प्रशाेधित भनिएकाे पानीमै यस्ताे छलछाम, प्रशासनले गर्याे कारबाही

बेसीशहर, बैशाख १४ गते । लमजुङमा बिक्री हुने स्प्रिङ्गाे नामकाे "मिनिरल वाटर" पिउन अयाेग्य भएकाे पाइएकाे छ ।

जिल्ला प्रशासन कार्यालयले गरेकाे अनुगमनमा बेसीशहरमा रहेकाे उक्त उद्याेगबाट प्रशोधन गरेर उत्पादन गरिएको भनिएको पानी पिउन योग्य नभएको भेटिएको हाे । अनुगमनमा गएका जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी गोकणर्राज सुयलका अनुसार स्प्रिङ्गो पानी उद्योगले खानेपानी बोटलिङ (बोत्तलमा राखेर विक्री गर्ने)को अनुमति नै नलिएको भेटिएको छ । उक्त उद्योगले पानी उत्पादन गर्ने ठाउँमा सरसफाई समेत नभएको पाइए पछि ५० हजार रुपैयाँ जरिवाना गराइएको सहायक प्रमुख जिल्ला अधिकारी सुयलले बताए ।  

बेसीशहरका तीनवटा प्रशोधित पानी उद्योगहरुमा जिल्ला प्रशासन कार्यालयले बुधवार र बिहीबार अनुगमन गरेकाे थियाे । अनुगमनमा साे उद्याेगमा उत्पादित खानेपानी पिउन योग्य नभएको अनुगमन टोलीले निष्कर्ष  निकालेको छ । अनुगमनका क्रममा उद्योगबाट उत्पादित पानीमा कैफियत भेटिए पछि जिल्ला प्रशासन कार्यालय लमजुङले साे उद्याेगलाइ ५० हजार जरिवाना तिराएकाे हाे ।

बेसीशहरमा विक्री हुने लमजुङ ड्रपको उत्पादक लमजुङ पानी उद्योग, माउण्टेन वाटरको उत्पादक गाउँशहर कालिका सप्लायर्सकाे उद्याेगमा समेत अनुगमन गरिएकाे थियाे । ती दुवै उद्योगको प्रशोधित पानीमा समेत कैफियत देखिएको छ । ती उद्योगबाट उत्पादित जारकाे पानीमा काठका टुक्रा भेटिएको सुयलले जानकारी दिए । 

तर पानीमा काठका टुक्रा भएको जार कुन उद्योगको हो भन्ने खुल्न सकेको छैन । जारमा माउण्टेन वाटर र लमजुङ पानी उद्योग दुवैको लेवल लगाइएकाले कुन उद्योगको पानीमा कैफियत भएको हो खुल्न नसकेपछि दुवै उद्योगबाट पानीको नमूना संकलन गरी गुणस्तर परीक्षणका लागि खाद्य तथा गुण नियन्त्रण कार्यालय पोखरामा पठाइएको सुयलले बताए ।

सहायक प्रमुख जिल्ला अधिकारी सुयलले उक्त नमूना परीक्षणको रिपोर्ट नआउँदासम्मका लागि दुवै उद्योगको जारको पानी विक्री गर्न निषेध गरिएको जानकारी दिए । उनले ती दुवै उद्योगमा पानी बिक्री गर्ने जार सफा गर्ने प्रविधिसमेत नरहेको र हातले बाहिर मात्र सफा गर्ने गरिएको पाइएको जानकारी दिए । साथै ती उद्योगका गुणस्तर परीक्षण नविकरण समेत नरहेको बताइएकाे छ ।

प्रतिक्रिया