बेसीशहर, असार २३ गते । यस बर्षको बर्षातमा हिमालपारीको जिल्ला मनाङमा राती सवारी चलाउन राेक लगाइएको छ ।
डुम्रे बेसीशहर चामे सडक अन्तर्गत बेसीशहरदेखि चामेसम्मको सडकमा दर्जनौं स्थानमा बाढी र पहिरोको जोखिम हुने भएकाले जोखिमको न्युनिकरणका लागि जिल्ला प्रशासन कार्यालय मनाङले बेंसीशहर–चामे सडक र चामे–खाङसार सडक र मा रातको समय सवारी साधन सञ्चालनमा रोक लगाएको हो ।
वर्षाका कारण हुन सक्ने बाढीपहिरोको जोखिमलाई मध्यनजर राख्दै रातको समय यातायात सञ्चालनमा रोक लगाएको मनाङका प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले बताए ।
आचार्यका अनुसार मनाङ जिल्ला सुरक्षा समिति र लमजुङ जिल्ला सुरक्षा समितिबीच अन्तर जिल्ला सुरक्षा तथा समन्वय बैठकले गरेको निर्णय अनुसार असार २० गते (शुक्रबार) देखि लागू हुने गरी रातीको समय सवारी साधन सञ्चालनमा रोक लगाइएको हो । रातीदेखि भोलिपल्ट बिहान ६ बजेसम्मका लागि सवारी साधन सञ्चालनमा रोक लगाएको बताए ।
वर्षातका कारण विपद्को अवस्था सिर्जना हुन सक्ने भएकाले यात्रु तथा सवारी साधनमा क्षति हुन नदिन सुरक्षा सतर्कता अपनाउन अर्को निर्णय नभएसम्मका लागि बेंसीसहर–चामे–खाङसारसम्म रातको समय सार्वजनिक, नीजि तथा सरकारी सवारी साधन सञ्चालनका रोक लगाएको उनले बताए ।

मनाङ प्रशासनले यस सम्बन्धमा सूचना नै जारी गरेको छ । मनाङका सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले जारी गरेको सूचना अनुसार बेसीशहरबाट मनाङ जाने सवारीले बेलुकी ७ बजेभित्र तालडाँडा हुँदै मनाङ प्रवेश गरिसक्नु पर्ने छ । मनाङबाट बेसीशहर आउने सवारीले बेलुकी ६.३० बजे नै तालडाँडा चौकी कटिसक्नु पर्नेछ । त्यो समयपछि आउने सवारीलाई लमजुङतर्फ आउन नदिइने प्रशासनले जनाएको छ । चामे वा खाङसारदेखि बेसीशहर तर्फ आउने सवारीले बेलुका ४.३० बजेभित्र चामेको वडा न.. ३ कोतो कटिसक्नुपर्ने पनि सूचनामा उल्लेख छ ।
त्यस्तै माथिल्लो मनाङको खाङसार वा माथिल्लो मनाङबाट चामेतर्फ आउने सवारी पनि मनाङ ङिस्याङ गाउँपालिका ४, हुम्डेमा बेलुकी साढे ६ बजेभित्रै आइपुग्नु पर्ने छ । त्यसपछि हुम्डेबाट चामेतर्फ सवारी साधन छुट्न रोक लगाइएको सूचनमा उल्लेख छ ।
मनाङ प्रशासनले सुरक्षा निकाय, एम्बुलेन्स लगायतका अत्यावश्यक सवारी साधन सञ्चालन सम्बन्धमा तत्कालीन परिस्थितिको विश्लेषण गरी जिल्ला प्रहरी कार्यालय तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयको समन्वयमा औचित्यको आधारमा सवारी साधन सञ्चालनको व्यवस्था मिलाउने जनाएको छ ।
बाहिरी जिल्लाबाट हिमालपारीको जिल्ला मनाङ जोड्ने एकमात्र सडक बेंसीसहर–चामे सडक हो । बर्षातका बेला हरेक वर्ष बाढीपहिरोका कारण जनधनको क्षति हुने गरेकोले जोखिम न्यूनिकरणका लागि यस्तो ब्यवस्था गरिएको हो । दिनभर भने निर्वाध रुपमा सवारी साधन चल्न पाउनेछन् ।
खबरकुञ्ज