुनेहरू पनि मनाेकामना पुरा हुने विश्वासले डाठाे बत्ती बाल्छन् भने अन्य मनाेकामना लिएर मन्दिरमा जानेहरू बसेर बत्ती बाल्छन् ।


ईशानेश्वर महादेव मन्दिरमा शिवरात्री बाहेक फागू पूर्णिमा, बाला चतुर्दशी, हरिबाेधनी एकादशी लगायतका धार्मिक महत्वका पर्वहरूमा विशेष रूपमा भक्तजनकाे भीड लाग्छ । साउन महिनाभर बाेलबम मेला भर्न समेत देशका बिभिन्न भागबाट भक्तजन यस मन्दिरमा जाने गर्छन् ।





साेमबार बिहानैदेखि परेकाे झरीका बाबजुद इशानेश्वर महादेवकाे दर्शन गर्न, पूजा अर्चना गरी महादेवलाइ दूध तथा बेलपत्र अर्पण गर्नका लागि पाेखरा, स्याङजा, तनहूँदेखि उल्लेख्य संख्यामा भक्तजनहरू करापुटार पुगेका थिए ।
 सबै तस्वीरहरूः सुरज गुरूङ

प्रतिक्रिया