नगरपालिकाका लागि खरिद गरिने वस्तु स्थानीय व्यवसायीहरुबाट खरिद गर्न सुन्दरबजार चेम्बरकाे माग

खबरकुञ्ज

सुन्दरबजार, जेठ २८ गते । सुन्दरबजार चेम्बर अफ कमर्सले नगरपालिकामा गरेको व्यवसाय दर्तालाई सबै क्षेत्रमा मान्य हुने बनाउन र नगरपालिकाको लागि खरिद गरिने कुनै पनि वस्तु वा सेवा स्थानीय उद्योगी व्यवसायीहरुबाट खरिद गरिनु पर्ने प्रावधान बनाउन सुन्दरबजार नगरपालिकासंग माग गरेको छ ।

चेम्बरले नगरपालिका क्षेत्र भित्र रहेका सम्पूणर् सरकारी, गैर सरकारी कार्यालयहरुमा पनि सोही प्रावधान लागू गर्न गराउन र आगलागी, बाढी, पहिरो, भूकम्पबाट क्षति पुगेको अवस्थाका लागि व्यवसायी राहत कोषको प्रावधान बनाउन पनि सुन्दरबजार नगरपालिकासंग माग गरेको छ ।

चेम्बरले नगरपालिकाको आर्थिक बर्ष २०८१/०८२ को बजेट तर्जुमाका लागि प्रस्तुत गरेको सुझावमा यस्तो माग गरिएको हो । चेम्बरले घुम्ति व्यापारी लाई पूणर् रुपमा बन्देज लगाउन, नगरपालिकामा दर्ता भएका हरेक व्यवसायीलाई व्यवसायिक शिक्षा, करदाता शिक्षा सम्बन्धी सचेतना तालिम अनिवार्य लिनु पर्ने प्रावधान बनाउन पनि सुझाव दिएको छ । स्थानीय राजस्व परामर्श समिति जस्तै आर्थिक विषयसंग सम्बन्धित समितिहरुमा चेम्बरको प्रतिनिधित्व अनिवार्य गराउन समेत चेम्बरले माग गरेको छ ।

सुझावमा चेम्बरका सदस्य उद्यमी व्यवसायीहरुबाट व्यवसाय कर संकलनमा चेम्बरले विशेष भूमिका खेल्ने जनाउ दिँदै त्यस वापत संकलित कर मध्य केही प्रतिशत चेम्बरका गतिविधिहरु सञ्चालन गर्नका लागि योगदान उपलब्ध हुनु पर्ने र नापतौल गुणस्तर लगायतका सेवा नगरपालिकाबाटै उपलब्ध गराउने व्यवस्था गराउन पनि चेम्बरले माग गरेको छ ।

नगरप्रमुख कृष्ण कोइरालालाई सुझाव पत्र दिँदै चेम्बरले नगर प्रमुख र उपप्रमुखको सहभागितामा स्थानीय उद्योगहरुको अवस्था पहिचान भ्रमण वर्षमा कम्तिमा २ पटक गराउन, नगरपालिका भित्रका उद्योगहरुको पहिचान र प्रबद्र्धन लागि विवरण सकलन, पुस्तिका प्रकाशन तथा वैभ पोर्टल तयार गर्न सुझाव दिइएको छ । नगर पालिका क्षेत्रको उद्योग व्यवसाय प्रबद्र्धन गर्न स्थानीय परिकारहरु सहितको एक दिने मेला हरेक महिना आयोजना गर्न र राष्ट्रिय स्तरका मेला महोत्सवमा स्थानीय उद्योगहरुको प्रबद्र्धनार्थ भाग लिन पठाउनका लागि पनि निश्चित बजेतको व्यवस्था गराउन सुझाव चेम्बरले दिएको छ ।

चेम्बरले प्रत्येक ६-६ महिनामा रोजगारी मेला आयोजना गर्न, लगानीका नागि नयाँ अवसरहरु पहिचान गर्ने उद्देश्य अनुरुपको गोष्ठी सञ्चालन गर्न, नगरपालिकामा नियमित रुपमा व्यवसाय कर तिर्दै आएका व्यवसायीहरुका लागि सहजरुपमा सहुलियत ऋण उपलब्ध गराउन बैंक त्या वित्तिय संस्थाहरुमा समन्वय र पहल गरिदिन पनि सुझाव दिएको छ । सुन्दरबजार चेम्बरले नगरपालिका भित्रको मौलिक संस्कृतिहरुलाई व्यवसायिकरण गर्न मद्दत पुग्ने गरी साँस्कृतिक कार्यक्रमहरुको आयोजना गर्न, सार्वजनिक निजी साझेदारी अवधारणामा व्यवसायिकरण गर्न सक्ने क्षेत्रहरुको पहिचान गरी स्थानीय जनताहरुलाई लगानी र रोजगारीको वातावरण सृजना गर्न तथा नगर क्षेत्रका पर्यटकिय स्थलहरुको रुट म्याप तयार पारी पर्यटन प्रबद्र्धन गर्न सुझाव दिएको छ ।

प्राङगारीक तरकारी खेती, जडिबुटी तथा हरियो साग सब्जीका लागि पनि नगरका केही क्षेत्र प्रख्यात भएको हुदा यस क्षेत्रमा कृषि पर्यटन विकासको सम्भावना खोजी गर्न, एक हाटबजार र कोल्ड स्टोर स्थापना गर्न, सवारी साधन पार्किङको कारणबाट स्थानीय व्यजवायलाई परिरहेको समस्या समाधानका लागि उपायहरु पहिल्याउन तथा नगर क्षेत्रमा औद्योगिक क्षेत्र स्थापनाका लागी पहल गरी घोषणा गर्न समेत सुझाव दिएको छ ।

प्रतिक्रिया