इजाजत नविकरण नगरी अबैध रुपमा राखिएका १ सय १२ थान बन्दूक जफत

खबरकुञ्ज

बेसीशहर, पुस २४ गते । जिल्ला प्रहरी कार्यालय लमजुङले जिल्लाभित्र विभिन्न स्थानमा इजाजत नविकरण नगरी अबैध रुपमा राखिएका १ सय १२ थान बन्दूक जफत गरेको छ ।

नविकरण नगरी अबैध रुपमा राखिएका ७६४ थान हतियारमध्ये बरामद भएका १ सय १२ थान बन्दुक कार्यालयले बुधवार सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय लमजुङमा आयोजित एक पत्रकार सम्मेलनबीच बरामद गरिएका बन्दूकहरु प्रहरीले सार्वजनिक गरेको हो ।

कार्यक्रममा लमजुङका प्रहरी प्रमुख निशान्त श्रीवास्तवले ५ सय ४५ थानको बिबरण प्राप्त भएकोमा ४ सय ७० थान हतियारको लगत प्राप्त भएको र २ सय १९ थान हतियारको बिबरण अझै प्राप्त नभएको जानकारी दिए । नविकरण नभएका हतियार बुझाउने सम्बन्धमा कार्यालयले सूचना जारी गरेकोमा यस प्रकारको विवरण प्राप्त भएको उनले जानकारी दिए ।


बरामद भएका हतियारमा २२ बोरको हर्नेट राइफल १ थान, १२ बोरको दुईनाले बन्दूक १ थान, एकनाले बृज लोडिङ राइफ १ थान, एक नाले भरुवा बन्दूक १ सय ७ थान र १२ बोरको एकनाले बन्दूक २ थान रहेका छन् । सो अवसरमा अबैध रुपमा राखिएका २ थान बन्दूकका बिषयमा मुद्दा दायर भएको जानकारी दिइयो ।

सो अवसरमा डिएसपी श्रीवास्तवले लमजुङमा १ हजार ५ सय १७ थान बन्दूक जिल्ला प्रशासन कार्यालयबाट ईजाजत लिईएको तथ्याङ्क भेटिए पनि तीमध्ये ३ सयको हाराहारी संख्यामा मात्र ईजाजत नविकरण भएको र ५ बर्ष भन्दा बढी समय इजाजत नविकरण नगरिएका हतियारहरु कानुनतः अबैध हुने भएकाले जफल गरिएको जानकारी दिए ।

कार्यक्रममा बोल्दै लमजुङका प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङले जिल्ला प्रहरी कार्यालय र यस अन्तर्गतका विभिन्न इलाका प्रहरी कार्यालय तथा प्रहरी चौकीहरुमार्फत हतियार संकलन गरिएको जानकारी दिए । 

उनले हतियारहरु राज्यको नियन्त्रण, नियमन र निगरानीमा नरहे अपराधिक क्रियाकलापमा संलग्न हुन सक्ने भएकाले नविकरण नगरिएका हतियारहरु संकलन गरिएको जानकारी दिए । लमजुङमा पनि यस्ता हतियारहरुको अबैध काममा प्रयोग हुन सक्ने सम्भावनाले यस्ता घटना निरुत्साहित गर्न अबैध हतियार जफत गरिएकाे बताए ।


हातहतियार तथा खरखजाना सम्बन्धी कानुनमा ईजाजत लिइएका हतियारको हरेक बर्ष इजाजत नविकरण गर्नुपर्छ । थप दस्तुर वा शतप्रतिशत जरिवाना तिरेर ५ बर्षभित्रमा नविकरण हुन सक्ने तर ५ बर्षभित्र पनि नबिकरण नभएमा त्यस्ता हतियार बरामद गर्ने कानुनी ब्यवस्था रहे अनुसार ती हतियार बरामद गरिएको उनले जानकारी दिए । 

भिडियाे हेर्नुहाेस् ।


प्रतिक्रिया