लामाे समय खडेरी परेपछि लमजुङको तुर्लुङकोटमा भैंसी काटेर नार्खु पूजा

बेसीशहर, बैशाख २३ गते । लामो खडेरीले जनजीवन प्रभावित भएपछि लमजुङको सुन्दरबजार नगरपालिका वडा नंं ११ तुर्लङकोटमा नार्खु पूजा गरिएको छ ।

लामो समय सम्म परेको खडेरीले र जंगलमा लागेको डढेलोले वातावरणमा प्रतिकूल प्रभाव पर्नुका साथै खेतीपातीमा समेत प्रत्यक्ष असर परेपछि लमजुङको तुर्लुङकोट भाँगुमा स्थानीयले नार्खु पूजा गरेका हुन् ।

ऐतिहासिक तुर्लुङ्कोट गढी नजिकै रहेको नार्खु पूजा गरिएको हो । स्थानीय बासीन्दाका अनुसार परापूर्व कालदेखि नै त्यस क्षेत्रमा लामो खडेरी परेर जनजीवन प्रभावित भएमा नार्खुमा राँगो बली चढाउने चलन रहेको स्थानीयले बताए ।

स्थानीय बुढापाकाका अनुसार नार्खुमा बलि चढाए पानी पर्छ । बली दिएर भगवान शिवजीलाई स्थापना गरेको स्थानमा रगत लगाएर जुठो पारिदिए शिवजी रिसाएर पानी पारिदिने जनविश्वास छ । हिन्दू परम्परा अनुसार शिवजीलाई बली चढ्दैन । झुक्किएर पनि भगवान शिवको स्थान, मन्दिर वरिपरि त्यस्तो बलीको रगत पर्‍यो भने शिवजी रिसाएर उक्त रगत पखाल्नका लागि पानी पारिदिने विश्वासका आधारमा तुर्लुङकोट भागुमा त्यस्तो गरिएको र बली चढाएको केही समयमै पानी परेको स्थानीयले बताए ।

देशका विभिन्न भागमा लामो समयसम्म पानी नपरेर लामो खडेरी परेमा महादेवको पूजा आरधना गरी जलधारो गर्ने चलन छ । कतै देवी देवताको मन्दिर, कुवा, खोला, नदीहरुमा जाँड हालिदिने समेत चलन छ । “पहिला त यसबारे सुनिएको हो, तर तर पानी नपरेर हैरान भएका स्थानीयले पानी पार्नकै लागि अहिले आफैले नार्खु पुजा गरे पश्चात् केही मात्रा मा भए पनि पानी परेको प्रत्यक्ष महशुस गरें र विश्वास पनि लाग्यो साच्चिकै हो रैछ”- एक स्थानीयले भने ।

प्रतिक्रिया