लमजुङ खुकुरी काण्डः कानुनकाे खिल्ली उड्याे, दवावमा प्रहरीले अझै दर्ता गरेन जाहेरी

खबरकुञ्ज

बेसीशहर, जेठ ४ गते । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल लमजुङको पाँचौ जिल्ला अधिवेशनका क्रममा शनिबार भएको घटनामा आक्रमणकारीसंगै प्रहरीले समेत कानुनको खिल्ली उडाएको पाइएको छ ।

शनिबार प्रहरीकै सुरक्षामा भएको एक कार्यक्रममा आफ्नै आँखा अगाडि केही ब्यक्ति उपर धारिलो हतियार प्रहार हुँदा समेत प्रहरी मुकदर्शक मात्रै बनेन, धारिलो हतियार प्रहार गर्नेलाई पक्राउ सम्म गरेन । उल्टै हतियार खोसेर छाडेपछि प्रहरीमाथि गम्भीर प्रश्न उठेको छ । खुकुरी प्रहार गर्नेहरुको संरक्षणमा स्वयं लमजुङ प्रहरी लागेको देखिएको छ ।

पीडित पक्षले खुकुरी प्रहार गर्ने तरुण दलका जिल्ला अध्यक्ष समेत रहेका मस्र्याङदी ५ घेर्मुका भुपेश गुरुङ, मध्यनेपाल नगरपालिका ७ का धनबहादुर तामाङ र राइनास नगरपालिका ६ का गणेश गुरुङका विरुद्ध प्रहरीमा जाहेरी दिएकामा प्रहरीले जाहेरी लिन नमानेको हो ।

शनिबार राती ८ बजेसम्म पनि कार्यालय प्रमुख डिएसपी रोशन बोहरा, इस्पेक्टर राज किशोर शाह तेली कार्यालयमा नभएको भन्दै प्रहरीले जाहेरी नलिएको पीडितहरुले बताए । आक्रमणमा उत्रिएका भुपेश गुरुङ लगायतमाथि ज्यान मार्ने उद्योग अन्तर्गत घाइते सुदिप अधिकारीकी सानी आमा ईन्दु अधिकारीले जाहेरी दिएकी  थिइन् । उनकाे जाहेरी प्रहरी कार्यालयमा बुझाएकाे २४ घण्टा बित्दा पनि दर्ता भएकाे छैन ।

श्रोतका अनुसार प्रहरीले “माथि”को दबाबमा जाहेरी नलिएको हो । ज्यान मार्ने उद्योग गम्भीर प्रकृतिको मुद्दा भएकोले सकेसम्म जाहेरी पर्न नदिने र दर्ता गर्नै परे सामान्य मुद्दामा जाहेरी लिने तयारी प्रहरीले गरेको छ । यसका लागि गृहमन्त्री रमेश लेखक र प्रदेशका अर्थमन्त्री डा टकराज गुरुङको दबाब आएको र सकेसम्म जाहेरी नलिन भनेको श्रोतले बतायो ।

मुलुकी अपराध संहिताले काेही कसैले ज्यान मार्ने उद्योग गरेमा १० बर्षदेखि जन्मकैद सम्मकाे सजाय ताेकेकाे छ । नियतपूर्वक गम्भीर शारीरिक चोट वा क्षति पुर्याएमा वा तत्कालै ज्यान नमरी सोही चोटको परिणाम स्वरुप पछि ज्यान मरेमा पनि सोही व्यक्तिले ज्यान मारेको मानिने संहितामा लेखिएकाे छ । 

गृहमन्त्री र प्रदेश मन्त्रीको दवाव पछि प्रहरीले पनि सकेसम्म जाहेरी नै नलिने र लिनै परे अभद्र ब्यबहारमा जाहेरी लिने तयारी गरेको प्रहरी श्रोतले बतायो । दिन दहाडै बीच बजारमा खुकुरी प्रहार गर्नेहरुबाट हतियार खोसेको प्रहरीले उनीहरुलाई नियन्त्रणमा नलिइ छाडेकाले प्रहरीले कारबाही गर्नेमा धेरैले आशंका गरेका छन् ।

घटनाका सम्बन्धमा बुझ्न प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेल र डिएसपी रोशन बोहरालाई सम्पर्क गर्दा उनीहरु दुवैले फोन उठाएनन् ।

शनिबार दिउसाे साढे २ बजेतिर अधिवेशनको वन्दसत्र चलिरहँदा अधिवेशनका प्रतिनिधि छनोटका बिषयमा असन्तुष्ट पक्षले विरोध जनाएपछि संस्थापन पक्षका कार्यकर्ताहरुले एक्कासी आक्रमण गरेका थिए । आफू अनुकूलका फर्जी प्रतिनिधि बनाएर अधिवेशन गर्न लागिएको भन्दै असन्तुष्ट पक्ष नाराबाजी गर्दै अधिवेशन स्थलमा प्रवेश गरेसंगै उनीहरुमाथि आक्रमण भएको थियो ।

आक्रमणपछि भागेकाहरुलाई खोजी खोजी छानी छानी खुकरी, ईटा, रड लगायतका सामग्रीको प्रयोग गरी आक्रमण गरिएको प्रत्यक्षदर्शीले बताएका छन् । कार्यक्रमस्थल प्रगतिटोल तमु समाजको भवनमा भएको आक्रमणमा जोगिएर भागेका केहीलाई नेपाल रेडक्रस सोसाइटी अगाडिको मूल सडकमा आक्रमण भएको थियो ।

आक्रमणका लागि कार्यक्रमका सभापति तरुण दल लमजुङका अध्यक्ष भुपेश गुरुङ आफै उद्घाटनका लागि राखिएको पानसले टाउकाे टाउकाेमा ठाेक्दै हिँडेका थिए । उनकाे नेतृत्वमा अन्य  दिन दहाडै बीचसडकमा खुकुरी हानाहान भएपछि स्थानीय आतङ्कित भएका थिए । घटनामा परी बेसीशहर ९ का वडा अध्यक्षसमेत रहेका तरुण दलका क्षेत्रीय सभापति खुसीजंग गुरुङ, कांग्रेस लमजुङका जिल्ला कार्यसमिति सदस्य किशोरजंग बस्नेत, नेपाल विद्यार्थी संघ (नेविसंघ) का केन्द्रीय सदस्य सुदीप अधिकारी र तरुण दलका सदस्य धन घले तथा शंकर सापकाेटा लगायत घाइते भएका छन् ।

गण्डकी प्रदेश सरकारका मन्त्रीद्वय, लमजुङ कांग्रेसका सभापति डा. टकराज गुरुङ र पूर्व सभापति भेषबहादुर पौडेल पक्षबीचको टकराबको प्रभाव शनिबार अधिवेशनमा देखिएको हो । गुरुङ पक्षधरले पौडेल पक्षधरलाई नेतृत्वमा आउन नदिन गाउँ नगर अधिवेशनबाटै पौडेल पक्षधरका प्रतिनिधिलाई थाहै नदिई एकलौटी प्रतिनिधि छनोट गरेको आरोप छ । यही बिषयमा शनिबारको जिल्ला अधिवेशनमा विवाद हुँदा खुकुरी हानाहानको अवस्था सिर्जना भएको हो ।


प्रतिक्रिया