बेसीशहर । डुम्रे–बेसीशहर–चामे सडकको बिकल्प सडकको रुपमा रहेको बेसीशहर–बाँझाखेत–भाचोकबेसी– लेतेफाँट सडक अन्तर्गत पर्ने भाचोक खोलामा अब बेलीव्रिज बन्ने भएको छ ।
बेसीशहर नगरपालिकाको वडा नंं १० मा पर्ने भाचोक खोलामा पटक पटक निर्माण गरिएका अस्थायी काठेपुल बर्षाका कारण खोलामा आएको बाढीले क्षतिग्रस्त बनाएपछि बेलीव्रिज बन्ने पक्का भएको हो ।
भाचोक खोलामा पुल नहुँदा यातायातमा समस्या हुँदै आएको थियो । स्थानीय बासीन्दासहित जनप्रतिनिधि, राजनीतिक दलका नेताहरुको पटक पटकको डेलिगेशनपछि भौतिक योजना तथा निर्माण मन्त्रालयले भाचोक खोलामा बेलिब्रिज निर्माणमा सहमति दिएको हो । मन्त्रालयले डुम्रे–बेसीशहर–चामे सडक योजना मार्फत बेलीव्रिज निर्माण गर्न बोलपत्र आह्वानसमेत गरेको डुम्रे बेसीशहर चामे सडक योजनाले जनाएको छ ।

बेसीशहर चामे सडक अन्तर्गत बेसीशहरदेखि खुदी सम्मको सडक अवरुद्ध भएका बेला लमुजुङ मनाङ चल्ने सवारी साधन सोहि सडक भएर आवतजावत गर्दै आएका छन् । विशेषगरी बेसीशहरको खरखरे भिरमा पहिरोले अधिक समय सडक अवरुद्ध हुँदा अधिकाँश सवारी भाचोक खोला भएर आवतजावत गर्ने गर्छन् ।
गत वर्षामा खरखरे पहिरोले सडक अवरुद्ध हुँदा सोहि सडक भएर सवारी आवत जावत गर्नुपर्ने भएपछि जिल्ला विपद व्यवस्थापन समितिको समन्वयमा बेसीशहर नगरपालिका र स्थानियको सहयोगमा अस्थायी काठेपुल निर्माण भएको थियो । तर केहि हप्ता अघिको बर्षा र बाढीले पुल बगाएपछि सो सडक पनि अवरुद्ध भएको थियो । अस्थायी काठेपुलले दीर्घकालीन व्यवस्थापन नहुने भन्दै सरोकारवालाहरुले भाचोक खोलामा पक्की पुल निर्माण गर्नुपर्ने माग राख्दै आएका थिए ।
खोलामा पुल नहुँदा बर्षा सँगै हिउदमा पनि समस्या हुने गरेको थियो । विशेषगरी चारपाग्रे र दुई पांग्रे सवारी साधन आवतजावतमा समस्या हुँदा नागरिकले सास्ती व्यहोर्नुपरेको थियो ।