आज मातातीर्थ औंसी, जन्मदिने आमाप्रति श्रद्धाभाव प्रकट गर्दै मनाइँदै

बेसीशहर, बैशाख २७ गते । आज मातातीर्थ औंसी । आजको दिन जन्मदिने आमाप्रति श्रद्धाभाव प्रकट गर्दै मनाइँदै छ । 

हरेक वर्ष वैशाख कृष्ण औँसीलाई मातातीर्थ औंसी भनिन्छ । आफूलाई जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गरी मनाइने भएकाले आजको दिनलाई आमा औँसी, आमाको मुख हेर्ने दिन पनि भन्ने गरिएको छ । 

यस पावन दिनका अवसरमा आमा हुने हिन्दू धर्मावलम्बीहरुले बिहान सबेरै स्नान गरी आमालाई उपहार दिने, विभिन्न मिष्ठान्न खुवाइ आमाको मुख हेर्ने र आशिर्वाद लिने चलन छ । आमा नहुनेहरुले भने श्राद्ध गरी आमालाई तर्पण दिने वा आमाको सम्झनामा दान गर्ने चलन छ ।

हिन्दू धर्मशास्त्रमा जन्म दिने आमालाई भगवान भन्दा पनि ठूलो मानिएको छ । नौ महिनासम्म गर्भमा राखेर जीवनलाई नै दाउमा राखी असह्य प्रसव पीडा सहेर जन्म दिने आमा सबै भन्दा महान हुन् । जन्म दिएर पनि आफूले नखाई छोरा छोरीलाई खुवाउने, लालन पालन गरी हुर्काउने र हरेक अवस्थामा पनि आफ्ना सन्तानलाई माया मात्रै गर्ने आमा बहेक अरु नहुने भएकाले आमाको महिमा अथाह छ ।

आजको दिन घरमा हुनेहरुले आमालाई मीठा तागतिला फलफूल तथा खानेकुरा, लत्ता कपडा दिने चलन छ । घरमा नहुनेहरु अघिल्लो दिन नै आमा भेट्न जाने चलन छ भने घरबाहिर वा विदेशमा हुनेहरुले फोन, भिडियो कल गरेर पनि आमालाई सम्झने र आशीर्वाद लिने चलन छ ।

हिजो आज फेसबुक, ट्वीटर जस्ता सामाजिक सञ्जालमा आमाको फोटो राखेर सम्मान गर्ने चलन पनि बढ्दो छ ।

आजकै दिन काठमाडौंको मातातीर्थमा दिवंगत आमाको सम्झनामा श्राद्ध तथा दान गर्ने र बत्ती बाल्नेहरुको भीड लागेको छ । मातातीर्थ कुण्डमा कुण्डमा दर्शन गरेमा मातृश्रणबाट मुक्त हुने जनविश्वास रहेको पाइन्छ । हुने छोराछोरीले आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुने जनविश्वास रही आएको छ ।

प्रतिक्रिया